जलवायुको जोखिम दैलोमै आइसक्यो

यस वर्षको तापलहर, डढेलो, आँधी, खडेरी र बाढीले विश्व तापमान नै चरम मौसमी घटनाको मूल भएको प्रस्ट पारेको छ

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

देश/विदेश

जलवायु परिवर्तनले विश्वभरकै मौसमी ढाँचा र जीवनयापनमा प्रतिकूल असर गर्ने चेतावनी वैज्ञानिकले धेरै अघिदेखि दिइरहेका हुन् । यी चेतावनी अहिले पीडादायी वास्तविकतामा रूपान्तरण भइरहेका छन् । अझ खराब त सम्भावित परिणामको दायरा अनुमान गरे भन्दा बढ्दो रूपले व्यापक हुने गरेको छ– ताप लहर, कडा आँधी र बाढीजस्ता चरम मौसमी घटना तथ्यांकका आधारमा गरिने सामान्य प्रक्षेपणभन्दा बढी नै प्रतिकूल हुन थालेका छन् ।

यीमध्ये कुनै पनि प्राक्कथनले भावी राजनीतिक स्थिरता वा आर्थिक समृद्धिका लागि राम्रो संकेत गर्दैन ।यी आघातले चिजहरू अझ खराब हुनुअघि आवश्यक उपचारात्मक पहलका लागि अभिप्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ । तर, गर्ला त ? विश्व तापमानले मौसमलाई अनपेक्षित रूपले अस्थिर बनाइरहेको छ भन्ने कुरामा मानिसहरू सचेत हुन थालेका छन् । यो वर्ष तापलहर विश्वभर कीर्तिमानी स्तरमा देखियो ।

भारतमा ४९.२ डिग्री सेल्सियसको कीर्तिमानी तापक्रम रेकर्ड भयो । बेलायत (४०.२ डिग्री सेल्सियस) जस्ता देशले पनि यस वर्ष अहिलेसम्मकै खराब गर्मी भोगे । फ्रान्स र चीनले सबैभन्दा खराब खडेरीको अनुभव गरिरहेका छन् । पूर्वी अफ्रिकामा लगातार चार वर्षदेखि वर्षा नहुँदा पाँच करोडभन्दा बढी मानिस ‘गम्भीर खाद्य असुरक्षा’को जोखिममा परेका छन् । यहीबीच, विनाशकारी आँधी र बाढीले मादगास्कर, अस्ट्रेलिया, अमेरिका, जर्मनी, बंगलादेश र दक्षिण अफ्रिकालाई प्रभावित गरेको छ । 

यस्ता घटनाले हरेक वर्ष लाखौँको मृत्यु र ठूलो आर्थिक एवं वित्तीय क्षति निम्त्याउन थालेको छ । तापक्रममा ०.५ डिग्री सेल्सियसको वृद्धि असह्य नै त होइन, तर यसले सिर्जना गर्ने खडेरी, बाढी र अन्य आकस्मिक मौसमी उतारचढावले ठूलो विनाश निम्त्याउन सक्छ । वैज्ञानिकहरूमा धुव्रीय क्षेत्रमा बरफ पग्लिनेजस्ता गम्भीर घटनाक्रमप्रतिको चिन्ता बढ्दो छ । उनीहरू यसले हामीलाई फर्कनै नसक्ने अवस्थामा पुर्याउने हो कि भनेर चिन्तित छन् । 

यसले अन्योन्याश्रित जलवायु जोखिमबीच हानिकारक प्रतिक्रियाको शृंखला सिर्जना गर्न र दुष्प्रभाव वास्तविक अर्थतन्त्रमा फैलिएर रोजगारी कटौतीमा परिणत हुन सक्छ । यसबाट पिछडिएका समुदाय सबैभन्दा बढी प्रताडित हुने र राजनीतिक अस्थिरता निम्तिने खतरा हुन्छ । तसर्थ, भौतिक वातावरणमा गर्ने क्षतिबाहेक चरम मौसमले सामाजिक प्रवृत्ति र सार्वजनिक नीतिमा नै अकस्मात् र कहिलेकाहीँ स्थायी बदलाव ल्याउन सक्छ । जब मानिसले आफ्ना घरबास, जीविकोपार्जन वा आफ्नो जीवन नै गुमाउन थाल्छन् भने राजनीतिज्ञले यसप्रति प्रतिकार्यको पहल गर्नैपर्छ । 

