इमानदारीपूर्वक एकअर्काको चिह्नमा भोट हाल्नुहोला : प्रचण्ड

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल  प्रचण्डले निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताएका छन्। 

पाँचदलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारेका हुन्। 

उनले भने, ‘सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन। बृहत्तर उद्देश्यका साथ संघर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन।’

उनले लामो संघर्षपछि प्राप्त उलब्धिको रक्षाका लागि गठबन्धन अघि आएको बताउँदै सत्ताप्राप्तिका लागि मात्र हो कि भनेर सोच्न नहुने उल्लेख गरे। 

जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने उल्लेख गरे।  प्रचण्डले गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सबै पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। 

आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। उनले भने, ‘गठबन्धनको अर्को मित्रलाई भोट नहाल्नु मित्रप्रतिको घात हुन्छ । गठबन्धनका दलले इमानदारीपूर्वक एकअर्काको चिह्नमा भोट हाल्नुहोला।’ 

सुझावित समाचार