बिमा क्षेत्र विस्तारका आयाम

ढिलै भए पनि नयाँ बिमा ऐन आएको छ, यसले बिमा क्षेत्रलाई थप व्यवस्थित बनाउँछ

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नयाँ बिमा ऐन जारी हुन ढिलाइ भए पनि अन्ततः यसले पूर्णता पाएको छ । नयाँ ऐनले नेपालको बिमा क्षेत्रलाई थप व्यवस्थित बनाउने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । नयाँ ऐनमा भएका प्रत्येक बुँदा केलाउने हो भने यसका धेरै आयाम निस्कन सक्छन् । समग्रमा नयाँ बिमा ऐनले बिमा समितिलाई स्वायत्तता प्रदान गर्छ । अहिले बिमा समिति अर्थ मन्त्रालयको एउटा अंगको रूपमा रहँदै आएको छ । हरेक निर्णयका लागि मन्त्रालयमा नै भर पर्नुपर्ने अवस्था छ । जसका कारण समितिले गर्ने कतिपय काममा ढिलाइ हुने देखिन्छ । तर, नयाँ ऐनले समितिलाई स्वतन्त्रता प्रदान गर्नेछ । फलस्वरूप समितिले गर्ने काम र तौरतरिकामा केही फरकपन देखिनेछ । 

यति मात्रै होइन, नयाँ ऐनले समितिलाई मात्रै नभएर बिमा कम्पनीलाई पनि थप उत्तरदायी र जिम्मेवार त बनाउँछ नै, ऐनमा गरिएको जरिवाना र सजायको व्यवस्थाले पनि कम्पनीलाई सजग बनाउने हाम्रो विश्वास छ । उक्त ऐनले बिमा क्षेत्रलाई विस्तार गर्न लघुबिमा कम्पनी सञ्चालन गर्न सक्ने, ब्रोकर, मध्यस्थतालगायतका विभिन्न व्यवस्था गरेको छ । सोही व्यवस्था भोलिका दिनमा नेपालमा बिमा क्षेत्रको विस्तारमा सहयोगी बन्ने अपेक्षा छ । यस्तै, बिमितको सुरक्षा र हितको व्यवस्था ऐनमा गर्नाका साथै नियतवश ठग्न खोज्ने बिमितलाई सजायको व्यवस्थासमेत गरेको छ । यसले गर्दा बिमा क्षेत्र थप पारदर्शी बन्नेछ । 

विकासका लागि छुट्टै लघुबिमा कम्पनी 
अहिले सञ्चालनमा रहेका बिमा कम्पनी व्यावसायिक हुन् । उनीहरूको पहिलो लक्ष्य भनेकै नाफा आर्जन गर्नु हो । नाफा नै मूल मन्त्र भएका कारण सबैजसो कम्पनी सहरी क्षेत्रमा केन्द्रित छन् । कारण, यस्ता क्षेत्रमा काम गर्दा सहजै नाफा आर्जन सकिन्छ । तर, जोखिमको कुरा गर्दा यो समस्या सहरी क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा उत्तिकै छ । 

त्यसो त सामान्य व्यक्तिका लागि पनि जोखिम उत्तिकै हुन्छ । तर, सामान्य व्यक्तिले गर्ने बिमांक रकम न्यून हुन्छ भने ग्रामीण क्षेत्रका सम्पत्तिको मूल्य पनि कम नै हुन्छ । साथै, ग्रामीण क्षेत्रमा जाँदा सञ्चालन खर्च पनि बढी हुन्छ । जसले गर्दा कम्पनीलाई नाफा कम हुन्छ । यसकारण व्यावसायिक कम्पनी लघुबिमाका लागि त्यति आकर्षित छैनन् । 

बिमा समितिले कम्पनीको चुक्ता पुँजी बढाएर मर्जरमा जाऊ भन्नुभन्दा पुँजीको आधारमा व्यवसाय गर्नुपर्ने व्यवस्था गर्नुपथ्र्याे । यसो गर्दा कम्पनीहरू पुँजी बढाउन आफैँ बाध्य हुने थिए ।

