रोबर्ट लेवान्डोस्कीले आफ्नो करिअरमा अर्को कोसेढुंगा पार गरेका छन् । गएराति ला लिगामा भिया रियालसँग भएको खेलमा उनले ६ सयौँ गोल पूरा गर्दै अर्को कोसेढुंगा पार गरेका हुन् ।
सो खेलमा उनले दुई गोल गर्दै गोल संख्या ६ सय एक पुर्याए । सन् २००० पछि ६ सय गोल गर्ने उनी तेस्रो खेलाडी बनेका छन् । उनीभन्दा अघि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो छन् ।
यसै सिजन बार्सिलोना गएका लेवान्डोस्कीले १४ खेलमा १६ गोल गरिसकेका छन् । त्यसअघि बायर्न म्युनिखमा रहँदा उनले तीन सय ७५ खेलमा तीन सय ४४ गोल गरेका थिए । बायर्न पुग्नुअघि उनी बोरुसिया डर्टमन्डमा थिए । त्यहाँ एक सय ८६ खेलमा एक सय तीन गोल गरेका थिए ।
जर्मनी आउनुअघि उनले जिस्क प्रस्काउका लागि २१ र लेच पोजनानका लागि ४१ गोल गरेका थिए । पोल्यान्डको राष्ट्रिय टोलीका लागि उनले एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् ।