सिप्रदीको ‘टाटा प्रोटेक्ट’ योजनामा थपियो सुविधा

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

टाटा कमर्सियल गाडीका ग्राहकलाई छिटो–छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यसको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट योजनामा सेवा–सुविधा थप गरेको छ । कम्पनीले ग्राहकलाई सुरक्षाको प्रत्याभूति प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्ने उद्देश्यले सन् २०१९ मा ल्याएको टाटा प्रोटेक्ट कार्यक्रमलाई थप सेवा तथा सुविधासहित ल्याएको हो ।  

योजनाअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्युइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा–सुविधा समावेश रहेको जनाइएको छ । उक्त सेवा–सुविधा सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । मास्टर केयेर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेको जनाइएको छ । यसमा ग्राहकको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मतकार्यको जिम्मा कम्पनीले लिने उल्लेख छ । टाटा जेन्युइन पार्टस्अन्तर्गत सिप्रदी वर्कसपमा फेरिएका स्पेयर पार्टस्मा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा रहेको जनाइएको छ ।

एक्सप्रेस सेवाअन्तर्गत चार घन्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी कम्पनीले गरेको छ । समयमा काम नभएमा क्षतिपूर्तिको व्यवस्था गर्ने कम्पनीले जनाएको छ । टाटा जिप्पीअन्तर्गत ४८ घन्टाभित्र गाडीको मर्मत हुने उल्लेख छ । नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको जनाइएको छ । त्यस्तै, जुनसुकै समयमा पनि कस्टुमर हेल्पलाइन सञ्चालनमा रहेको र ग्राहकको कुनै पनि गुनासो ४८ घन्टाभित्र समाधान गर्ने कम्पनीको भनाइ छ । टाटा सिल्डअन्तर्गत दुर्घटनामा परेका गाडीहरू ६० दिनमा तयार हुने र साथमा नगदरहित बिमा दाबी सुविधा रहेको जनाइएको छ । 

टाटा अलर्टअन्तर्गत कम्पनीले तोकेका हाइवे करिडोरमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घन्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घन्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गरिएको उल्लेख छ । त्यस्तै, वी केयेर सेवाअन्तर्गत वर्कसपमा गाडी बनाउँदा ग्राहकले अपेक्षा गरेबमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

योजना सुरु गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरूको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु रहेको बताए । उनले भने, ‘हाम्रा ग्राहकको आकांक्षाबमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्राहकलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यानकेन्द्रित गर्न सहयोग पुग्ने कुरामा हामी विश्वस्त छौँ ।’

टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी, कमर्सियल भेइकल बिजनेस अनुराग मेहरोत्राले टाटा मोटर्स आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको बताए । उनले भने, ‘टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको छ ।’ कार्यक्रम अनलाइनमार्फत आयोजना गरिएको थियो । 

सुझावित समाचार