बेल्जियममा दुई सातासम्म चल्ने नेटोको ‘स्टेडफास्ट नुन’ आणविक अभ्यास यही १७ अक्टोबरमा सुरु भएको छ । नेटोले रुसको आणविक अभ्यास, जसलाई ग्रोम भनेर चिनिन्छ, त्यसलाई यस वर्षको अन्त्यमा दोस्रोपटक सञ्चालन गरिनेछ भन्ने अनुमान गरेको छ । नेटोको स्टेडफास्ट नुनमा १४ देशका ६० विमान छन् र त्यसमा अमेरिकी बी–५२ बमवर्षक पनि छन् । नेटोले यो अभ्यासलाई ‘एक नियमित र आवधिक प्रशिक्षण गतिविधि’ बताएको छ र अभ्यास युक्रेन द्वन्द्वसँग सम्बन्धित नभएको दाबी गरेको छ । जे होस्, अवस्था सामान्य छैन, यो साता नेटोले युरोपमा ठूलो द्वन्द्व चलिरहेको समयमा परमाणु हमलाको अभ्यास गर्नेछ । केही विश्लेषकका अनुसार यो अभ्यासले आणविक तनावको अवस्था निम्त्याउनेछ भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेटोको अभ्यास समयको अनुकूल नदेखिन सक्छ, तर यसले जोखिम सिर्जना गर्ने सम्भावना न्यून छ । यद्यपि, यदि रुसी सेना पछि हट्न बाध्य भएमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने खतरा बढ्दै जानेछ किनभने पहिल्यैदेखि उनले वेलाबखत आणविक आक्रमणको धम्की दिँदै आएका छन् । राष्ट्रपति जो बाइडेनका अनुसार सन् १९६२ को क्युबाली मिसाइल संकटपछि विश्वले अहिले ‘आरमागेडोन’ (मिथकीय अन्तिम युद्ध) को सबैभन्दा ठूलो खतराको सामना गरिरहेको छ ।
अमेरिकाले द्वन्द्वको प्रारम्भमा गर्ने ‘मिनेटम्यान थ्री’ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको परीक्षण प्रक्षेपण तनावको कारक बन्न सक्छ । रुसले आणविक हतियार प्रयोग गरेमा ‘विपत्तिजनक’ नतिजा निम्तिने भन्दै पश्चिमले चेतावनी दिएदेखि अवस्था चिन्ताजनक बनेको छ । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गका अनुसार स्टेडडफास्ट नुन पछि सार्नु कमजोरीको संकेत हुन सक्नेछ । ‘अमेरिकन थिंक ट्यांक फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स’का ह्यान्स क्रिस्टेनसेनका अनुसार यो मुद्दा आणविक तनाव उक्साउने ‘पाठ्यपुस्तकीय उदाहरण’ बनेको छ किनभने दुवै पक्ष प्रतिरक्षाप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न चाहन्छन् र कमजोर देखिन चाहँदैनन् । यदि पुटिन आणविक हतियार प्रयोग गर्नै लागिरहेका छन् भने के विश्वले कुनै किसिमको चेतावनी पाउनेछ ? पश्चिमा जानकारहरूका अनुसार यसबारे विश्वले चेतावनी पाउनेछ । युक्रेनमा रुसी अतिक्रमणबारे जसरी यी जानकारले थाहा पाएका थिए, त्यसरी नै रुसको सम्भावित आणविक आक्रमणबारे पनि उनीहरूले जानकारी पाउनेछन् । उपग्रह र अन्य प्राविधिक उपकरणले कस्ता हतियार प्रयोग भइरहेका छन् भन्ने देखाउनेछ ।
