कता लम्कँदै छ चीन ?

चिनियाँ कम्युनिस्ट पार्टीले विचार र कार्यक्रमप्रति प्रतिबद्ध बलियो नेतृत्वको आवश्यकता ठान्यो भने सीकै नेतृत्वलाई महाधिवेशनले दोहोर्‍याउन सक्छ

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन चलिरहेको छ । सत्तारूढ चिनियाँ पार्टीको यो महाधिवेशन धेरै चर्चामा छ, जसरी सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन (१४–२५, फेब्रुअरी, १९५६) पनि चर्चित बनेको थियो । यद्यपि, यी दुवै महाधिवेशनको परिवेश तात्कालिक र हालको परिवेश भिन्न छ । सोभियत कम्युनिस्ट पार्टीको त्यो महाधिवेशन सोभियत संघ विघटनको (सन् १९९१) सैद्धान्तिक वैचारिक बीजारोपण त्यही पार्टी कांग्रेसमा रोपिएको मानिन्छ । अहिले हुँदै गरेको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन यसकारण बढी चर्चामा छ कि चिनियाँ‘ चरित्रको समाजवाद’ अब पनि अर्बपतिहरू उत्पादन गर्ने पुँजीवाद भइरहने कि वास्तविक समाजवादतर्फ फड्को मार्दै जाने भन्ने आन्तरिक रस्साकस्सीबीच सम्पन्न हुँदै छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको यो महाधिवेशन त्यसकारण मात्रै चर्चित छैन कि महासचिव सी जिनपिङ तेस्रो कार्यकालका लागि महासचिव हुँदै छन् । यो महाधिवेशन सम्पन्न हुँदै गर्दा दोस्रो शीतयुद्ध देखापरिरहेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । अमेरिकालगायत पश्चिमा मुलुक युक्रेनलाई काँधमा बोकेर शिखण्डी युद्ध चलाइरहेका छन् । विश्वका मुलुकहरू पक्ष र विपक्षमा धु्रवीकरण भइरहेका छन् । तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने त्रास व्यापक रूपमा फैलिइरहेको छ ।

अझै पनि कोभिड महामारीको विस्तार रोकिएको छैन । रुसमाथिको आर्थिक प्रतिबन्ध र युद्धकै बीचमा विश्वव्यापी मन्दी विस्तार हुने आशंका फैलिइरहेको छ । धेरै मुलुकले मुद्रास्फीतिको मार खेपिरहेका छन् र आर्थिक वृद्धिदर कमजोर बन्दै गइरहेको छ । चीनको अभिन्न अंग भनेर मान्यता दिँदै आइएको ताइवानलाई अमेरिका हातहतियारले सुसज्जित बनाउने र चीनविरुद्ध युद्ध लडाउने तयारीमा देखिन्छ । दक्षिण चीन सागरमा चिनियाँ गतिविधि बढ्यो भनेर त्यसमाथि अंकुश लगाउन इन्डो–प्यासिफिक,क्वाड्रिलेटरल, अकुसजस्ता चीनविरोधी आर्थिक तथा सैन्य गठबन्धन तयार भइरहेका छन् । यस्तो गम्भीर बाह्य र आन्तरिक परिस्थितिमा राजनीतिक तथा आर्थिक रूपमा महाशक्ति बन्दै गएको चीनले गर्ने निर्णयले संसारभर प्रभाव पार्ने भएकाले यो महाधिवेशन चर्चामा हुनु नौलो होइन । 


बितेको दशकबारे चिनियाँ मूल्यांकन ः कम्युनिस्ट पार्टीको सत्ता सुरु भएपछि चीनले मूल रूपमा दुईवटा आर्थिक तथा सामाजिक रणनीति अख्तियार गरिसकेकोछ । पहिलो, सन् १९५१ देखि २०७६ सम्मको जनवादी अभ्यास । दोस्रो, सन् १९८० देखि २०१७ सम्मको सुधारको अभ्यास । अब तेस्रो पारी सुरुभएको छ । सन् २०२१ देखि २०५० को अवधिसम्म गरिने अभ्यासको थालनी यही महाधिवेशनमै पारित गरिँदै छ । बितेको यो एक दशकमा चीनले पृथक् अभ्याससुरु गरेकै थियो । खासगरी, २००८÷०९ को आर्थिक मन्दीपछि आर्थिक तथा कार्यक्रमिक रणनीति परिवर्तन गरेको थियो । सन् २०२० सम्म आइपुग्दा असाध्य गरिबीबाट चीनमुक्त भयोे । यही दशकभित्र आमरूपमा विस्तार हुँदै गएको भ्रष्टाचार निर्मूल पार्ने अभियान विस्तार भयो । आममानिसले आफ्नो जीवनवृत्तिमा सहजता र सामाजिक न्याय पाउँदै गरेको महसुस गरेका छन् । राष्ट्रको कुल जिडिपी १०० अर्ब रेमेम्बी नाघेको छ । आर्थिक हिसाबले सन्तुलित, संयोजनकारी र दिगो देखिएको छ ।

