नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन्।
पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे।
प्रचण्डले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे।
उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरूलाई निर्देशन दिए। ‘सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच कुनै समस्या छैन,’ उनले भने, ‘हामी नेता एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन।’