निःस्वार्थ भावले समाजको उन्नतिमा लागौँ : राष्ट्रपति

नेपाल संवत् मौलिक राष्ट्रिय संवत् भएको राष्ट्रपतिको भनाइ

बुधबार, ९ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैलाई आह्वान गरेकी छिन् । नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले यस्तो आह्वान गरेकी हुन् । 

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरणसमेत गरेकी छिन् । साथै, उनले नेपाल संवत् मौलिक राष्ट्रिय संवत् भएको बताएकी छिन् । 

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने संवत् भएको भन्दै उनले यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने बताएकी छिन् । 

यस दिनलाई नेपाल संवतको नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा भव्यताका साथ मनाउने गरिन्छ।

लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ । राष्ट्रपति भण्डारीले नेपाली समाज सभ्य र सहिष्णु समाज भएको र हाम्रा चाडपर्व तथा यस खालका असल परम्पराले थप सुदृढ बनाउँदै लगेको उल्लेख गरेकी छिन् । 
उनले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः शुभकामना व्यक्त गरेकी छिन् ।

सुझावित समाचार