विचारको आधारमा भन्दा सिट बढाउने स्वार्थमा राजनीतिक दलहरूले निर्वाचनका वेला नेता तथा कार्यकर्तालाई अदलबदल गराउने गरेका छन् । विचार, सिद्धान्त भुलेर टिकट लेनदेनको सर्तमा पार्टी परिवर्तन गर्ने लहर नै चलेको छ । अर्को पार्टीबाट भित्रिनासाथ टिकट दिने अभ्यासले पार्टीमा लामो समय योगदान गरेका नेता तथा कार्यकर्ता निराश बन्ने अवस्था छ । त्याग, निष्ठा र आदर्शको राजनीति हराउँदै गएको छ । दलहरू निर्वाचनदेखि निर्वाचनसम्ममा केन्द्रित देखिन्छन् । जुनसुकै सर्तमा पनि सिट संख्या बढाउने ध्याउन्नमा दलहरू लागेका छन् । अवसरकै लागि नेताहरू पनि दल फेरिरहन्छन् । निर्वाचनको वेला दल अदलबदल गर्नेको संख्या ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दल बदलेर टिकट लिनेको संख्या उल्लेख्य छ ।
उमाशंकर अरगरिया (धनुषा २)
लोसपाका प्रमुख सचेतक उमाशंकार अरगरिया एमाले प्रवेश गरेर प्रतिनिधिसभाको टिकट लिएका हुन् । टिकट दिने शर्तमा एमालेले उनीलाई पार्टीमा भिœयाएको थियो । यो क्षेत्रमा कांग्रेसका रामकृष्ण यादव, जसपाका आनन्द यादव, एकीकृत समाजवादीका रामचन्द्र झालगायत उम्मेदवार छन् ।
अब्दुस मियाँ, गोरखा २
काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेर गोरखा २ बाट उम्मेदवार बनेका छन् । विवेकशील साझा पार्टी परित्याग गरेर बसेका उनी केही समयअघि एमाले प्रवेश गरेका थिए । यो क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार छन् ।
एकवाल मियाँ (बारा ४)
लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभा सदस्यका लागि टिकट निश्चित गरेरै लोसपा पार्टी परिवर्तन गरेका उनी बारा–४ बाट एमाले उम्मेदवार छन् । यो क्षेत्रमा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) पनि उम्मेदवार छन् ।
लक्ष्मी महतो (महोत्तरी १ )
जसपा नेता लक्ष्मी महतो पनि एमालेबाटै उम्मेदवार छन् । एमालेबाट टिकट पक्का गरेपछि जसपा छाडेका महतो महोत्तरी १ बाट उम्मेदवार बनेका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणका अभियुक्त महतोले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा माओवादीका गिरिराजमणि पोखरेलको पनि उम्मेदवारी छ ।
गणेशबहादुुर शाही (डोल्पा)
एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेलगत्तै गणेशबहादुर शाहीले प्रतिनिधिसभाको टिकट पाएका हुन् । डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा उम्मेदवार छन् । पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए ।
मञ्जु शर्मा चालिसे, बाग्लुङ २
गत वैशाखमा कांग्रेस छाडकी मञ्जु शर्मा चालिसेलाई एमालेले बागलुङ २ बाट टिकट दिएको हो । कांग्रेसको महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य रहिसकेकी शर्मा केही समयअघि एमाले प्रवेश गरेकी हुन् । गत स्थानीय निर्वाचनमा कांग्रेसबाट गलकोट नगरपालिकाको मेयरको टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । यो क्षेत्रमा माओवादीका देवेन्द्र पौडेल उम्मेदवार छन् ।
हरिकुमार राना, झापा २
एमाले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएका हरिकुमार रानालाई माओवादीले झापा २ बाट उम्मेदवार उठाएको छ । उनी झापाको अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । एमालेले अन्तिम समयमा रानाको नाम हटाएपछि सत्तारूढ गठबन्धनको सहयोगमा माओवादीबाट उम्मेदवार बनेका हुन् । राना ४० वर्षदेखि एमालेमा आबद्ध थिए ।
नरेन्द्र साह सर्लाही–३
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम, स्वतन्त्र हुँदै अहिले माओवादीमा पुगेका नरेन्द्र साह सर्लाही ३ बाट गठबन्धनको उम्मेदवार छन् । संविधानसभा सदस्य रहिसकेका साहलाई टिकट दिने आश्वासनसहित प्रचण्डले पार्टी प्रवेश गराएका थिए । ०७४ मै माओवादीमा आउन चाहेका साह जिल्लाका नेताले अनिच्छा देखाएपछि रोकिएका थिए । टिकट निश्चित भएपछि साह माओवादीमा प्रवेश गरेका थिए । यो क्षेत्रमा एमालेका हरि उप्रेती उम्मेदवार छन् ।