रुस र अमेरिकाले प्रक्षेपण गर्न राखेका लामो दूरीका ‘रणनीतिक’ हतियारलाई नजिकबाट निगरानी गर्ने ‘न्यु स्टार्ट’ सन्धिले दुवै पक्षलाई एक हजार पाँच सय ५० भन्दा बढी मिसाइल, बमवर्षक र पनडुब्बी तैनाथ गर्नबाट रोक्छ । समस्या के हो भने धेरै हतियार तयारीको उच्च अवस्थामा छन् र तिनलाई जुनसुकै वेला प्रयोग गर्न सकिन्छ । ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि मात्र उपग्रह र ग्राउन्ड राडारले थाहा पाउँछन् र न्यून उचाइमा प्रक्षेपण हुने मिसाइलबारे पत्ता लगाउन गाह्रो हुनेछ । यी हतियारको प्रयोग न्यून छन् यद्यपि तिनले नेटोलाई उक्साउने अत्यधिक जोखिम बोक्छन्, किनभने ती तयारी हतियारले पश्चिमलाई आक्रमण ग¥यो भन्ने अर्थ लाग्न सक्छ । नेटोले ग्रोम अभ्यासलाई नजिकबाट हेर्नेछ किनभने विगतमा पनडुब्बीबाट अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरिएका छन् ।
सामान्यतया सानो विस्फोटक बल र छोटो दायरा भएको आफ्ना दुई हजार कथित ‘रणनीतिक’ आणविक हतियारमध्ये एक वा बढीमा दुई हतियार प्रयोग गर्नु रुसका लागि व्यावहारिक देखिनेछ । यी हतियारमध्ये सयवटा हतियार नेटोले युरोपमा भण्डारण गरेका छन् ।
भण्डारणमा रुसी वारहेड (क्षेपायास्त्रमा प्रयोग हुने बारुद) का लागि चाहिने विमान र मिसाइल अलग राखिएका छन् । तसर्थ, यी वारहेड प्रयोगको तयारी स्पष्ट हुन जान्छ । भण्डारणबाट यी वारहेडलाई विमान वा मिसाइल भएका ठाउँमा पु¥याउने प्रक्रियालाई उपग्रह वा अन्य प्रविधिबाट निगरानी गर्न सकिनेछ । रुसका १२औँ मुख्य निर्देशनालयका उच्च अधिकारीले यी वारहेडको रक्षा गर्नेछन् र फायर इन्जिन र सम्भावित क्षति रोक्ने गाडी परिचालन गरी यी हतियार रेल वा ट्रकबाट ढुवानी गरिनेछन् । वारहेड प्रयोग गर्न सक्ने सशस्त्र बलले पनि अनौठो व्यवहार गर्न सक्छन् । यी सबै सम्भवतः चर्को इलेक्ट्रोनिक संवादका रूपमा बाहिर आउनेछ ।
पश्चिमा मुलुकलाई सम्भावित संकेतबारे थाहा छ किनभने शीतयुद्धपछि यी मुलुकले ‘को–अपरेटिभ थ्रेट रिडक्सन’ (सिटिआर) कार्यक्रमअन्तर्गत आफ्नो आणविक हतियारको सुरक्षा सुधार गर्न रुससँग दशकौँ काम गरेका थिए । रुसका केही विशेष उपकरण र विधि पश्चिमा पेसेवरको सहयोगमा विकास गरिएका थिए । सिटिआरका एक अनुभवी विज्ञ विलियम मुनका अनुसार वारहेडको गति पक्कै पनि थाहा हुनेछ । यद्यपि, रुसले सामान्य ट्रकमा लुकेका एक वा दुइटा वारहेडलाई सानो–सानो रणनीतिक प्रदर्शनका रूपमा तस्करी गर्ने प्रयास गर्न सक्छ । मुनका अनुसार यस्तो चाल पत्ता लगाउन अप्ठ्यारो हुन सक्छ ।
जेनेभाको एक थिंक ट्यांक संयुक्त राष्ट्र निःशस्त्रीकरण अनुसन्धान संस्थानका पाभेल पोडभिगका अनुसार सामरिक आणविक वारहेडलाई यदि मोबाइल मिसाइल–लन्चरमा राखेर जंगलमा लुकाए पहिचान गर्न गाह्रो हुनेछ । तर, उनी ‘रुस मोबाइल मिसाइल लन्चर प्रयोग गर्दा आफूलाई निगरानी गरिएको छ वा छैन भनेर कहिल्यै निश्चिन्त हुनेछैन’ भन्छन् ।
‘कुनै पनि अवस्थामा वारहेडको ढुवानी गर्ने प्रक्रिया लुकाउनु रुसको उद्देश्यविरुद्ध हुन जान्छ,’ एक आर्को थिंक ट्यांक कार्नेगी एन्डाउमेन्टका जेम्स एक्टन भन्छन् । उनका अनुसार ‘पुटिन आफूले आणविक हतियार प्रयोगका लागि तयारी गर्दै छु भनेर देखाउन चाहन्छन् अर्थात् उनी प्रयोगभन्दा पनि प्रयोगको धम्की दिएर सहुलियत हासिल गर्न चाहन्छन् ।
द इकोनोमिस्ट