मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।
मंगलबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माण गर्न लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आवश्यक देखिएकोले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बानियाँलाई समर्थन गरेको घोषणा गरे। नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष रहेका उनी माओवादी केन्द्रका नेता पनि हुन्।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रूपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु।’
उनले अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरूसँगै घरदैलोमा जाने बताए।
पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवार बानियाँ पनि उपस्थित थिए। उनले उम्मेदवारी निष्क्रिय पारी आफूलाई समर्थन गरेकोमा खुसीलालप्रति आभार प्रकट गरे। ‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलालजीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ। यो निकै महत्वपूर्ण निर्णय हो,’ उनले भने, ‘उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ।’