साइबर अपराधको जोखिममा बालबालिका

नेपालमा पनि फाट्टफुट्ट ‘चाइल्ड पोर्न’का घटना देखिएका छन् । यो गम्भीर अपराधबाट बालिकाहरू मात्र पीडित छैनन् ।

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

बालबालिकालाई नेपाली समाजबाट मात्र होइन, कानुनी रूपमा पनि संरक्षण प्राप्त छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकाले गरेको अपराधमा वयस्कलाई भन्दा कम सजाय हुन्छ । उनीहरूलाई सजायभन्दा पनि सुधारका लागि पठाइन्छ । तर, पछिल्लो समय अपराधमा बालबालिकाको संलग्नता बढ्दै जानु निकै गम्भीर विषय हो । यसले हाम्रो भावी समाजको चित्रतर्फ संकेत गर्छ । विशेषगरी साइबर अपराधमा पीडित र पीडक (अपराधी) का रूपमा बालबालिकाको संलग्नताको विषयलाई अहिलेदेखि नै पर्याप्त सम्बोधन नगरे भविष्यमा अपराधको ग्राफ निकै माथि उक्लिने निश्चित छ । 

बालबालिकाप्रति आमा र बुबा दुवैको उत्तिकै जिम्मेवारी हुन्छ । उनीहरूको हुर्काइमा दुवै अभिभावकको बराबर भूमिका हुनुपर्छ । साथै परिवारका अन्य सदस्यहरूको व्यवहार र रहनसहनले पनि बालबालिकालाई प्रभावित बनाइरहेको हुन्छ । अहिले समाजमा बुबाभन्दा आमाको जिम्मेवारीमा बालबालिका रहेका देखिन्छन् । घरका काममा व्यस्त हुँदा बालबालिकाले काममा बाधा अवरोध नगरून् भनेर पछिल्लो समय मोबाइल थमाइदिने प्रचलन बढ्दो छ । आमाबुबाको मोबाइल बालबालिकाले चलाएका हुन्छन् । साथै कतिपय परिवारमा त कमै उमेरमा पनि बालबालिकालाई छुट्टै मोबाइल दिइन्छ । 

पछिल्लो समय मोबाइल नहुने परिवार सायदै होला । वर्तमान समयमा सभ्रान्त हुन् या दैनिक ज्यालादारीमा काम गर्ने तथा न्यून आय भएका परिवार साथै सबैजसो घरका सदस्यहरूको स्मार्टफोन र इन्टरनेटमा पहुँच छ । स्मार्टफोनमा यो पहुँचको दुरुपयोग पनि बढेको छ, जुन खतरनाक र चिन्ताको विषय हो । कतिपटक त साइबर अपराध भइरहेको हुन्छ, तर अपराध भइरहेको स्वयं बच्चा र उसको अभिभावकलाई जानकारी हुँदैन । यस्तोमा प्रहरीले सम्झाइबुझाइ गरेपछि मात्र उजुरी दिन अभिभावक तयार हुन्छन् । 

अभिभावकको मुख्य जिम्मेवारी 
अहिले शिशु उमेरदेखि नै बालबालिका मोबाइलसँग परिचित हुन्छन् । आमाबुबाले चलाएको, फोटो खिचेको देखेर हुर्किएका उनीहरू कमै उमेरदेखि मोबाइलमा गेम खेल्ने, साथीभाइसँग कुराकानी गर्नेलगायत अन्य विभिन्न काममा स्मार्टफोन प्रयोग गर्छन् । अनलाइन गेमिङ मात्र होइन, पछिल्लो समय पठनपाठन पनि अनलाइनबाटै हुन्छ । पढाइकै बारेमा केही विस्तृत खोज गर्नुपरे, कुनै जानकारी चाहिए सजिलै इन्टरनेटबाट खोज्न सकिन्छ । 

