\'रेफ्री\'को कदम शंकास्पद भन्दै आयोगविरुद्ध डा. तोसिमाले दर्ता गरिन् रिट

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

ललितपुर ३ की उम्मेदवार कार्कीको उम्मेदवारी अयोग्य ठहर गर्दै निर्वाचन आयोगले शनिबार खारेज गरेको थियो। 

पेसाले चिकित्सक डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र यो पदको नियमित तलबभत्ता नभए पनि बैठक भत्ता आउने तथा यो लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्थाभित्र पर्ने भएकाले उम्मेवारी खारेज गरेको आयोगले जनाएको थियो। 

आयोगको यो निर्णयविरुद्ध डा. कार्कीले सोमबार अधिवक्ताहरूका साथ अदालत पुगेर रिट दायर गरेकी हुन् । तोसिमाले दायर गरेको रिट दर्ता भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। रिट निवेदनमा डा. कार्कीले आफ्नो उम्मेदवारी कायम गरिपाऊँ भनी अन्तरिम आदेश माग गरेकी छिन्। 

आफूले उम्मेदवारी दिन नियमित तलबभत्ता आउने पाटन अस्पतालबाट राजीनामा दिएको उल्लेख गर्दै तोसिमाले नियमित तलबभत्ता प्राप्त नहुने मेडिकल काउन्सिलको सदस्यले उम्मेदवार हुन राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने बारेमा प्रस्ट पार्न आयोगमा लिखित निवेदन दिएको, तर आयोगले कुनै जवाफ नदिई अहिले उम्मेदवारी खारेज गरिदिएको जानकारी गराएकी छन्।  

आफूले मागेको जवाफ नदिई आयोगले उम्मेदवारी खारेज गरिदिनु आश्चर्यजनक र शंकास्पद रहेको भन्दै तोसिमाले न्याय माग्दै अदालत पुगेको बताइन्। 

‘निर्वाचन आयोग ‘निर्वाचनको रेफ्री’ हो। रेफ्रीलाई नै शंका गर्दै निर्वाचनमा होमिनुपर्दा असजिलो अनुभव गरेका छौँ । यही असजिलोबीच रिट निवेदन दर्ता गराएका छौँ । निर्वाचन निष्पक्ष रहोस् र निष्पक्ष निर्वाचनका लागि हामीलाई सबैले साथ दिनुहोस्,’ उनले भनिन् ।

सुझावित समाचार