बेलायती विविधताबाट भारतले के सिक्ने ?

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

म सन् १९७९ देखि १९८६ सम्म लन्डनमा आप्रवासी नभई एक विद्यार्थीका रूपमा बसेको थिएँ र त्यसवेलाको करिब सात वर्षको बसाइको अनुभव सम्झिँदा बेलायतले निकै सुधार गरिसकेको छ भन्न सक्छु । ती सात वर्षका दौरान दक्षिणी लन्डनको मजदुर बस्तीमा रहेको विद्यालयबाट मैले माध्यमिक एवं उच्च माध्यमिक तह पूरा गरेको थिएँ र लन्डन स्कुल अफ इकोनोमिक्समा उच्च शिक्षाका लागि दाखिला भएको थिएँ । त्यतिवेला मार्गरेट थ्याचर प्रधानमन्त्री थिइन् । नेसनल फ्रन्ट र ब्रिटिस नेसनल पार्टीका फासीवादी जत्थाको नश्लभेदी हिंसा सामान्य थियो ।    

 बेलायत बसाइका दौरान मैले कुनै शारीरिक हिंसा वा नश्लभेदी दुव्र्यवहार भोग्नुपरेन । तैपनि, नश्लवाद बेलायती समाजमा स्पष्ट देख्न सकिन्थ्यो । यसलाई आप्रवासीको जनसंख्या ‘मूल गोरा’ बेलायतीभन्दा धेरै हुने चासो (जसलाई दक्षिणपन्थी नेताले फैलाएका थिए) र, आप्रवासी र तिनका सन्तानको बेलायतप्रतिको ‘वफादारी’को तर्कहीन चासोले उत्तेजित बनाएको थियो ।

म बेलायत आउँदा अश्वेत र दक्षिण एसियाली मूलका मानिस सार्वजनिक जीवनमा खासै देखिँदैनथे, तर मैले बेलायत छाड्दा परिवर्तनका थोरबहुत संकेत देखापर्न थालेका थिए । सन् १९२९ मा भारतीय मूलका कम्युनिस्ट नेता साहपुर्जी सक्लातवाला ब्याटरसी निर्वाचनमा पराजित भएयता बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा कुनै दक्षिण एसियाली मूलका वा अश्वेत सांसद थिएनन् । तर, सन् १९८७ मा अश्वेत समुदायका डाइन एबोट, पौल बोटिङ र किइथ भाज सांसद निर्वाचित भएका थिए र त्यसउपरान्त बेलायतमा गैरश्वेत सांसद चुनिन थालेका थिए । यो त भयो भारतीय मूलका सांसद प्रधानमन्त्री बनेको अभूतपूर्व यात्राका सन्दर्भमा बेलायतसम्बन्धी मेरो अनुभव ।    

 ऋषि सुनकको जीवन भोगाइले बेलायतमा रहेका कैयौँ आप्रवासी परिवारको भोगाइको प्रतिनिधित्व नगर्न सक्छ । उनको जीवन अनुभव हालसम्मका सबै प्रधानमन्त्री (गोरा पुरुष र महिला)को जस्तो पनि छैन । केही दशकयता बेलायती जीवनको एक पक्षमा परिवर्तन आएको छैन, अर्थात बेलायतमा नश्लभन्दा पनि वर्गको प्रधानता छ । सुनकको उन्नतिको खबरलाई लिएर भारतभरका भारतीयले आश्चर्य एवं आनन्दसाथ प्रतिक्रिया दिएका छन् । समग्रमा भन्ने हो भने बेलायती जनताले यो असाधारण एवं महत्वपूर्ण घटनामा गर्व गर्नुपर्ने सबैभन्दा ठूलो कारण छ ।

बेलायती मात्रै नभई विविधतालाई सानदार ढंगले सम्मान एवं र स्वीकार गर्ने अन्य युरोपेली पनि छन् । भारतीय मूलका प्रधानमन्त्रीले आयरल्यान्ड र पोर्चुगलका नेता भएर पनि सेवा गरेका छन् । यद्यपि, आत्ममुग्धतामा रमाउनुको सट्टा भारतका भारतीयले लामो समयदेखि भारतीय जीवनको हिस्सा बनेको धार्मिक विविधता र सांस्कृतिक बहुलवादलाई के भयो भनेर प्रश्न गर्नुपर्छ ।

सुनकको विजयलाई लिएर आत्ममुग्धतामा रमाउनुको सट्टा भारतीयले आफ्नो धार्मिक विविधता र सांस्कृतिक बहुलवाद कता पुग्यो भनेर प्रश्न गर्नुपर्छ
 