हुन त बिमा समितिले कम्पनीहरूलाई लघुबिमा अनिवार्य गरेको थियो । सरकारले सबै कम्पनीलाई कुल कारोबारको १० प्रतिशत अनिवार्य रूपमा लघुबिमा गर्न भनेको थियो । तर, उनीहरूले सरकारले तोकेको सीमा पुर्याउन अझै पनि सकेका छैनन् । त्यसैले समितिले छुट्टै कम्पनी नै खोलेर सामान्य व्यक्ति र ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु¥याउन खोजेको देखिन्छ । यसलाई अन्य कम्पनीले प्रतिस्पर्धाको रूपमा लिन मिल्दैन र लिन पनि सक्दैनन् । कम्पनीले कि त आफूले गएर त्यो क्षेत्रको बिमा लिन सक्नुपर्छ, होइन भने विषयगत रूपमा खोलिएका कम्पनीलाई सहयोग गर्नुपर्छ । 

बिमा समितिले मर्जरको विकल्प खोज्नुपथ्र्यो 
बिमा समितिले कम्पनीको अवस्था कमजोर भयो भनेर मर्जरको प्रस्ताव ल्यायो । समितिले प्रत्यक्ष रूपमा यसलाई फोर्स मर्जर नभने पनि अप्रत्यक्ष रूपमा कम्पनीहरूका लागि यो फोर्स मर्जर नै भयो । समितिले जबर्जस्ती पुँजी बढाएर कम्पनीलाई मर्जरमा जान दबाब सिर्जना गरेको छ । झट्ट हेर्दा र सुन्दा त ठिकै लाग्छ । मर्जरपछि कम्पनी बलियो बन्छन्, जोखिम वहन गर्न सक्छन् । तर, मर्जर आफैँमा कठिन प्रक्रिया हो ।

मर्जर भनेको कम्पनीको सञ्चालक, व्यवस्थापक र व्यवसाय मात्रै हैन, कर्मचारीको मिलान पनि हो, जुन सकसपूर्ण काम पनि हो । फरक–फरक कम्पनीको आ–आफ्नै कल्चर हुन्छ । काम गर्ने तौरतरिका फरक हुन्छ । ती कर्मचारीलाई एकै ठाउँमा ल्याएर एक–आपसमा घुलमिल गराएर काम गर्न लगाउनु आफैँमा चुनौतीपूर्ण काम हो । 

अतः बिमा समितिले कम्पनीको चुक्ता पुँजी बढाएर मर्जरमा जाऊ भन्नुभन्दा पुँजीका आधारमा व्यवसाय गर्नुपर्ने व्यवस्था गर्नुपथ्र्याे । यसो गर्दा कम्पनी पुँजी बढाउन आफैँ बाध्य हुने थिए । बाँकी सक्दैनसक्ने कम्पनी मात्रै मर्जरमा जाने थिए । ३९ वटा कम्पनीमा अहिलेसम्म १९ कम्पनीले मात्रै मर्जरको सम्झौता गरेका छन् भने बाँकी कम्पनी अझै पनि मौन छन् । जबकि, उनीहरूसँग पुँजी बढाउन सक्ने क्षमता पनि छैन । 

कोरोना बिमा भुक्तानीमा सरकारको विकल्प छैन 
कोरोना बिमा दाबी भुक्तानीमा नेपाल सरकारको कुनै विकल्प छैन । कोरोना बिमा पोलिसी मापदण्डअनुसार बिमा कम्पनीले आफ्नो हिस्साको दाबी रकम भुक्तानी गरिसकेका छन् । अब बाँकी रहेको करिब साढे १० अर्बको दायित्व सरकारको नै हो । यो रकम सरकारले नै भुक्तानी गर्नुपर्छ । यसको अन्य विकल्प छैन । अर्थ मन्त्रालयले हालै कोरोना दाबी भुक्तानीका लागि भनेर एक अर्ब छुट्याएको छ । तर, यो रकम धेरै न्यून हो । साढे १० अर्ब दाबीमा एक अर्बले कुनै पनि समस्या समाधान हुन सक्दैन । तर पनि यसमा सरकारले आफ्नो जिम्मेवारी महसुस गरेको भने देखिन्छ । त्यसलाई पनि हामीले सुरुवातको रूपमा लिएका छाैँ । 

