जाजरकोटमा आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ। ०७४ को निर्वाचनमा एक–आपसमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह अहिले सहयात्री बनेका छन्।
०७० सालको निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा बस्नेत र शाह विजयी भएका थिए। क्षेत्र नम्बर १ बाट माओवादीका शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए।
०७४ को निर्वाचनमा एउटा मात्रै निर्वाचन क्षेत्र हुँदा बस्नेतले ३२ हजार दुई सय ८१ मतका साथ विजयी भए। कांग्रेसका शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए। त्यस वेला एमालेसँग माओवादीले गठबन्धन गरेको थियो भने अहिले कांग्रेस र माओवादीबीच गठबन्धन भएर बस्नेत र शाह सहयात्री बनेका छन्।
शाह मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभा (ख) निर्वाचनमा होमिएका छन् भने बस्नेत प्रतिनिधिसभाका लागि तेस्रोपटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
बस्नेतसँगै अहिले एमालेका नीरज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही, राप्रपाका दीपक खनाल, कांग्रेस बिपीका झलकनाथ वाग्ले र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन्।
पहिलेका सहयात्री अहिलेका प्रतिस्पर्धी
बस्नेतसँग निर्वाचनमा होमिएका नीरज आचार्य र स्वतन्त्र उम्मेदवार बनेका नरबहादुर कार्की ०७४ सालको निर्वाचनमा सहयात्री थिए। आचार्य र कार्कीले निर्वाचनमा बस्नेतलाई सहयोग गरेका थिए। एमाले र माओवादी गठबन्धन भएका कारणले एमालेका केन्द्रीय सदस्य रहेका आचार्यले बस्नेतको चुनावी कमान्ड सम्हालेका थिए।
नरबहादुर कार्की माओवादी नेताका रूपमा बस्नेतको चुनावी प्रचारप्रसार गरेका थिए। यी दुवैको सहयोगले बस्नेतले चुनाव जितेका थिए। तर, अहिले आचार्य र कार्कीले बस्नेतलाई चुनौती दिएका छन् । कार्की माओवादी पृष्ठभूमिका भएकाले बढी मत काट्ने आकलन गरिएको छ ।
०७४ सालकाे समानुपातिक मत
०७४ सालको निर्वाचनमा जाजरकोटमा कांग्रेस पहिलो पार्टी भएको थियो । वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेसले २० हजार चार सय ८६ मत पाएको थियो । एमालेले १७ हजार ६ सय ७१ मत र माओवादीले १३ हजार पाँच सय ७१ मत पाएको थियो।
तर, ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा एमाले सबैभन्दा बढी मत पाएर पहिलो दल बनेको थियाे । कांग्रेस दाेस्राे र माओवादीले तेस्रो मत पाएका थिए।