सामान्य आँखाले हेर्दा पनि बितेको दशक चुनौतीपूर्ण रह्यो । कतिपय राष्ट्र राजनीतिक र आर्थिक रूपले संकटग्रस्त बने । कोरोना महामारी र आर्थिक प्रतिबन्धले अहिले धेरै मुलुक चरम आर्थिक संकटको डिलमा छन् । स्वयं धनाढ्य मुलुक अमेरिकामा समेत राजनीतिक अस्थिरता र दलीय अन्तर्विरोध तीव्र बनेको देखियो । युरेपेली युनियनबाट बाहिरिएको बेलायत अहिले गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ (प्याट्रिसिया कोहेन, अक्टोबर १४, २०२२, ‘इन युके फलआउट, लेसन्स फर अ वल्र्ड फेसिङ हार्स इकोनोमिक रियालिटिज’ न्युयोर्क टाइम्स) । समग्र युरोप युद्ध र इन्धन संकटका कारण बढ्दो मुद्रास्फीतिसँग जुझिरहेको छ । यस्तो समस्याग्रस्त विश्वमा चीनको दिगो आर्थिक विकास तथा सामाज रूपान्तरण हेर्दा उसले अपनाएको राज्य पुँजीवादकोे रणनीति सफल देखिन्छ । यद्यपि, चीन धेरै चुनौतीमाझ उभिएको छ । यसको दिगो र भरपर्दो आर्थिक र सामाजिक विकासलाई नरुचाउने शक्तिहरू चीनलाई अप्ठ्यारोतर्फ धकेल्न उद्यतदेखिन्छन्(अक्टोबर १५,२०२२ मा ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीय) ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन चिनियाँ ‘चरित्रको समाजवाद’ अब पनि अर्बपतिहरू उत्पादन गर्ने पुँजीवाद भइरहने कि वास्तविक समाजवादतर्फ फड्को मार्दै जाने भन्ने आन्तरिक रस्साकस्सीबीच सम्पन्न हुँदै छ
 

वर्तमान विश्व व्यवस्थामा चिनियाँ संस्थापन आफ्नो मुलुक राजनीतिमा ‘स्थायित्व’लाई विकास र राजनीतिको तादात्म्य मिलाउने तत्वका रूपमा चित्रण गर्ने गर्छन् ।कुनै पनि मुलुकको विकास राजनीतिक स्थायित्व हुँदा मात्र सम्भव हुन्छ भन्ने उदाहरणले देखाएका छन् । चिनियाँहरू विकासको हालको अभिवृद्धि कम्युनिस्ट पार्टीले स्थापित गरेको राजनीतिक स्थायित्वले हो भन्नेमा गर्व गर्छन् । उनीहरूको राजनीतिलाई पश्चिमाले बुझ्नै नचाहेको ठान्छन् । चिनियाँ दाबीअनुसार नौ करोड ६० लाख सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीका ४९ लाख सदस्य भुइँ संगठन (ग्रासरुट अर्गनाइजेसन) मात्र आबद्ध छन् । चिनियाँ जनतासँग पार्टी गहिरो सम्बन्ध बनाएर खडा भएको छ ।

