२४ वर्षपछि गान्धी परिवारबाहिरबाट भारतीय कंग्रेसमा नेतृत्व : खड्गे भारी मतले विजयी

१३७ वर्षअघि स्थापना भएको कंग्रेस पार्टी प्रमुख छान्नका लागि छैटौँपटक चुनाव भएको हो

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण
२४ वर्षपछि गान्धी परिवारबाहिरबाट भारतीय कंग्रेसमा नेतृत्व : खड्गे भारी मतले विजयी

मल्लिकार्जुन खड्गे

भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । भारतीय कंग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिर गएको हो । ८० वर्षीय खड्गेले कुल मतको ८४ प्रतिशत मत प्राप्त गरेका छन् । कंग्रेस अध्यक्ष पदका लागि सोमबार मतदान भएको थियो । प्रदेश कंग्रेसबाट चुनिएर आएका प्रतिनिधिले गरेको मतदानमा खड्गेले प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका हुन् । कुल नौ हजार ३८५ मतमध्ये खड्गेले सात हजार ८९७ मत प्राप्त गरे भने थरुरले केबल एक हजार ७२ मत पाए । १३७ वर्षअघि स्थापना भएको कंग्रेस पार्टी प्रमुख छान्नका लागि छैटौँपटक चुनाव भएको हो ।

पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा खड्गे अन्तिम मिनेटमा प्रवेश गरे पनि उनको भारी जितमा कहिल्यै शंका थिएन । सोनिया गान्धी, राहुल गान्धीसहित कंग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले सजिलै चुनाव जित्ने अनुमान गरिएको थियो । चुनावी परिणाम सार्वजनिक नहुँदै प्रतिद्वन्द्वी शशी थरुरले खड्गेको पक्षमा धाँधली भएको आरोप लगाएका थिए ।

खड्गे अब सोनिया गान्धीका उत्तराधिकारी हुनेछन् । सन् २०१७ मा सोनियाले पार्टी अध्यक्षको जिम्मेवारी छोरा राहुल गान्धीलाई दिएकी थिइन् । तर, सन् २०१९ मा भएको आमनिर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै राहुलले अध्यक्षबाट राजीनामा दिएपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् । सन् १९९८ मा सीताराम केसरीलाई पार्टी अध्यक्षबाट अपदस्थ गरिएपछि सोनियाले २१ वर्ष पार्टीको नेतृत्व गरिन् । उनी पार्टीको लामो समयसम्म नेतृत्व गर्ने एक मात्र अध्यक्ष हुन् । सोनियाको नेतृत्वको भारतीय राष्ट्रिय कंग्रेसले सन् २००४ र २००९ को आमनिर्वाचन जितेको थियो ।

भारतीय कंग्रेसको इतिहासमा सन् १९४८ यता सबैभन्दा धेरै गान्धी परिवारले नेतृत्व गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएयता भारतीय कंग्रेसबाट अध्यक्ष बनेका १६ जनामध्ये पाँचजना गान्धी परिवारका छन् । गान्धी परिवारबाट कंग्रेसको नेतृत्व सबैभन्दा पहिला सन् १९५१ देखि सन् १९५४ सम्म जवाहरलाल नेहरूले गरेका थिए । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धीले पार्टीको नेतृत्व सम्हालेकी थिइन् । त्यस्तै, सन् १९७८ देखि १९८३ सम्म पनि इन्दिराकै नेतृत्वमा कंग्रेस अगाडि बढेको थियो । सन् १९८५ देखि १९९१ मा राजीव गान्धी पार्टी अध्यक्ष बनेका थिए ।

 को हुन खड्गे ?
भारतको दक्षिणी राज्य कर्नाटकका दलित समुदायका खड्गे लामो समयदेखि राजनीतिमा छन् । सन् १९४२ मा बिदर जिल्लामा जन्मेका उनी छिमेकी जिल्ला गुलबर्गामा हुर्किएका थिए । त्यसपछि उनको परिवार त्यहीँ सरेको थियो । उनले प्रारम्भिक दिनमा कानुनको अध्ययन गरे र श्रमिक संघहरूको प्रतिनिधित्व गरे ।

विद्यार्थीकालदेखि नै राजनीतिमा चासो राख्ने उनी सन् १९६९ मा कंग्रेस पार्टीमा प्रवेश गरेका थिए । त्यतिवेला उक्त राज्यको पार्टी प्रमुख देभराज युर्सले कथित माथिल्लो जातको बाहुल्य रहेको गुर्मितकाल क्षेत्रबाट सन् १९७२ मा प्रतिस्पर्धा गर्न खड्गेलाई अघि सारेका थिए । उनी उक्त निर्वाचन क्षेत्रबाट लगातार नौपटक विजयी भए । उनी चितापुरबाट पनि प्रतिस्पर्धा गरे र विजयी भए । खड्गे विभिन्न राज्य सरकारमा पटक–पटक मन्त्री भए । 

सन् २००९ मा खड्गे दिल्लीको राजनीतिक केन्द्र–मञ्चमा सरेका थिए, जतिवेला उनी संसद्को तल्लो सदन लोकसभामा पहिलोपटक गुलबर्गा निर्वाचन क्षेत्रबाट निर्वाचित भए । उनी सन् २०१४ मा दोस्रो कार्यकालका लागि पनि विजयी भए, तर सन् २०१९ को निर्वाचनमा भने पराजय चाखे । सन् २०२१ मा उनी माथिल्लो सदनमा निर्वाचित भएका थिए ।
 

सुझावित समाचार