 यसअघि जब सुनक प्रधानमन्त्री पदका एक शीर्ष प्रत्यासी थिए, त्यसवेला भारतका प्रख्यात प्राज्ञ एवं अभियन्ता कान्चा इलैयाले ‘इसाई बेलायत’बाट ‘हिन्दू भारत’ले सहिष्णुताको पाठ सिक्नुपर्ने बताएका थिए । उनले ‘बेलायतले इसाई औपनिवेशिक साम्राज्यलाई बलियो बनायो । तर, सुनकलाई बेलायतले शीर्ष स्थानका लागि लड्ने वातावरण उपलब्ध गराएको छ । कुनै पनि विपक्षी नेता वा आफ्नै दलका नेताले उनको धार्मिक पहिचानमाथि प्रश्न खडा गरेनन् । तर, उनको धनसम्पत्ति, मजदुर वर्गप्रतिको रवैया, पत्नीको करछलीका मामिलामा प्रश्न उठेका थिए । यी लोकतन्त्रमा गरिनैपर्ने प्रश्न हुन् जुन भारतमा विरलै देख्न सकिन्छ’ भनेर लेखेका थिए । 

यसलाई भारतसँग तुलना गरी हेरौँ । सरकारमा एकजना पनि मुसलमान मन्त्री छैनन् र भारतीय जनता पार्टी (भाजपा) एवं संघ परिवारले धर्म विशेषतः मुसलमानलाई लिएर मुलुकलाई ध्रुवीकरण गर्ने लक्ष्य बनाएका छन् । पार्टीका नेतालाई मुसलमानको बेइज्जत गर्न र आफ्नो हिन्दू विरासत दाबी गर्नमा कुनै संकोच छैन । भारतमा सत्तारूढ संस्थापनको राजनीतिक बहसमा धर्मले केन्द्रीय भूमिका खेलेको छ, जुन बेलायतमा छैन ।  

यो राजनीतिलाई प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अभ्यास गरेका छन् । प्रमाणका रूपमा उनले उपराष्ट्रपति हमिद अन्सारीलाई दिएको बिदाइ भाषणलाई विचार गर्दा हुन्छ, जहाँ उनले कुशल कूटनीतिज्ञ एवं राजनीतिज्ञसमेत रहेका अन्सारीलाई इस्लामसँग सम्बन्धित ‘वृत्त’मा सीमित पारेका थिए । अथवा मोदीले नागरिकता (संशोधन) ऐनको विरोधमा उत्रेका मुसलमान प्रदर्शनकारी पोसाकबाट चिनिन्छन् भनेर भाषण गर्नुले अन्यथा अर्थ दिँदैन ।

योगी आदित्यनाथजस्ता अन्य भाजपा नेता मुसलमानमाथि थप कठोर भएर भाषणबाजी गर्छन्, उसो त मोदी पनि मुख्यमन्त्री छँदा आदित्यनाथझैँ साम्प्रदायिक भाषणबाजी गर्थे । वास्तवमा, भारतका अल्पसंख्यक विशेषतः मुसलमान लगभग हरेक आयाममा आक्रमणको सामना गरिरहेका छन् भारतमा यी अल्पसंख्यकको पहिचानमाथि बेलायतका नश्लवादीले दशकौँदेखि अश्वेत र एसियालीलाई गरेझैँ आक्रमण भइरहेको छ । भारतमा इस्लामको महत्वलाई कम गर्न सहर, इलाका, रेल आदिका ‘मुसलमानजस्तो सुनिने’ नाम परिवर्तन गरिँदै छ, विद्यालयको पाठ्यपुस्तक सम्पादन गरिँदै छन् र अपराधको आरोपमा मुसलमानका घर कुनै अदालती वा कानुनी प्रक्रिया नपुर्याई भत्काइँदै छन् । 

विश्वभरका मुसलमान मुसलमानले भारतको सर्वोच्च पदका लागि प्रयास गर्नुको सट्टा आफू अनदेखा हुनु बुद्धिमानी हो भन्ने ठान्छन् । विविधता सम्बन्धित संकेत एवं प्रतीकलाई सजायबाट जोगिन लुकाउने गरिन्छ । यो आधुनिक भारतको कुरूप अनुहार हो र यसलाई जति चाँडो थाहा पाइन्छ, त्यति नै चाँडो सुधारका लागि काम गर्न सकिन्छ । 
(वरदराजन द वायरका संस्थापक सम्पादक हुन्) द वायरबाट
 

सुझावित समाचार