प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोस्रो शतकीय इनिङ्स प्रदर्शन भएको छ । प्रदेश १ का ओपनर अंकित सुवेदीले मंगलबार टियू क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध शतकीय इनिङ्स खेलेका हुन् । प्रतियोगितामा उनको यो पहिलो व्यक्तिगत शतक हो । यसअघि प्रतियोगिताको पहिलो दिनमै नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए । अंकितको उत्कृष्ट प्रदर्शनको सहयोगमा प्रदेश १ ले बागमतीलाई ६९ रनको अन्तरले पराजित गरेको छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीले लगातार दोस्रो खेलमा हारको सामना गरेको छ ।
तीन सय पाँच रनको लक्ष्य
अंकितले संयमित तथा शतकीय इनिङ्स खेलेपछि पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४९.५ ओभरमा सबै विकेट गुमाएर तीन सय चार रनको विशाल योगफल खडा ग¥यो । प्रत्युत्तरमा बागमतीले ४५.५ ओभरमा १० विकेट गुमाउँदै दुई सय ३५ रन मात्र जोड्यो । समूह ‘बी’मा प्रदेश १ ले दुई खेलबाट दुई अंक जोडेको छ । बागमतीले खाता खोलेको छैन । यस समूहमा लगातार दुई जित निकालेको नेपाल पुलिस चार अंकका साथ शीर्ष स्थानमा छ । बागमतीलाई लक्ष्यभन्दा अगाडि नै रोक्न बलिङमा प्रदेश १ का श्रवण यादवले ९.५ ओभरमा ४४ रन खर्चेर तीन विकेट लिए ।
एक सय २२ बलमा शतक
दोस्रो प्रारम्भिक ब्याट्सम्यान अंकितले सुरुदेखि नै बागमतीका बलरविरुद्ध डटेर सामना गरेका थिए । उनले आफ्नो शतक एक सय २२ बलमा पूरा गरेका थिए । उनले ६६ बलमा ५० रन जोडेका थिए । अंकितले अर्धशतक पार गरेपछि ५६ बलमा शतकीय इनिङ्स खेलेका हुन् । इनिङ्सको ४७.३ ओभरमा अंकितले आफ्नो विकेट गुमाए । अंकित आउट हुँदा प्रदेश १ निकै बलियो स्थितिमा थियो । अंकित पेभेलियन फर्किंदा प्रदेश १ ले २८२–७ को प्रदर्शन गरेको थियो । खेलकै म्यान अफ दी म्याच अंकितलाई रामनरेश गिरीले ईशान्त पाण्डेबाट क्याचआउट गराए ।
गिरीको पाँच विकेट ओझेलमा
बागमतीका रामनरेशले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । तर, उनले प्रदेश १ लाई मध्यम योगफलमा रोक्न सकेनन् । रामनरेश एक्लैले पाँच विकेट लिए । उनले ९.५ ओभरमा एक मेडन राखी ४२ रन खर्चंदै पाँच विकेट लिए । गिरीले आफ्नो पाँच विकेट प्रदर्शन इनिङ्समा नीरज मुखिया (१०), लभ कुमात (१), मनीष थापा (८), श्रवण यादव (११) र दीपक जोशी (०) को विकेट लिएका हुन् । बागमतीका लागि नन्दन यादव, सूर्या तामाङ, प्रतिष जिसी तथा ईशान्त पाण्डेले एक–एक विकेट हात पारे ।
दुई बलियो साझेदारी
प्रदेश १ को ब्याटिङमा दुई बलियो साझेदारी सम्भव भयो । अंकितले विवेक आनन्द मेहतासँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै टोलीलाई ६७–३ बाट १४३–४ को स्थितिमा राखे । विवेकले ३८ बलमा समान दुई चौका र एक छक्का प्रहार गरे । त्यसपछि अंकितले कप्तान सिद्धान्त लोहनीसँग छैटौँ विकेटका लागि एक सय दुई रनको शतकीय इनिङ्स खेले । यी दुवै ब्याट्सम्यानले प्रदेश १ लाई १७२–५ बाट १७४–६ को बलियो अवस्थामा पु¥याए । क्रिजमा सेट भएका ब्याट्सम्यान सिद्धान्तले आक्रामक ब्याटिङ गरेका थिए । उनले ४० बलमा आठ छक्का र तीन चौका प्रहार गरी ७२ रन बनाए । अंकितले आफ्नो इनिङ्समा एक सय ३४ बलको सामना गरी १२ चौका र एक छक्का प्रहार गरेका थिए । सो इनिङ्समा बागमतीका बलरले २८ अतिरिक्त रन दिएका थिए ।
सुदूरपश्चिम ६७ रनमै समेटियो
प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा सुदूरपश्चिम एपिएफसँग १० विकेटले पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिलो ब्याटिङ गरेको थियो । सुदूरपश्चिम २७ ओभरमा ६७ रनमै अलआउट भयो । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले ११.२ ओभरमै ७० रन बनायो । एपिएफका लागि ओपनरद्वय प्रदीप ऐरीले २५ रन तथा आसिफ शेखले ४२ रन बनाएका थिए ।
ऐरीले ३६ बलमा दुई छक्का र एक चौका प्रहार गरे । शेखले ३२ बलमा सात चौका र एक छक्का ठोके । यसअघिको ब्याटिङ इनिङ्समा एपिएफका भुवन कार्कीले सुदूरपश्चिमविरुद्ध २२ रन खर्चेर चार विकेट लिएका थिए । सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले ६८ बल खेल्दै सर्वाधिक २४ रन बनाए । सुदूरपश्चिमको दोस्रो सर्वाधिक रन १४ अतिरिक्त थियो ।