नेपालबाट दैनिक एक हजार ५०० युवा विदेश उड्ने गरेको नेपाल सरकारकै तथ्यांक छ। यसबाहेक अध्ययनका लागि विभिन्न मुलुकमा जानेको संख्या उत्तिकै छ। त्यस्तै, काम गर्नका लागि भारत जानेको संख्या पनि ठूलो छ। तर, सरकारसँग यसको तथ्यांक भने छैन।
रोजगारीका लागि होस वा अध्ययनका लागि विदेश जाने युवाहरूमध्ये केही लामो समय नै विदेशमा जीवन बिताउँछन्। नेपालमा काम गर्ने वातावरण नभएपछि विदेशमा नै व्यवसाय गरेर बस्ने नेपालीको संख्या पनि उत्तिकै छ। साथै, क्षमताअनुसार जागिरको अवसर नपाएर विदेशमा नै जागिर गर्ने नेपाली युवा पनि उत्तिकै छन्। तर, नेपाल सरकारले पनि मजदुरदेखि कन्सल्टेन्टका लागि विदेशी नागरिक प्रयोग गर्ने गरेको छ।
यसै विषयलाई लिएर नयाँ पत्रिकाकर्मी मुना कुँवरले विदेशमा व्यवसाय र जागिर गर्दै आएका युवासँग कुराकानी गरेकी छिन्। गत महिना गैरआवासीय नेपाली संघले एसिया प्यासिफिक नवौँ सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको मुख्य अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर थिए। सोही सम्मेलनमा भाग लिन विभिन्न मुलुकबाट आएका नेपाली युवासँग गरिएको कुराकानी :
नेपालमा हुने कृपावाद र नातावाद सिस्टमलाई हटाउनुपर्छ
निरज बैध : सिनोथाई इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनमा प्रोजेक्ट प्लानिङ कन्ट्रोल म्यानेजर, थाइल्यान्ड
म थाइल्यान्ड अध्ययनको लागि आएको हुँ। थाइल्यान्डमा नै मैले एआइटी मास्टर्स गरेँ। अहिले यहीँ काम गर्छु। थाइल्यान्ड बसेको १८ वर्ष भयो। म अहिले सिनोथाई इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीमा प्रोजेक्ट प्लानिङ कन्ट्रोल म्यानेजरको रूपमा काम गर्छु।
म थाइल्यान्ड आउँदा यतै बस्छु भन्ने योजना थिएन। अध्ययनपछि मैले मेरो करिअरको लागि थाइल्यान्ड नै रोजेँ। किनभने नेपाल गएर मैले मेरो क्षमताअनुसारको जागिर पाउने सम्भावना देखिनँ। नेपालमा जागिरको लागि नातावाद र कृपावाद चल्छ। जुन मेरो साथमा थिएन। त्यसैले मैले थाइल्यान्डमा नै आफ्नो करिअर बनाएँ।
यदि नेपाल सरकारले मानिसको अनुभव र क्षमताको आधारमा जागिर प्रदान गर्ने, कृपावाद र नातावादलाई हटाउने हो भने मजस्तै अन्य युवाहरू पनि नेपालमा नै फर्कन्थे। त्यसैले सरकारले यस्तो खालको अभ्यास हटाइदिए हुन्थ्यो जस्तो लाग्छ।
म नेपाल फर्किएँ भने मैले थाइल्यान्डमा सिकेको अनुभव नेपाल सरकारलाई प्रदान गर्न सक्छु। यहाँ जुन काम गर्ने शैली छ, त्यसलाई म नेपालमा पनि लागू गर्न चाहन्छु।
हाम्रालाई भन्दा पनि राम्रालाई अवसर दिनुपर्छ
नवीनकुमार विक : डिएफडिएल रिजनल फाइनान्स कन्ट्रोलर, कम्बोडिया
म पेसाले चाटर्ड एकाउन्टेन्ट हो। म अहिले कम्बोडियामा बस्छु। कम्बोडियामा बस्न थालेको ६ वर्ष भयो। यसअघि म मलेसियामा पढ्नको लागि गएको थिएँ। पछि साथीहरूले कम्बोडियामा राम्रो अवसर छ भनेपछि म पनि कम्बोडिया गएँ। केही समय सिंगापुर बसेर पनि काम गरेँ।
विदेशमा बस्नु मेरो रहर मात्रै पनि हैन। बाध्यता पनि हो। मेरो परिवारले मलाई नेपालमा नै आएर काम गर्न धेरै कर गर्नुभयो। कोभिडको समयमा म नेपालमा गएँ। नेपालमा बस्ने विचार गरेर मैले नेपालका धेरै कम्पनीमा जागिरको लागि निवेदन दिएँ। तर, दुःखको कुरा कुनै पनि कम्पनीले मेरो मेलको रिप्लाई पनि दिएनन्। त्यति मात्रै हैन, तपाईं छनोट हुनुभएन भन्ने खालको पनि मेल आएन।
