नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरका ६ हजार एक सय दुई खेलाडी सहभागी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । ओलम्पियन टीकाबहादुर बोगटीले दीप प्रज्वलन गरेका थिए । सातौँ दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ स्वर्ण पदक जितेका बोगटी गण्डकी प्रदेशकै ज्येष्ठ ओलम्पियन हुन् । तस्बिर : रोहितराज पराजुली/नयाँ पत्रिका
गण्डकीको राजधानी पोखरामा बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
३ कात्तिकसम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र गैरआवासीय नेपाल संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहेको छ । गण्डकी प्रदेशका ११ मध्ये आठ जिल्लामा विभिन्न खेल प्रतियोगिता आयोजना भइरहेका छन् । पूर्वाधार अभावका कारण यसअघि राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट खेल काठमाडौंमा आयोजना गरिएको थियो । त्यस्तै, सुटिङ खेल ललितपुरमा आयोजना हुनेछ । प्रतियोगितामा कुल ६ हजार एक सय दुई खेलाडीले विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६ सयभन्दा बढी कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटनअघि नै महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेल सुरु भइसकेका छन् ।
बोगटीले गरे दीप प्रज्वलन
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा ओलम्पियन टीकाबहादुर बोगटीले दीप प्रज्वलन गरेका छन् । सातौँ दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ स्वर्ण पदक जितेका बोगटी गण्डकी प्रदेशकै ज्येष्ठ ओलम्पियन हुन् । उनले सन् १९८८ मा सिओल ओलम्पिक र १९९६ मा एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
उसुका खेलाडी इटहरीमा अलपत्र
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पोखरा हिँडेका प्रदेश १ का ऊसु खेलाडी इटहरीमा अलपत्र परेका छन् । आयोजकले खेलाडी लिन सवारीसाधन नपठाएको उसु प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र राईले जानकारी दिए । ‘पर्सि खेल सुरु हुँदै छ । प्रतियोगिताका लागि अभ्यास गर्नुपर्ने समयमा खेलाडीहरू इटहरीमा अलपत्र छन् ।
यो खेल क्षेत्रका लागि दुर्भाग्य हो,’ प्रशिक्षक राईले भने । खेलाडीहरूलाई २६ असोजदेखि तीन दिनसम्म इटहरीको होटेल टुरिस्ट रेस्टुरेन्टमा राखेर क्लोज क्याम्प गरिएको थियो । होटेलमा खान–बस्न पनि राम्रो सुविधा नपाएको खेलाडीले गुनासो गरेका छन् । अलपत्र पर्नेमा उसुका ३३ जना खेलाडी छन् ।
सुटिङ सुरु
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत काठमाडौंमा सुटिङ खेल सुरु भएको छ । पहिलो दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुजन राना मगरले ६०८.१ अंक जोडेका छन् । बागमतीका कृष्णबहादुर घोरासैनीले ५८७.२ तथा सुदूरपश्चिमका सुनील चन्दले ५६८.८ अंक जोडे । सोही स्पर्धाको महिलामा आर्मीकी कल्पना परियारले ६०५, प्रहरीकी फूलमाया क्याप्छाकीले ६०२.३ र मधेसकी खुश्बु चौधरीले ५४३.३ अंक जोडे । सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका आदित्य खड्काले ५३९ र प्रहरीका मानबहादुर घलेले ५३९ तथा बागमतीका सुदन खड्काले ५३१ अंक जोडे ।
उक्त स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ५३०, गण्डकीकी निस्ता पौडेलले ५१३ र बागमतीकी रुविना श्रेष्ठले ५१२ अंकको प्रदर्शन गरे । पुरुष–महिलाको राइफलमा ६ सय ५४ तथा पेस्तोलमा ६ सय पूर्णांकमा प्रतिस्पर्धा भइरहेको छ । राइफलको पुरुषमा २६ र महिलामा २५ तथा पेस्तोलको पुरुषमा २७ र महिलामा २४ खेलाडी सहभागी छन् । सबैको प्रदर्शनपछि फाइनल पुग्ने शीर्ष आठ खेलाडीको टुंगो लाग्नेछ । प्रतियोगितामा टिम र मिक्स स्पर्धा पनि समावेश छन् ।
सावित्राको ६ गोल
स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा ६ गोल गर्दा एपिएफले महिला फुटबलतर्फ प्रदेश १ लाई ७–१ ले पराजित गरेको छ । स्याङ्जाको वालिङ मैदानमा सावित्राले खेलको २२, ४० र ४५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ५१, ५६ र ६५औँ मिनेटमा गोल थप्दै आफ्नो नाममा ६ गोल लेखिन् । एक गोल एपिएफकी अनिता बस्नेतले खेलको ६०औँ मिनेटमा गरिन् । प्रदेश १ का लागि अन्जना थुलुङ राईले एक गोल गरिन् । महिलातर्फको अर्काे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० ले पराजित गर्दा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशले गोलरहित बराबरी खेले ।
आर्मी र सुदूरपश्चिमको सहज जित
पुरुष फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले सहज जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ४–१ अन्तरले पराजित गरेको छ । अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ ले पराजित गर्यो ।
फेन्सिङमा आर्मी टिम च्याम्पियन
फेन्सिङतर्फ आर्मी टिम च्याम्पियन भएको छ । च्याम्पियन आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कांस्यसहित कुल १७ पदक प्राप्त गर्यो । दोस्रो बनेको बागमतीले चार स्वर्ण, तीन रजत र एक कांस्यसहित आठ पदक हात पार्यो । तेस्रो भएको एपिएफले दुई स्वर्ण, चार रजत र सात कांस्यसहित १३ पदक र चौथो भएको सुदूरपश्चिमले एक स्वर्ण, दुई कांस्यसहित तीन पदक जित्यो । गण्डकी प्रदेशले चार कांस्य पदक जित्दै पाँचाैँ स्थानमा र प्रदेश १ तीन कांस्यसहित छैटाँै स्थानमा रह्यो ।
महिला हक्कीमा आर्मी विजयी
महिला हक्कीअन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आर्मीले मधेस प्रदेशलाई ८–० गोलले पराजित गर्यो । गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोलले पराजित गरेको छ ।
ह्यान्डबलमा आर्मीका दुवै टोली फाइनलमा
स्थानीय टोली गण्डकी र आर्मी पुरुष ह्यान्डबलको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४–२१ अन्तरले पराजित गर्यो । गण्डकीको जितमा चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अर्काे खेलमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि २७–२२ को जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, महिलातर्फ आर्मी र एपिएफले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो खेलमा एपिएफले प्रदेश १ लाई २९–६ ले हरायो । एपिएफका लागि उमा राईले एक्लै सात गोल गरिन् । अर्को खेलमा कल्पना थापाले एक्लै सात गोल गरेपछि आर्मीले गण्डकीमाथि २४–९ को जित निकाल्यो । दुवै फाइनल खेल शनिबार हुनेछन् ।