मेरा बाबा गाउँमा जिम्वाल हुनुहुन्थ्यो । त्यसैले घरमा मानिसहरूको आवातजावत बाक्लो हुन्थ्यो । मानिसको आवतजावत बाक्लो हुने भएकाले मेरो आँगनको कुनामा गाइने दाइहरू सारंगी बजाउन आउनुहुन्थ्यो । त्यसवेला म चाख मानेर सुनिरहन्थेँ । मलाई सारंगीको धुनले छुन्थ्यो, धुनसँग मन डुब्थ्यो । त्यसपछि मलाई सारंगीले आकर्षित गर्दै लग्यो । म पाँच वर्षको उमेरदेखि नै नाच्ने/गाउने गर्न थालेँ ।
अझै पनि सारंगी नबजाई बस्न सक्दिनँ । जीवनभर हार्माेनियम, सारंगी र मादल बजाइरहन्छु । म सारंगीबादक होइन । तर, सारंगीलाई नजिकबाट बुझेको संगीतकर्मी हुँ । विदेशका कार्यक्रमहरूमा सारंगी बजाउँछु, गाउँछु । मेरो घरको कोठामा सारंगी र मादल झुन्डिएका हुन्छन् । त्यसले म ‘नोस्टाल्जिक’ हुन्छु । सारंगीले मलाई विगततिर फर्काउँछ । सारंगीले रोदी गाएको, झ्याउरे गाएको र मेलापात जाँदा गाएको दिनहरू मलाई याद दिलाउँछ ।
म संगीतले भोकाएको मान्छे भएकाले गीत–संगीतको समुद्रमा डुब्न मन लाग्छ । मेरो मुख्य ध्येय नेपाली गीत–संगीतको प्रवद्र्धन नै हो । जहाँ बसे पनि म संगीतको साधना गरिरहन्छु । विदेशमा लोकगीतको प्रवद्र्धन गरिरहँदा कतिपयले गाउँतिर बस्नु नि पनि भन्छन् । तर, त्यो गलत बुझाइ हो । सारंगीलाई गाउँमा मात्रै सीमित राख्नुहुँदैन । यसको धुनलाई हामीले विश्वभर फैलाउनुपर्छ ।