लगानी जुटाउन नसक्दा दोलखामा निर्माणको घोषणा गरिएको नेपालकै पहिलो फिल्म सिटी आयोजना अलपत्र परेको छ । ०७६ देखि उक्त आयोजना लगानीको पर्खाइमा छ । १५ सय हेक्टर जग्गामा बन्ने आयोजनामा ११ करोड ८० लाख डलर (१५ अर्ब रुपैयाँ) लगानी लाग्ने अनुमान छ । सरकारले सोबराबरको रकम लगानी गर्न नसक्ने भएपछि सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा निर्माण गर्ने भनिएको छ । तर, लगानीकर्ता फिल्म सिटीमा इच्छुक नदेखिएकोे लगानी बोर्ड तथा चलचित्र विकास बोर्डका अधिकारीहरू बताउँछन् ।
फिल्म सिटी फिल्म निर्माणलाई चाहिने सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो । फिल्म सिटीमा चलचित्र छायांकन गर्न चाहिने आउटडोर तथा इनडोर लोकेसन–सिनहरू हुन्छन् । फिल्म सिटीभित्र छिरेपछि फिल्मको शतप्रतिशत छायांकन सम्पन्न गर्न सकिन्छ । साथै, त्यसभित्र फिल्म निर्माणलाई चाहिने अन्य प्राविधिक सेवा–सुविधाहरू पनि हुन्छन् ।
नेपालका सिने उद्यमीहरूले लामो समयदेखि यसको माग गर्दै आएका पनि छन् । बजारको मागलाई दृष्टिगत गर्दै नेपालमा पहिलोपटक ०६१ मा फिल्म सिटी बनाउने अवधारणा अगाडि बढाइएको थियो ।
तत्कालीन समयमा काठमाडौंको टोखामा फिल्म सिटी बनाउने सम्भाव्यता अध्ययन भएको थियो । तर, त्यसले पूर्णता पाउन सकेन । त्यसपछि चलचित्र विकास बोर्डले ०६९ मा दोलखामा फिल्म सिटी बनाउने अवधारणा अघि बढाएको थियो । बोर्डले काठमाडौंबाट एक सय १० किलोमिटर दूरीमा रहेको दोलखाको डाङडुङे डाँडा (भीमेश्वर नगरपालिका–९) मा फिल्म सिटी बनाउने सम्भाव्यता अध्ययन गर्यो । उक्त अध्ययनले त्यहाँ फिल्म सिटी बन्ने सम्भावना पनि देखाएको थियो । त्यसपछि ०७६ भित्र नै उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनेको थियो ।
साथै, उक्त आयोजनालाई आवश्यक पर्ने जग्गा स्थानीय सेतीदेवी दाँदर सामुदायिक वनबाट दिन माघ ०७३ मा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसलगत्तै चैत ०७३ मा उक्त वनको ७६ दशमलव २५ हेक्टर जग्गा चलचित्र विकास बोर्डलाई भाडामा उपभोग दिने गरी वन विभागसँग सम्झौतासमेत भयो । उक्त जग्गाको वार्षिक भाडा करिब ६० हजार तोकिएको छ ।
त्यसपछि ३ फागुन ०७४ मा तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उक्त आयोजनाको शिलान्यास गरे । लगानी जुटेको भए ०७६ देखि नै उक्त आयोजना निर्माणमा गाइसक्थ्यो । तर, पाँच वर्ष निर्माण समय अनुमान गरिएको आयोजनामा लगानी जुट्न नसक्दा सुरु नै नभएको चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताए ।
‘लगानी प्राप्त भएको भए ०७६ देखि नै फिल्म सिटीको निर्माण अघि बढ्थ्यो । तर, अझै पनि यसका लागि लगानी टुंगो लागेको छैन,’ उनले भने, ‘फलस्वरूप यसको निर्माण कहिले सुरु हुन्छ भनेर टुंगो लागेको छैन ।’ नेपालमा नौलो प्रविधि हँुदा लगानीकर्ता आकर्षित नभएको उनको भनाइ छ । यस्तै, सरकारले बजेट नदिँदा पनि निर्माणको काम हुन नसकेको उनले बताए । ‘सरकारले नीति तथा कार्यक्रममा यो आयोजनालाई समावेश गर्छ । तर, बजेट भने पर्याप्त मात्रामा दिँदैन । यो आवमा त कत्ति पनि बजेट छुट्याइएको छैन,’ उनले भने, ‘त्यसकारण पनि यसमा अन्य तयारी गर्न पाइएको छैन ।’
