निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ। एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको हो।

दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाइ समितिका संयोजक विश्व पौडेलले जानकारी दिए। उनका अनुसार गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए। छ रुटमा पाँच बसमार्फत पाँच सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा गरेको कोषले जनाएको छ।

यान्त्रिक परीक्षण इकाइ समितिका अनुसार लुम्बिनी–बेलहिया रुटमा सबैभन्दा बढी एक सय ६० पटक बस चल्दा पाँच हजार सात सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए। लुम्बिनी–तिलौराकोट रुटमा एक सय ३१ पटक बस चल्दा पाँच हजार ७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा दुई हजार दुई सय ७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा एक हजार तीन सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताए।

सुझावित समाचार