नेपालमा त जागिर पाउनका लागि क्षमताभन्दा उच्च पदमा रहेका मानिससँगको सम्बन्धले पाइने रहेछ। यो कुराले मलाई धेरै निरुत्साहित गर्यो। नेपालको कर्पोेरेट अझै पनि व्यावसायिक नभए जस्तो लाग्यो। अनि फेरि कम्बोडिया नै फर्केँ। म अहिले कम्बोडियाको मल्टिनेसनल कम्पनीमा काम गर्छु। यो कम्बोडियाको टप टेन कम्पनीभित्र पर्छ।
म नेपाल फर्कन चाहन्छु। यदि सरकारले क्षमताअनुसारको जागिर पाउने प्रणालीको विकास गर्यो भने म आफ्नै मुलुकमा फर्केर काम गर्न चाहन्छु। यदि म नेपाल फर्किएँ भने मसँग अनुभवलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेछु। नेपालका कम्पनीहरूले मलाई प्रयोग गरे भने मैले अन्तर्राष्ट्रियस्तरको काम दिन सक्नेछु।
युवा व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ
सुपेन्द्र घिसिङ : व्यवसायी, जापान
म १५ वर्षअगाडि विद्यार्थी भिसामा जापान आएको हुँ। जापान बस्ने भन्ने योजना त थिएन। तर, त्यतिवेला नेपालमा १८ घण्टासम्म लोडसेडिङ थियो। यस्तो अवस्थामा नेपालमा गएर पनि खासै केही गर्न नसकिने जस्तो लाग्यो। त्यसैले मैले जापानमा नै व्यवसाय सुरु गरेँ। अहिले मैले रेस्टुरेन्ट व्यवसाय गरेको छु। राम्रो आम्दानी गर्छु। मलाई पनि नेपाल फर्कन मन छ। यो व्यवसाय त म नेपालमा पनि गर्न सक्छु। तर, नेपालमा कुनै व्यवसाय दर्ता गर्नुपर्यो भने महाभारत छ। त्यसैले सरकारले युवा व्यवसायीलाई प्रोत्साहित गर्ने योजना ल्याउनुपर्छ।
नेपालका सरकारी काम काज अति नै सुस्त छ। त्यसलाई तीव्र र सहज बनाउनुपर्छ। सरकारी कर्मचारीलाई इमानदार बनाउनुपर्छ। त्यसो भयो भने म नेपाल फर्केर यही व्यवसाय गर्ने थिए। जस्तो खालको सेवा मैले यहाँका नागरिकलाई दिएको छु। त्यही खालको सेवा म नेपाली नागरिकलाई दिन सक्नेछु।
सरकारलाई कर तिरेपछि व्यवसायीको पूर्ण संरक्षण हुनुपर्छ
श्याम शीतल: व्यवसायी, जापान
मेरो घर धादिङ हो। म जापान आएको १० वर्ष भयो। म जापानमा रेस्टुरेन्टलगायतका व्यवसाय गर्छु। मैले नेपालमा नै हुँदा पनि यही व्यवसाय गरेको हुँ। तर, नेपालमा काम गर्न गाह्रो छ। जापान आएपछि पनि मैले त्यहीँ काम गरेँ। तर, जापान काम गर्न धेरै सजिलो छ।
मैले जापानिज सरकारलाई १० प्रतिशत कर तिर्छु। त्यसको बदलामा मैले आनन्दले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँछ। मलाई यहाँ केहीको डर छैन। सरकारी कर्मचारी, स्थानीय गुन्डा अथवा अन्य कुनै निकायले दु:ख दिँदैन। कर तिरेपछि सरकारले पूर्ण रूपमा संरक्षण गर्छ।
आफ्नो परिवारसँग छुट्टिएर विदेशमा कसलाई बस्न मन लाग्छ र? तर, आफ्ना मुलुकमा काम गरी खान सक्ने वातावरण नभएपछि नै युवाहरू पलायन हुने हुन्। तसर्थ यदि सरकारले युवालाई बिदेसिनबाट रोक्न चाहन्छ भने सबैभन्दा पहिला राजनीतिक दलका नेताहरू सुध्रिनुपर्छ।
सरकारी काम कारबाहीलाई सुधार्नुपर्छ। काम गर्ने वातावरण बनाउनुपर्छ। म नेपाल फर्किएँ भने जापानमा सिकेको अनुभव नै लैजाने हो। जापानमा काम गर्ने तरिका नेपालको भन्दा भिन्न छ। यहाँ मानिसहरू कामलाई पूजा गर्छन्। ग्राहकलाई भगवान ठान्छन्। इमानदार छन्। बोलीचाली राम्रो छ।