बालबालिकालाई मोबाइल दिँदा उनीहरूले के हेरिरहेका छन्, के गरिरहेका छन्, कुन एप बढी चलाउँछन्, कति समय यसको प्रयोग गरेका छन् जस्ता विषयमा अभिभावकले ध्यान दिनुपर्ने हो । तर, बालबालिका मोबाइलमा भुलिँदा अभिभावकले केहीबेर नै भए पनि ‘झन्झटबाट मुक्त’ अनुभव गर्ने गरेका छन् । बालबालिका स्वभावैले चञ्चल र उत्सुक हुन्छन् । नयाँ कुरा जान्न, सिक्न उनीहरूलाई बढी रुचि हुन्छ । यही रुचिले बालबालिकालाई साइबर अपराधको भुमरीमा धकेल्न सक्ने खतरा हुँदा अभिभावकले सचेतता अपनाउनुपर्ने हुन्छ । अधिकांश आपराधिक घटनामा यो गैरकानुनी हो, साइबर अपराध हो भन्नेसमेत बालबालिकालाई थाहा भइरहेको हुँदैन । तर, नेपाल प्रहरीले प्राविधिक संयन्त्र प्रयोग गरेर निकै गोप्य कुरासमेत पत्ता लगाएको छ । बालबालिकाको हकमा प्रहरी झन् बढी संवेदनशील छ । यस सन्दर्भमा अभिभावक पनि उत्तिकै सचेत बन्नु जरुरी छ । 

नेपाल प्रहरीले ह्याकर हन्ट भन्ने अभियान चलाएको थियो । विभिन्न वेबसाइट ह्याक गरेर डाटाबेसमा पहुँच बनाउने र त्यसको दुरुपयोग गर्ने तथा त्यसबाट गैरकानुनी लाभ लिनेहरू पक्राउ परेका थिए । यसमा पक्राउ परेकामध्ये आधा दर्जनभन्दा बढी १८ वर्षमुनिका बालबालिका थिए ।
 

आमाबाबु वा अभिभावकले बच्चा जन्मिनेबित्तिकै इन्टरनेटमा एकाउन्ट बनाइदिने र बालबालिकाको जस्तोसुकै फोटो पोस्ट गरिदिने गर्छन्, त्यो पनि इन्टरनेट प्रयोगकर्ता सबैले देख्ने गरी । समाजमा सबैको नजर सकारात्मक नै हुन्छ भन्ने हुँदैन । विदेशमा ‘चाइल्ड पोर्न’ निकै गम्भीर अपराध हो । तर पनि यसलाई रोक्न त्यहाँका सुरक्षा निकायलाई निकै गाह्रो भएको छ । नेपालमा पनि फाट्टफुट्ट चाइल्ड पोर्नका घटना देखिएका छन् । यो गम्भीर अपराधबाट बालिकाहरू मात्र पीडित होलान् भन्ने सोच समाजमा छ । तर, बालकहरू पनि पीडित भएका छन् । 

बालबालिकाहरूको फेसबुक आइडी ह्याक भएको, नराम्रो कमेन्ट गर्ने गरेकोजस्ता विषय सामान्यतया आउँछन् । यसबाहेक सामाजिक सञ्जालमा जोडिएर उनीहरूलाई यौनका विषयमा सिकाउने र त्यसको फाइदा उठाउनेहरू पनि छन् । त्यसैले बालबालिकाको नाममा इन्टरनेटमा खाता खोलिदिएर मात्र हुन्न, के गर्छन्, कोसँग संवाद गर्छन् जस्ता विषय पनि अभिभावकले हेर्नुपर्ने हो । अभिभावक बालबालिकासँग पारदर्शी हुनुपर्छ । उनीहरूले मोबाइल लुकाए बच्चाले पनि लुकाएर चलाउँछन् । उनीहरूले जे विषय हेर्छन्, बालबालिकाले पनि त्यो हेर्न खोज्छन् । बच्चाले के चलाउन हुने के नहुने अभिभावकले नै सिकाउनुपर्छ ।