आमजनतामा कम्युनिस्ट पार्टीप्रति अटुट विश्वास छ र यो कम्युनिस्ट डेमोक्रेसी हो जो देखावटी मात्र हुने गर्दैन (उही) । दक्षिण एसियाका बहुसंख्यक बुद्धिजीवी राष्ट्रपति सी जिनपिङका केही कामलाई रहस्यपूर्णझैँ ठान्छन् । सामाजिक जीवनमा उनी दागरहित देखिन्छन् । भ्रष्टाचारलाई जरैदेखि निखारे । कोभिडबाट आममानिसलाई बचाए तथा बन्द–व्यापार र उद्योगधन्दालाई मर्न दिएनन् । धेरै चिनियाँ ठान्छन्, माओले देशलाई एकीकृत तुल्याए, देङले समृद्धि दिए, र सीले यो समृद्धिलाई आफ्नो उम्दा विदेश नीतिमार्फत चारचाँद लगाउनेछन् । उनले आधुनिक चीनलाई विदेशी शक्तिको मुख्र्याइँपूर्ण आक्रमणबाट जोगाउनेछन्(सुनन्दा के दत्त रे, (अक्टोबर १५, २०२२, चाइना इम्प्रिन्ट, दी टेलिग्राफ इन्डिया) ।

चिनियाँ नीति र नेतृत्ववारे पश्चिमा मूल्यांकन : पश्चिमा उदार प्रजातन्त्रवादीका विचार तथा विश्लेषण केलाउँदा चीन र वर्तमान नेतृत्वमाथि उनीहरूको कहीँ–कतै आदरभाव देखिँदैन । न्युयोर्क टाइम्सका स्तम्भकार पिटर कोय लेख्छन्, “चिनियाँ २०औँ कांग्रेसले महासचिवका रूपमा सीलाईनै तेस्रो पाँचवर्षे कार्यकालका लागि दोहोर्याउने हो । उनी नै पिपुल्स रिपब्लिक अफ चाइनाका राष्ट्रपति, सेन्ट्रल मिलेटरी कमिसनको चेयरमेन हुने हुन् । गम्भीरतापूर्वक किन लिइएको हो भने उनी माओ त्से तुङकै दोस्रो अवतारका रूपमा (सन् १९४९ देखि १९७६) आजन्म शासनसत्तामा छाउनेछन् (सी जिनपिङ इज द सेकन्ड कमिङ अफ माओ त्से तुङ, न्युयोर्क टाइम्स अक्टोबर ७, २०२२)।” यो भनाइमा चीनमा पनि एउटा राजनीतिक व्यवस्था छ त्यसका पनि विधि र प्रक्रिया होलान् भन्ने ख्याल गरेको देखिँदैन ।

सिएनएनसँग आबद्ध राजनीतिकशास्त्री फरिद जाकारियाका विचारमा “देङले सन् १९७० को अन्त्यदेखि १९९० को अन्त्यसम्म जुनसुधार ल्याएका थिए, जसरी २५ गुणाले आर्थिक वृद्धि गराई चीनलाई नयाँ समृद्ध समाजमा रूपान्तरण गरेका थिए, त्यो सीको अहंकार र चरम महत्वाकांक्षाका कारण गुम्दै छ । तेस्रो क्रान्तिका नाममा सीले घरमा ठूलो दमन मच्चाउनेछन्, स्वतन्त्र बजारलाई संकुचित तुल्याउनेछन्, कम्युनिस्ट विचारधारा लाद्नेछन् र विदेश नीतिमा पनि उनले कठोरता भित्र्याउने आशंका गरिन्छ ।” के चिनियाँहरू मुलुक कसरी अगाडि बढिरहेछ, नेताहरू कति तानाशाही चरित्रका छन् भन्ने पनि लख काट्न सक्दैनन् त ?

त्यही भएर किंग्स कलेज, लन्डनका प्रोफेसर केरी ब्राउन लेख्छन्, “पश्चिमाहरू सी भयंकर व्यक्तिवादी, भयंकर तानाशाह, एक व्यक्तिले मात्र शासनसत्ता हाँक्नेका रूपमा चित्रित गरिएको ठान्छन् । यद्यपि, उनले जसरी चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीलाई विश्वासमा लिएर तेस्रो कार्यकाल हातमा लिँदै छन्, यो अप्रत्याशित थिएन । पश्चिमाले के ठान्ने गरेका छन् भने चीन धेरै जटिल परिस्थितिमा जकडिएको मुलुक हो ।