राजनीतिक स्थिरता कायम गर्नुपर्छ
बालद्योज लिम्बू : व्यवसायी, मलेसिया
म १९ वर्षअगाडि क्लिनरको भिसामा मलेसिया आएको थिएँ। अर्काको काम गर्दागर्दै आफैँले पनि किन नगर्ने भन्ने सोच आयो। मैले पनि व्यवसाय सुरु गरेँ। अहिले मैले मलेसियामा सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी खोलेको छु। म मलेसियाका विभिन्न कम्पनीलाई सेक्युरिटी गार्ड उपलब्ध गराउँछु। मेरो अन्डरमा ३०० सेक्युरिटी गार्ड छन्।
बिदेसिनु कसैको पनि रहर हुँदैन। मेरो पनि थिएन। तर, त्यति वेला नेपाल माओवादी द्वन्द्वको चपेटामा थियो। नेपालमा बस्ने र व्यवसाय गर्ने वातावरण नै थिएन। त्यसैले मैले मलेसियामा नै केही गर्ने सोच बनाएँ र यतै व्यवसाय सुरु गरेँ।
अहिले त नेपालमा धेरै परिवर्तन त आएको छ। तर, हामीजस्ता मध्यम खालका व्यापारीलाई अझै गारो छ। नेपालमा राजनीतिक अस्थिरताका कारण पनि युवा वर्ग नेपाल फर्कन चाहँदैनन्। म पनि चाहन्नँ। यदि नेपाल सरकारले कर्मचारी प्रणाली, घुसपैठ सिस्टम, राजनीति स्थिरता जस्ता व्यवस्थाको व्यवस्थापन गर्यो भने नेपाल फर्कन कुनै समस्या हुने थिएन। मैले नेपाल आएर व्यवसाय गर्ने अवसर पाएँ भने मलेसियामा मैले सिकेको अनुभव र सिस्टमलाई नेपालमा पनि लागू गर्ने थिए।
नेताहरू सुध्रनुपर्छ
रोशन थापा : व्यवसायी, जान्बिया
मेरो घर इलाम हो। तर, म विगत १० वर्षदेखि जाम्बियामा बस्दै आएको छु। म यहाँ जापानिज गाडीको आयात तथा निर्यात गर्छु। नेपालमा पनि मैले आइटी व्यवसाय गर्थेँ। तर, नेपालको सरकारी नीतिले व्यवसायीलाई कहिल्यै संरक्षण गर्दैन।
नेपालमा कम्पनी दर्ता गर्न नै समस्या छ। हरेक ठाउँमा भनसुन गर्नुपर्छ, कि त चिनेको हुनुपर्छ। हैन भने घुस खुवाउनुपर्छ। अन्यथा काम गर्न असहज हुन्छ। यदि नेपाल सरकारले नेपालको कर्मचारी प्रणालीलाई चुस्त बनाउने र हरेक क्षेत्रमा हुने राजनीतिक करणलाई हटाउने हो, मजस्ता युवा व्यवसायी नेपालमा नै फर्कन चाहन्छन्।
यदि म नेपाल आएँ भने मैले सिकेको अनुभव हस्तान्तरण गर्नेछु। मैले जाम्बियामा बसेर अन्तर्राष्ट्रिय कम्पनीसँग काम गरेको छु। यो अनुभव नेपालको आर्थिक विकासको लागि सहयोगी बन्न सक्छ।
सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ
पूर्ण पोखरिया : व्यवसायी, कतार
म कतार बस्न थालेको १० वर्ष भयो। म यहाँ कन्स्ट्रसन व्यवसाय गर्छु। भारतीय र कतारी व्यवसायीको सहकार्यमा मैले अन्य व्यवसाय पनि गर्दै आएको छु। नेपालमा यस्तो खालको व्यवसाय गर्नका लागि सरकारी प्रणाली नै अवरोध बन्छ। हरेक कामको लागि भनसुन गर्नुपर्छ। तर, यहाँ सबै सिस्टमले चल्छ।
नेपाली सरकारले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्ने हो भने युवाको क्षमताअनुसारको जागिर प्रदान गर्नुपर्छ। त्योभन्दा पनि चिनजानेकै भरमा जागिर खुवाउने, चिनजानेकै भरमा सरकारी काम कारबाही हुने प्रणाली छ।
त्यसको अन्त्य गरिनुपर्छ। यदि मैले नेपालमा आएर काम गर्ने मौका पाएँ भने कतारको अनुभव नेपाललाई हस्तान्तरण गर्नेछु। कतार खाडी क्षेत्रको सबैभन्दा राम्रो मुलुकमा गनिन्छ। यहाँ हुने गरिने काम पनि सोहीअनुसारका छन्। तसर्थ म नेपालमा गएर यहाँको अभ्यासलाई नेपालमा कार्यान्वयन गर्नेछु।