जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार एथलेटिक्स चार सय मिटर दौडमा पुरुष र महिलामा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखरा रंगशालामा भएको महिलातर्फको खेलमा एपिएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा निर्धारितत दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि सन् २०१९ मा चीनमा सम्पन्न खेलमा ५९.५७ सेकेन्डमा तुलसा खत्रीले बनाएको रेकर्ड रमिताकुमारीले तोडेकी हुन् ।
आर्मीकी निर्मला थापाले एक मिनेट ०.१४ सेकेन्डमा दूरी पार गर्दै रजत र एपिएफकी कल्पना श्रेष्ठले एक मिनेट ०.७० सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पारे ।
३२ वर्षअघिको रेकर्ड तोडियो
यसैगरी पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा दूरी पार गर्दै ३२ वर्षअघिको रेकर्ड तोडेका छन् । सन् १९९० मा चीनमा सम्पन्न खेलमा आशाराम चौधरीले बनाएको ४८.३२ सेकेन्डकोे रेकर्ड सोमबहादुरले ३२ वर्षपछि तोडेका हुन् । ४९.४० सेकेन्डमा दूरी पार गर्दै एपिएफका आशिष चौधरीले रजत र ४९.९० सेकेन्डमा दूरी पूरा गर्दै आर्मीका प्रकाश दनुवार कांस्य पदक हात पार्न सफल भए ।