फरक–फरक आदर

सोमबार, ७ कार्तिक, २०७९
डिजिटल संस्करण

एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन बोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोरमैलो लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । उनलाई नजिक नबसाली एकातिर अलि टाढै बस्ने आदेश दिए ।

उनीहरूबीच कुराकानी सुरु भयो । कुराकानी हुँदै जाँदा नेपोलियनले उनी एक बडो कुशल चित्रकार हुन् भन्ने बुझे । किनकि, छोटो कुराकानीबाटै उनी व्यक्तिको प्रतिभा र क्षमताको पारख गर्न सजिलै सक्थे । केही समयको कुराकानीपछि ती चित्रकार बिदा भएर जान लागे । त्यसपछि नेपोलियन आफ्नो आसनबाट जुरुक्क उठे र उनीसँग बडो आत्मीयतापूर्वक हात मिलाएर उनलाई बिदा गरे । साथै, उनी ती चित्रकारलाई ढोकासम्म पुर्याउन आफैँ गए ।

नेपोलियनको यस प्रकारको आदरसत्कार देखेर चित्रकारलाई बडो आश्चर्य लाग्यो । मनको खुल्दुली मेटाउन उनले डराउँदै–डराउँदै सम्राट् नेपोलियनसँग सोधे, ‘रिसानी माफ रहोस् सम्राट् । मलाई एउटा कुराको बडो खुल्दुली भइरहेको छ । म यो खुल्दुली मेटेर मात्र हजुरसित बिदा हुन चाहन्छु । जतिखेर म भित्र आएको थिएँ, त्यतिखेर हजुरले मलाई आफ्नो नजिक बस्नसमेत दिनुभएन ।

अब अहिले जाने बेलामा भने तपाईं मलाई यहाँसम्म पुर्याउन आउनुभएको छ यसको कारण के हो ?’उनको जिज्ञासा सुनेर नेपोलियनले मुस्कुराउँदै भने, ‘आउने वेलामा कुनै व्यक्तिलाई जुन आदर गरिन्छ, त्यो उसको पोसाक हेरेर गरिन्छ । तर, जाने वेलामा जुन आदर गरिन्छ, त्यो भने उसको गुण र प्रतिभा देखेर गरिन्छ ।’

सुझावित समाचार