पर्सामा तीन महिला उम्मेदवार प्रदेश सभामा भिड्दै

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

मंसिर ४ मा हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनमा पर्साका तीन महिला प्रत्यक्षतर्फको उम्मेदवार बनेर चुनावमा होमिएका छन्। जिल्लाको विभिन्न क्षेत्रबाट प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवार बनेर उनीहरू प्रतिस्पर्धामा उत्रिएका हुन्।

ठूला दलबीच चुनावी गठबन्धन र तालमेल भएपछि तीन महिलाको प्रत्यक्ष उम्मेदवारी दर्ता भएको हो। प्रदेश सभा सदस्यमा तीन महिलाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन्।
 
तीनमध्ये दुईजना दलगत गठबन्धनबाट र एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। गत २३ असोजमा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा एक महिलाले स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी थिइन्। उनले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन्।

पर्सा क्षेत्र नम्बर २ को (ख)मा स्वतन्त्रबाट पूर्वकृषि राज्यमन्त्री करिमा बेगमले उम्मेदवारी दर्ता गराएकी छिन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट पर्सा १ मा निर्वाचित बेगमलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्। दलहरूबीच गठबन्धन र चुनावी तालमेल भएर टिकट नपाउँदा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको उनले बताइन्। प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ चुनाव लड्ने दाबी गर्दै आएकी बेगम प्रदेश सभा सदस्य पदमा पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउँछिन् । 

यस्तै, क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यमा जसपाकी डा. मधु गुप्ता उम्मेदवार छिन्। एमाले–जसपा गठबन्धनको तर्फबाट उनी निर्वाचनमा होमिएकी हुन्। उनी ०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित हरिनारायण रौनियारको छोरी हुन्। रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि ०७५ असोज १९ देखि निलम्बित छन्। 
बुबाको राजनीतिक विरासत जोगाउन उनी चिकित्सा पेसा छाडेर राजनीतिमा प्रवेश गरेकी हुन्।

क्षेत्र नम्बर ४ को (ख)बाट प्रदेश सभा सदस्यमा सत्तागठबन्धका तर्फबाट माओवादी केन्द्रकी शेख चाँदतारा उम्मेदवार बनेकी छिन्। निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनी दलहरूबीच गठबन्धन भएपछि प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बनेकी हुन्।

कुल १६१ उम्मेदवार 
पर्साको चारवटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यतर्फ दलगत र स्वतन्त्र गरी प्रत्यक्षमा ५३ जनाको उम्मेदवारी दर्ता भएको छ। आठवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय आठजनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिनिधिसभा सदस्यतर्फ सबैभन्दा बढी क्षेत्र नम्बर १ मा २१ जनाको उम्मेदवारी दर्ता भएको छ। क्षेत्र नम्बर २ र ३ मा ११–११ र क्षेत्र नम्बर ४ मा १० जनाको उम्मेदवारी परेको हो। यस्तै, प्रदेश सभामा क्षेत्र नम्बर १ (क) मा १८ जना र (ख)मा २० जनाको उम्मेदवारी परेको छ।

क्षेत्र नम्बर २ को (क)मा नाैजना, (ख)मा १४ जना, क्षेत्र नम्बर ३ को (क) मा १२ र (ख)मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी, क्षेत्र नम्बर ४ को (क)मा १० जना र (ख)मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ।

सुझावित समाचार