चलचित्र विकास बोर्डले लगानी जुटाउन तीन वर्षअघि नै उक्त आयोजना लगानी बोर्डलाई दिएको छ । चैत ०७५ मा सम्पन्न लगानी सम्मेलनमा पनि उक्त आयोजना पेस भएको थियो । तर, त्यसवेला उक्त आयोजनामा लगानी गर्न कोही इच्छुक देखिएन । साथै, हालसम्म पनि उक्त आयोजनामा लगानी गर्ने गरी स्वदेशी तथा विदेशी लगानीकर्ता नआएको लगानी बोर्डका सूचना अधिकारी रमेश अधिकारीले बताए ।
‘यस आयोजनाको वित्तीय सम्भाव्यताबारे हामीले थप अध्ययन पनि गरेका छौँ । उक्त अध्ययनले आयोजना वित्तीय रूपमा पनि राम्रो रहेको देखिएको छ,’ उनले भने, ‘समग्रमा अब उक्त आयोजना लगानीका लागि तयारी अवस्थामा छ । तर, लगानी जुटिसकेको छैन । बोर्डले गर्न लागेको आसन्न लगानी सम्मेलनमा यो आयोजना पुनः पेस गर्ने तयारी पनि गरेका छौँ ।’ सरकारले चालू आवको बजेटमार्फत उक्त आयोजना पिपिपी मोडेलमा बनाउने व्यवस्था गरेको छ । सोहीअनुसार नै उक्त आयोजनाका लागि लगानी खोजिने अधिकारीले बताए ।
सम्भावित लगानीकर्तालाई फिल्ड भिजिट गराउने तयारी
विकास बोर्डले सम्भावित स्वदेशी लगानीकर्ता खोजेर आयोजनास्थल भ्रमण गराउने तयारी पनि गरेको छ । यही कात्तिकभित्र सम्भावित लगानीकर्तालाई आयोजनास्थल भ्रमण गराउने बोर्डका लेखा अधिकृत भट्टराईले बताए । ‘अब सम्भावित लगानीकर्तालाई फिल्डमै लगेर आयोजनाबारे विस्तृत जानकारी दिनेछौँ । त्यसबाट सकारात्मक नजिता आउँछ कि भन्ने आशा पनि छ,’ उनले बताए ।
लगानी आह्वान गर्ने तयारी
विकास बोर्ड र लगानी बोर्डले मिलेर आयोजनामा लगानी आह्वान गर्ने तयारी पनि गरेका छन् । हाल यसका लागि कार्यविधि बनाउनेलगायतका काम भइरहेको विकास बोर्डका लेखा अधिकृत भट्टराईले बताए । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नै लक्षित गरेर लगानी आह्वान गरिने उनको भनाइ छ ।
यस्तो हुनेछ आयोजना
१५ सय रोपनी जग्गामा फैलिने फिल्म सिटीमा चलचित्र छायांकनका लागि चाहिने अधिकांश पूर्वाधार हुनेछन् । विशेष गरी घरभित्र (इनडोर) गरिने छायांकनका लागि पर्याप्त पूर्वाधार हुनेछ । साथै, घरबाहिर (आउटडोर) सुटिङलाई आवश्यक पर्ने दृश्य तथा पूर्वाधार पनि त्यहाँ बन्नेछ । आउटडोर सुटिङलाई लक्षित गरी रेलदेखि पानीजहाजसम्मको सेवा–सुविधा त्यहाँ हुनेछ ।
फिल्म सिटीमा प्रवेशद्वार, पार्किङ, प्रशासनिक भवन, प्रोस्ट प्रडक्सन, गेस्टहाउस, रेस्टुरेन्ट, हेलिप्याड, मोबाइल टावर, अटोमोबाइल वर्कसप, इनडोर स्टुडियो, आउटडोर स्टुडियो, सुटिङ साइट, तालिम केन्द्र, सूचना केन्द्र, ल्यान्डस्केप, रक क्लाइम्बिङ, वाटरफललगायतका संरचना हुनेछन् । समग्रमा त्यहाँ छिरेपछि फिल्मलाई आवश्यक पर्ने अधिकांश छायांकन गर्न सकिने विकास बोर्डको भनाइ छ ।
यस्तै, फिल्म सिटीलाई मुभी टुरिजमका रूपमा समेत विकास गर्ने योजना छ । त्यहाँबाट अधिकांश हिमालहरू पनि नजिकैबाट अवलोकन गर्न सकिनेछ । फलस्वरूप पर्यटनको समेत उच्च सम्भावना रहेको विकास बोर्डले बताएको छ ।
प्रदेशको लगानीमा केही संरचना निर्माण
यद्यपि, बागमती प्रदेशको लगानीमा आयोजनाको प्रवेशद्वार, गेस्टहाउस, सूचना केन्द्र भने निर्माण भइरहेका छन् । प्रदेश सरकारको साढे चार करोड लगानीमा उक्त संरचनाको निर्माण भइरहेको हो । साथै, त्यसको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बोर्डको भनाइ छ ।