बिमा कम्पनीमा परेको कुल कोरोना बिमाको दाबीमा राष्ट्रिय बिमा कम्पनीको हिस्सा ३७ प्रतिशत छ । कम्पनीले निजामती कर्मचारी, प्रहरी र आर्मीलगायत संस्थानका कर्मचारीको पनि बिमा गरेको छ । कम्पनीको हिस्साअनुसार सरकारले विनियोजन गरेको रकममध्ये राष्ट्रिय बिमा कम्पनीले ३७ करोड पाउनुपर्ने हाम्रो दाबी हो । तर, अहिले अर्थ मन्त्रालयले कम्पनीलाई सो रकम नदिने भन्ने कुरा सुनिएको छ । 

कोरोना बिमाको डिजाइन नै त्यतिवेला गलत थियो । विश्वमा कहीँ पनि यस्तो खालको बिमा हुँदैन । बिमाको सिद्धान्तअनुसार बिमा क्षतिपूर्ति हो, नाफा होइन । तर, त्यतिवेला बिमाको सिद्धान्तविपरीत गएर नै कोरोना बिमा सञ्चालन गरियो । परिणामस्वरूप अहिले धेरै मानिसले कोरोना दाबीको भुक्तानी पाएका छैनन् । कोरोना बिमाले बिमा क्षेत्रलाई ब्याक फायर गरेको छ । यस्तै, धेरै मानिसले बिमा कम्पनीले भुक्तानी दिँदैन भन्ने छाप थियो । त्यो झनै बलियो बनेर गएको छ । 

बिमा क्षेत्रले प्रविधिको अधिकतम प्रयोग गर्न सकेन 
नेपालको बिमा क्षेत्रमा अझै पनि प्रविधिको अधिकतम प्रयोग हुन सकेको छैन । काम गर्ने प्रक्रिया अझै पनि पराम्परागत नै छ । यसमा कम्पनीहरूले खासै परिवर्तन ल्याउन सकेका छैनन् । राष्ट्रिय बिमा कम्पनीमा कर्मचारीले आफ्नो स्वविवेकले कुनै काम गर्न पाउँदैन । त्यसैले सरकारी लगानीमा खोलिएका कम्पनीमा परिवर्तन आउन नसक्नु स्वाभाविक हो । तर, निजी क्षेत्रबाट खोलिएका कम्पनीले पनि यसमा चासो देखाएका छैनन् । अझै पनि सवारीसाधन बिमा र बैंकहरूको कर्जाको मात्रै बिमा गर्ने प्रचलन छ । त्योभन्दा बाहिर कम्पनी जान सकेका छैनन् । 

राष्ट्रिय बिमा कम्पनीको हकमा सबै योजना सरकारबाट नै पारित भएर आउनुपर्छ । त्यसैले पनि काम गर्ने प्रक्रिया आफैँमा ढिलाइ हुन्छ । यस कम्पनीमा आउने सबै कर्मचारी लोकसेवा पास गरेर आउँछन् । सबै उत्तिकै क्षमतावान् छन् । तर, बिमाको कल्चरमा ल्याउन केही अभ्यास गर्नैपर्छ । यहाँ ७० प्रतिशत काम भनेको कर्मचारी व्यवस्थापनमा नै जान्छ । ३० प्रतिशत काम भनेको दाबी भुक्तानी व्यवस्थापनमा नै जान्छ । 

अहिले हामी कम्पनीको धेरै वर्षदेखि रोकिएको साधारणसभा गर्ने प्रयासमा जुटेका छाैँ । बिमा समितिले पारित गरेको सात वर्षको वित्तीय विवरणलाई साधारणसभामा लैजाने प्रयासमा छौँ । धेरै पुराना हिसाबकिताब पूरा गर्नुपर्ने छ, तर रेकर्ड छैन । रेकर्ड नहुँदा काम गर्न कठिनाइ भइरहेको छ । यद्यपि, हामी चुप लागेर बसेका भने छैनाैँ । बिमा समिति, अर्थ मन्त्रालय वा महालेखापरीक्षकको कार्यालयसँग सहयोग मागेर भए पनि हामी समस्या समाधान गर्नेतिर लागेका छौँ । 

सुझावित समाचार