गोपनीयता र सुरक्षाका विषय पनि उनीहरूलाई बताउनुपर्छ । अहिले सामाजिक सञ्जालमा खाता खोल्न उमेर वा जन्ममिति राख्नुपर्छ । तर, अभिभावक स्वयंले गलत उमेर हालेर खाता खोलिदिन्छन् । यो आफैँमा समस्याको सुरुवात हो । ढाँट्ने सुरुवात यहीँबाट भएको छ । उमेरकै आधारमा सम्बन्धित साइटले विषयवस्तुहरू ‘फिड’मा पठाउँछ, त्यसै उमेरको व्यक्तिका आधारमा उसले व्यवहार गर्छ । इन्टरनेट सेवा प्रदायकले साइट ब्लक गर्न मिल्ने, डिभाइसहरूमा सीमित साइट चल्न मिल्नेलगायत सुविधा अविभावकलाई दिएको हुन्छ । तर, अभिभावकहरू यस्ता सेटिङको मतलब गर्दैनन् । जब बच्चा अपराधमा जोडिन्छ अनि बल्ल अभिभावकले इन्टरनेटबाट आफ्ना सन्तानले गरेको अपराध वा बच्चामाथि भएको अपराध थाहा पाउने गरेको देखिन्छ । 

साइबर शिक्षा र सचेतनाको खाँचो 
साइबर अपराधमा संलग्न र अपराधको सिकार भएका दुवैखाले बालबालिकाको संख्या पछिल्लो समय बढ्दै गएको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै र मोबाइल, ल्यापटपजस्ता डिभाइसमाथिको पहुँच बढ्दै जाँदा यसलाई सामान्य मान्न सकिए पनि साइबर संसारबारे बालबालिकालाई शिक्षा दिन अत्यन्त जरुरी छ । 
अभिभावकलाई समेत जानकारी नभएको यो विषयमा बालबालिकालाई जानकारी हुने झन् कुरै भएन । उनीहरूले गर्ने गरेको गैरकानुनी कुराहरू सहपाठी र अन्य माध्यमबाट सिक्ने गरेको भेटिएको छ । तर, त्यो ज्ञानको सदुपयोग नगरी दुरुपयोग गर्दा उनीहरूको नाम अपराधमा जोडिन्छ । यसमा १५ देखि १८ वर्षसम्मका बालबालिका बढी देखिन्छन् । 

नेपाल प्रहरीले ह्याकर हन्ट भन्ने अभियान चलाएको थियो । विभिन्न वेबसाइट ह्याक गरेर डाटाबेसमा पहुँच बनाउने र त्यसको दुरुपयोग गर्ने तथा त्यसबाट गैरकानुनी लाभ लिनेहरू पक्राउ परेका थिए । यसमा पक्राउ परेकामध्ये आधा दर्जनभन्दा बढी १८ वर्षमुनिका बालबालिका थिए । उनीहरूमध्ये केहीलाई मुद्दा पनि चलाइयो । 

हाम्रा विद्यालयले पनि साइबर सुरक्षाको कुरा सिकाउँदैनन् । तर, अब साइबर अवेयरनेस (सचेतना) सिकाइनुपर्छ । बच्चाहरूले स्क्रिन टाइम कति दिने, कसरी साइबर अपराधबाट सुरक्षित रहने, के–के साइबर अपराध हुन् जस्ता आधारभूत कुरा उनीहरू किशोरावस्थामा प्रवेश गरेसँगै विद्यालयले सिकाउनुपर्छ । 
साइबर अपराधको विषय नेपाल प्रहरीको हो । तर, साइबर सुरक्षाको विषय व्यक्ति आफैँले जाने सुरक्षित समाज बन्छ र अपराध घट्छन् ।

(राय नेपाल प्रहरीका एसपी हुन्) 

सुझावित समाचार