उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले सडकपेटीबाट आउजाउ गर्न रोक लगाएको छ। दक्षिणतर्फको पर्खाल ढल्न थालेपछि अदालतले सडकपेटीबाट आउजाउ गर्न रोक लगाएको निमित्त रजिस्टार नारायण ओझाले बताए।
उनले गत १८ असोज रातिबाट परेको वर्षातले पर्खालमा क्षति पुगेको बताए। जुनसुकै वेला पर्खाल ढल्न सक्ने भएकोले मानवीय क्षति हुन नदिन सडकपेटीमा हिँड्डुल गर्न रोक लगाएको उनले बताए।
‘पर्खाल ढलेर मानवीय क्षति हुनुभन्दा आउजाउमा रोक लगाउन उचित लाग्यो,’ उनले भने।
उच्च अदालत छेउमै युद्ध संस्कृति माध्यमिक विद्यालय छ भने जिल्ला अदालत, भेरी अस्पताल, मालपोत तथा भूमिसुधार कायालय, नापी कार्यालयनजिकै भएकोले यो सडकमा सर्वसाधारणको बाक्लो हिँड्डुल हुने गरेको छ। अदालतको उक्त पर्खाल चार बाहिनी चोकमा पर्दछ।