समाजको तल्लो तहसम्म पुँजीवादले जरा गाडिसकेको मुलुक हो, त्यसैले, यस्तो जटिल समाजले बहुलता खोज्छ । स्वाभाविक रूपमा सामाजिक सञ्चारमाद्यम, जागृत मध्यम वर्ग र आधुनिकताका पक्षधरहरूले यस्तो बहुलवादको संघर्षको अगुवाइ गर्ने हुन् । तर, राष्ट्रपति सीले यसको ठीक उल्टो बाटामा चिनियाँलाई हिँडाए र चीनलाई मात्र होइन, अरू बाह्य क्षेत्रमा पनि प्रभाव पार्न खोजिरहेका छन् । तर, रक्तपात नचर्काई यस्तो कसरी हुनपुग्यो?” (सी जिनपिङ इज अ क्याप्टिभ अफ दी कम्युनिस्ट पार्टी टु, अक्टोबर १०, २०२२ न्युयोर्क टाइम्स) यो प्रश्नले सी जिनपिङको पश्चिमा जगतमा धुवाँधार विरोध किन गरिँदैछ भन्ने बुझ्न सघाउँछ ।

पश्चिमा उदारवादीलाई कम्युनिस्ट पार्टी ‘ब्रान्ड नेम’ हुँदासम्म ठीकै थियो । तर, सामूहिक रूपमा आममानिस धनी बन्ने र बनाउने कार्यक्रम (पुस फर कमन प्रोस्परिटी) पाच्य भएन । पश्चिमा उद्योगी–व्यापारीसँग ज्वाइन्ट भेन्चरमा खोलिएका कम्पनीले उत्पादन गरेका सामग्री अन्य मुलुकमा बेच्ने र नाफा आर्जन गर्ने ‘एक्सपोर्ट लेड ग्रोथ’हुन्जेल ठीक थियो, तर आफ्नो मुलुकभित्रै ठूलो लगानी गरेर जनतामा रोजगारी र उपभोग क्षमता अभिवृद्धि गर्नेे कार्यक्रम ठीक लाग्दैन । त्यसैगरी, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषलगायत विश्व संस्थाको न्यायिक तथा सहभागितामूलक पुनर्संरचना गरिनुपर्छ भन्ने माग जायज लाग्दैन । व्रिक्सजस्ता अन्तर्राष्ट्रिय गठबन्धन ठीक लाग्दैन । किनकि, यस्ता कार्यक्रमले उदारवादी पुँजीवादलाई धन थुपार्ने व्यापक ठाउँ हुँदैन ।

हुँदाहुँदा चीनले लिएको जिरो–कोभिड नीति पनि पश्चिमाले पचाउन सकेनन् । कोभिडका कारण अमेरिकामा १० लाख ६५ हजार पाँच सय ६९ जना मारिए । ब्राजिलमा ६ लाख ८२ हजार पाँचसय ६९, भारतमा पाँच लाख २७ हजार तीन सय ६८ । रुसमा तीन लाख ८३ हजार पाँचसय ६० को ज्यान गयो । तर, चीनमा भने आजसम्म पाँच हजार दुई सय २६ मात्र हताहत भए(वल्र्ड ओ मिटर अक्टोबर १५, २०२२) । जिरो कोभिड–नीति लिएर क्वारेन्टिनमा राख्ने, अनिवार्य मास्क लगाउने र दूरी व्यवस्थित रूपमा कायम गर्र्ने नियमलाई पश्चिमाले उद्यम र व्यापारलाई हतोत्साही गर्योभन्ने ठानेर विरोधमा प्रचार गरिरहेका छन् (राना मित्तर, ‘ह्वेर इज सी’ज चाइना हेडिङ’ अक्टोबर १४, २०२२, प्रोजेक्ट सिन्डिकेट) ।

सामूहिक समृद्धि : सन् २०२१ मा चिनियाँ सरकारले ‘सामूहिक समृद्धि’को कार्यक्रम अघि सार्यो । तर, यसलाई पश्चिमा सर्कलमा ‘मिति गुज्रेको औषधि’ ठानेर आलोचना गरियो । सन् १९५० को दशकमा सम्पत्तिको राष्ट्रियकरण गरेको विषयलाई लिएर यो खिसिट्युरी गरिएको हुन सक्छ । तर, चिनियाँ नेतृत्वले समृद्धिलाई फराकिलो ढंगले बुझेको देखिन्छ ।

