शुक्रबारसम्म सन्दीपमाथिको अनुसन्धान सकिएको छैन, तिहारअघि आइतबार मात्र अदालत खुल्छ, प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पनि मुद्दा दायर हुन दुई दिन समय लाग्ने हुन्छ
बालिकालाई होटेलमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको तिहार प्रहरी हिरासतमै बित्ने भएको छ । अनुसन्धान नसकिएकाले तिहारपछि मात्र उनीविरुद्ध अदालतमा मुद्दा दायर हुनेछ ।
विदेशबाटै फर्कंदै गर्दा गत २० असोजमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । शुक्रबारसम्म उनी १६ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । जबर्जस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बस्नुपर्ने भएको छ ।
तिहारअघि आइतबार मात्र अदालत खुल्नेछ । शुक्रबारसम्म प्रहरीले अनुसन्धान सकाएको छैन । प्रहरीले अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।
अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन गर्न सरकारी वकिलले सामान्यतया दुई दिनको समय लिने गर्दछ । मुद्दा दायर भएपछि अदालतले थुनछेक बहस सुनेर थुनामा पठाउने वा रिहा गर्ने आदेश गर्नेछ । यसरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा पुगेर आदेश हुनसम्म कम्तीमा दुई दिन लाग्ने, तर तिहारअघि एक दिन मात्र बाँकी भएकाले उनीमाथि तिहारपछि मात्र मुद्दा दायर हुने भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली सो मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । तिहारअघि अनुसन्धान नसकिए तिहारलगत्तै मुद्दा प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । घटनास्थल गौशला वृत्तमातहतको पिंगलास्थानस्थित एक होटेल भएकाले त्यहाँबाट अनुसन्धान अघि बढेको हो । साथै, नेपाल क्रिकेट एसोसिएसन (क्यान) लगायत निकायलाई पत्र लेखेर उनी राष्ट्रिय क्रिकेट टिम बसेको होटेल छाडेर निस्किएको लगायत विषयमा जानकारी माग गरेको छ । ‘केही निकायबाट जवाफ आउन बाँकी छ,’ गौशाला वृत्तका एक अधिकारीले भने, ‘त्यसपछि मुद्दा दायरको प्रक्रिया अघि बढ्नेछ ।’ बयानका क्रममा लामिछानेले आफू ती किशोरीसँग उनको आग्रहमा होटेलमा गएको र आफूहरूबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन् ।