योगेन्द्र शाही दैलेख २ (ख)
एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य योगेन्द्र शाही माओवादी प्रवेश गरेर दैलेख २ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । लामो समय झलनाथ खनालनिकट रहेर काम गरेका शाहीलाई एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका हुन् । एमालेबाट राजनीतिमा दिएको भोलिपल्टै उनलाई माओवादीले टिकट दियो ।
द्वारिकलाल चौधरी, सुनसरी २ (क)
एमाले परित्याग गरी माओवादी प्रवेश गरेका द्वारिकलाल चौधरी प्रदेश सभाको उम्मेदवार बनेका छन् । माओवादीले चौधरीलाई सुनसरी २ (क)बाट उम्मेदवार बनाएको छ । यो क्षेत्रमा एमालेबाट चौधरीका पूर्वसहकर्मी रेवतीरमण भण्डारी उम्मेदवार छन् ।
शेषनारायण यादव, धनुषा ४ (क)
जसपाका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव मनोनयनको अन्तिम समयमा पार्टी परित्याग गरे । जसपा छाडेर कांग्रेस प्रवेश गरेका उनी प्रदेश सभाको उम्मेदवार बनेका छन् । उनीलाई कांग्रेसले धनुषा ४ (क) बाट उम्मेदवार बनाएको छ ।
प्रह्लाद गिरी पर्सा ३ (ख)
प्रदेश सभा सदस्य रहिसकेका प्रह्लाद गिरी लोसपा परित्याग गरी एक महिनाअघि एमाले प्रवेश गरेका थिए । तर, मनोनयन दर्ता गर्ने अन्तिम समयमा उनी एकीकृत समाजवादीमा पुगे । एकीकृत समाजवादीले उनलाई पर्सा ३ (ख) बाट उम्मेदवार बनाएको छ ।
किशोरी साह (धनुषा १)
एमाले मधेस प्रदेशका निवर्तमान सचेतक किशोरी साह जनमत पार्टी प्रवेश गरेर प्रदेश सभाको उम्मेदवार बनेका छन् । धनुषा १ बाट उनले मनोनयन दर्ता गराएका हुन् । एमाले–जसपा तालमेलमा उक्त क्षेत्र जसपाको भागमा परेपछि एमालेका साह जनमत पार्टीमा प्रवेश गरेका थिए ।
लालबाबु सिंह (बारा ३)
कांग्रेस नेता लालबाबु सिंह अन्तिम समयमा पार्टी परित्याग गरी लोसपा पुगे । लोसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको छ । कांग्रेसबाट टिकट नपाउने सम्भावना देखेपछि उनी टिकटकै लागि लोसपा प्रवेश गरेका हुन् ।
गंगा चौधरी (दाङ १)
टिकट नपाएपछि एमाले नेतृ गंगा चौधरीले पार्टी परित्याग गरिन् । त्यसपछि उनी हाम्रो नेपाली पार्टीको चुनाव चिह्नबाट दाङ १ बाट उम्मेदवार बनेकी छिन् । एमालेबाट टिकट नपाएपछि उनले नयाँ पार्टीबाट उम्मेदवारी दिएकी हुन् । एमालेले यो क्षेत्रमा शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा एकीकृत समाजवादीका मेटमणि चौधरी उम्मेदवार छन् ।
सरोज यादव बारा १ (ख)
मधेस प्रदेशका निवर्तमान सभामुख सरोज यादव लोसपा परित्याग गरी जसपाबाट उम्मेदवार बनेका छन् । उनी जसपाको तर्फबाट बारा १ (ख) बाट उम्मेदवार बनेका छन् ।
दलीय प्रणालीमा विकृतिको पराकाष्ठा : डम्बर खतिवडा, राजनीतिक विश्लेषक

नेपालको राजनीतिमा जसरी पनि सत्तामा पुग्नुपर्छ । सत्तामा नपुगे राजनीतिक जीवन नै समाप्त हुन्छ भन्ने गलत सोच हाबी भएको छ । नैतिकताको राजनीति गरेर के गर्नु ? भन्ने अवस्थामा नेता तथा कार्यकर्ता पुगेको देखिन्छ । यही कारण जताबाट पाइन्छ, त्यतै जाने अवस्था बनेको छ । यस्तो विकृति अवस्था विशेषगरी ०५६ तिरबाट सुरु भएको हो । यो विकृति पछिल्लो समय झन् झाँगिएर गएको छ ।
कम्युनिस्ट पार्टी विभाजित, र नेताहरूको विश्वसनीयता गुमेपछि गैरराजनीतिक अभ्यासले मलजल पाएको छ । चुनावको मुखमा पार्टी फोर्ने, अर्काको चुनाव चिह्नबाट चुनाव लड्ने, एउटा पार्टीको अध्यक्ष अर्को पार्टीको उम्मेदवार बन्ने, अर्को पार्टीको बागी उम्मेदवारलाई समर्थन गर्नू दलीय प्रणालीमा विकृतिको पराकाष्ठा हो । यस्तो स्थिति दीर्घकालसम्म रहँदैन ।