 समानता र समृद्धि वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक मिसन थियो । पश्चिमा बुद्धिजीवीले देङको पहिला धनी हुने (गेट फस्र्ट रिच) विषय समातेर सीको आलोचना गर्छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीका अहिलेसम्म पारित गरिएका महाधिवेशनका प्रतिवेदनमा सामूहिक समृद्धि र समाजवाद शब्द कहिल्यै छुटेका थिएनन् । बरु त्यसलाई ‘चिनियाँ चरित्र’को भन्ने गरिन्थ्योे । यी चार दशकमा धेरै चिनियाँ डलर अर्बपति बने । आयमा असमानता बढ्यो । जनता र पार्टी दुवै दुःखी हुँदै गए । धनी हुने कामसँगै पछिपरेका जनतालाई समृद्धिमा तान्ने परियोजना सीको नेतृत्वमा पार्टीले अगाडि सारेको देखिन्छ ।समाजमा उत्पन्न हुने असन्तुष्टिको मुहान आयआर्जनको असमानता हो । यस्तो असमानताले असन्तुष्टि र त्यसपछि व्यवस्थाविरुद्ध जनविद्रोह जन्माउँछ । ऐतिहासिक रूपमा समानताको नारा लगाएर क्रान्ति सम्पन्न गरेको चीनलाई यति बुझ्न अरूले परामर्श दिइरहनुपर्छ र ?

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन चिनियाँ ‘चरित्रको समाजवाद’ अब पनि अर्बपतिहरू उत्पादन गर्ने पुँजीवाद भइरहने कि वास्तविक समाजवादतर्फ फड्को मार्दै जाने भन्ने आन्तरिक रस्साकस्सीबीच सम्पन्न हुँदै छ
 

(१) पार्टी स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आन्दोलन उठाउन गरिएको प्रतिबद्धताअनुसार मुलुकको अबको यात्रा आधुनिक समाजवाद निर्माणको यात्राका रूपमा अगाडि बढाइनेछ ।

(२) नयाँ युगमा समाजवादको विकास चिनियाँ चरित्रकै रूपमा अगाडि बढाइनेछ ।

(३) चीनको आमजनताको चेतना अभिवृद्धिसँगै राजनीतिक इमानदारी र अखण्डतालाई ध्यानमा राख्दै पार्टीको कोर लिडरसिप तथा पार्टीकेन्द्रसँग अविच्छिन्न सहकार्यलाई अगाडि बढाइनेछ ।

(४) चिनियाँ चरित्रसहितको समाजवादी संस्कार संस्कृति, रणनीतिक पथप्रदर्शनलाई विश्वासका साथ अगाडि बढाइनेछ ।(५) सीले नेतृत्व गरेको पार्टी नेतृत्व खासगरी केन्द्रीय कमिटीका निर्णयलाई पालन गर्ने प्रतिबद्धता जनाइनेछ ।

(६) पार्टीभित्र आफूले आफैँलाई बदल्ने, सुधार गर्ने, संघर्ष वा प्रतिरोध गर्ने क्षमता अभिवृद्धि गर्ने जोखिम र चुनौतीको सामना गर्ने गरी सैद्धान्तिक वैचारिक र राजनीतिक रूपमा आफूलाई बलशाली बनाइनेछ ।

 (७) आमजनतालाई एकीकृत गरी चिनियाँ सपनाअनुरूप रूपान्तरणका लागि पार्टी अहोरात्र जनतालाई नेतृत्व प्रदान गरिरहनेछ । 

वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टीले ढिलोचाँडो समाजवादतर्फ अग्रसर हुन्छ भन्ने ठहर सन् २०१८ मै गरिएको थियो । पार्टी क्याडरहरूको एक बृहत् प्रशिक्षणमा सीले ‘रेभ्युलुस्नरी स्प्रिट’, ‘सेल्फ रेफ्लेक्सन’ तथा ‘सेल्फ करेक्सन’सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले भनेका थिए– शक्तिशालीभन्दा शक्तिशाली राष्ट्रहरू पनि ढल्न सक्छन्, जस्तो सोभियत संघ । त्यो विसर्जनले विश्वव्यापी रूपमा समाजवादी आन्दोलनलाई कमजोर तुल्यायो । दक्षिणका विकासशील मुलुक समाजवादको मोडल छाडेर पश्चिमा मोडलको विकास अँगाल्न बाध्य भएका थिए, सीले आफ्नो अभिव्यक्तिमा भनेका थिए । चीनले ४०वर्षमा ठूलो सुधारको फड्को मारेकोछ । अहिले सयभन्दा बढी देशमा १३० कम्युनिस्ट र सोसलिस्ट पार्टीहरू छन् । कतिपय मुलुक चीनको अनुभवबाट सिक्न चाहन्छन् । चिनियाँ चरित्रको समाजवाद २१औँ शताब्दीको समाजवादी विकासको एउटा मापदण्ड बन्न सक्छ, त्यही भएर हामी जिम्मेवार हुन, क्षमता अभिवृद्धि गर्न र आत्मविश्वाससहित ऐतिहासिक अभिभारा निर्वाह गर्न र वैज्ञानिक समाजवाद विकासमा प्रतिबद्ध हुन जरुरी छ । वास्तवमा यी भनाइले विश्व समाजवादी आन्दोलनलाई अगाडि बढाउनेजिम्मेवारी चीनले बोक्ने निर्णय लिएको होकि भन्ने बुझिन्छ ।

चिनियाँ चुनौती :  उल्लेखित सैद्धान्तिक वैचारिक प्रतिबद्धता चीनको पछिल्लो कार्यकालमा देखिँदै आएका छन् । आन्तरिक तथा बाह्य क्षमता अभिवृद्धिका लागि बेल्ट एन्ड रोड अभियान, एआइआई तथा ब्रिक्स बैंक स्थापना, आर्थिक संकटमा सञ्जीवनी प्याकेजको बन्दोबस्त, १० वर्षकै अवधिमा ९० करोडभन्दा बढीलाई गरिबीको रेखाबाहिर ल्याउने अभियान, सबैका लागि सहज र शुलभ शिक्षा, स्वास्थ्य, तथा सूचना र यातायात सञ्जालको प्रबन्ध साना प्रतिबद्धताले प्राप्त भएका उपलब्धि होइनन् । यी विषयले समृद्धि मात्र होइन, प्रतिस्पर्धीले आफ्ना लागि खतरा महसुस गरे । खासगरी, अमेरिका र नेटोमा आबद्ध मुलुकले यस्तो महसुस गरेको देखियो । ‘नेसनल इन्स्टिच्युट फर साउथ चाइना’का सिनियर स्कलरका मार्क जे भेलेन्सिया लेख्छन्, ‘चीनको छोटो समयमा यो असाधारण प्रगति देखेर नै अमरिकाले इन्डो–प्यासिफिक, क्वाड, अकुसजस्ता सैन्य गठबन्धन बनाएर चीनलाई चुनौती दिइरहेको छ  । 

समाजवादप्रति प्रतिबद्धता भएको पार्टीले निभाउनुपर्ने जिम्मेवारी निर्वाह गर्न चिनियाँ कम्युनिस्ट पार्टीले विचार र कार्यक्रमप्रति प्रतिबद्ध बलियो नेतृत्वको आवश्यकता ठान्यो भने अवश्य पनि सीकै नेतृत्व महाधिवेशनले दोहोर्याउला । विश्वास रहेनछ भने दण्डित पनि गर्ला । विगतमा कति महासचिव गलहत्याइए भन्ने नजिर पनि नभएका होइनन् । यतिवेला विश्व खतरनाक विश्वयुद्धतर्फ उन्मुखझैँ देखिन्छ । अमेरिका र नेटो आबद्ध मुलुक आफ्नो आर्थिक तथा सामाजिक नीतिगत असफलता लुकाउन युद्धको खेतीमा लागेका छन् । विश्वका गरिब र दुःखी मुलुकलाई साम, दाम, दण्ड र भेद नीतिमार्फत धु्रवीकरण गराउन तल्लीन देखिन्छन् । यस्तो अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुन गइरहेकोछ । विश्वको दोस्रो ठूलो आर्थिक तथा सामरिक क्षमता भएको मुलुकका नाताले विश्वशान्ति, समानता भाइचारा र समाजवादी विश्व–व्यवस्था निर्माणमा ठूलो भूमिका निर्वाह गर्न सक्छ । 

See More On

सुझावित समाचार