आश्चर्यतः के भने जब हामी सबै चरम मौसमबारे गम्भीर रूपले सचेत भइरहँदा पूर्वानुमानकर्ता भने अझै पनि संरचनात्मक परिवर्तनमा यसको भूमिकालाई व्यापक रूपमा बेवास्ता गरिरहेका छन् । तापमान वृद्धिलाई पेरिस जलवायु सम्झौताले लिएको लक्ष्य (१.५–२ डिग्री सेल्सियसको बीचमा सीमित राख्ने)मा जोड दिँदै मूल धारका जलवायु वैज्ञानिक एवं अर्थशास्त्रीहरू विश्वतापमानले निम्त्याउने दीर्घकालीन दुष्प्रभावमा केन्द्रित हुन थालेका छन् । उनीहरूले तापमान योभन्दा बढी वृद्धि भएको खण्डमा समेत समुद्री सतह र कृषि उत्पादनमा त्यसको असर बिस्तारै देखिँदै जाने र जलवायु परिवर्तनको प्रभाव पूर्ण विस्तार दशकौँमा हुने आकलन गरेका छन् । 

तर, हालैको एउटा प्रतिवेदन ‘क्लाइमेट इन्डगेम : एक्सप्लोरिङ क्याट्रास्ट्रोपिक क्लाइमेट चेन्ज सिनारियोज’ले भने परिदृश्यको यो परम्परागत विश्लेषणले दीर्घकालीन जोखिमलाई गम्भीरतापूर्वक कम आँकेको सुझाउँछ किनभने यो विधि चरम जलवायुका असरमा पर्याप्त ध्यान दिन असफल छ । तथ्यांकविद् नसिम तालेबले वित्तीय बजारको सन्दर्भमा औँल्याएझैँ परम्परागत विधि (अध्ययन)हरू विश्व तापमानका गम्भीर परिणाम पहिल्याउन असफल छन्, यसले उनीहरूको दृष्टिमा खतरनाक ओझेल सिर्जना गरेको छ । 

 उच्च तापमानका मार्गले जलवायुको चरम रूप निम्त्याउँछ, जसलाई मैले चार घोडचढी विनाशकको उपमा दिएको छु : अनिकाल र कुपोषण, चरम मौसमी घटना, द्वन्द्व र लामखुट्टे, झिंगाजस्ता जीवबाट उत्पन्न हुने (भेक्टर–वर्न)रोगहरू । विनाशका अग्रदूत जब हुल बाँधेर एकसाथ आउँछन्, यो झुण्डले कसरी सामाजिक र राजनीतिक अराजकता सिर्जना गर्न सक्छन् भनेर हेर्न धेरै कल्पना गर्नैपर्दैन । विश्वव्यापी खाद्यसंकट, युरोपको नयाँ युद्ध र जारी महामारीमा यसको झल्को देख्न सकिन्छ । अझ खराब त के भने दोस्रो घोडचढी अर्थात् चरम मौसमी परिघटनाले जलवायु परिवर्तनको तात्कालिक जोखिमलाई चाहिनेभन्दा कम ध्यान दिइएको देखाउँछ । आखिरकार चरम मौसम नै त अन्य तीन घोडचढीको सञ्चालक हो । त्यसैले यो अरूभन्दा महत्वपूर्ण छ । 

मौसमको आघातले दुःखकष्ट निम्त्याउँछ । यही कारण, दीर्घकालीन विनाशको अमूर्त चेतावनीले भन्दा तात्कालिक दुःखले समाजको ध्यान खिच्छ । सर्वेक्षणहरूले व्यक्तिगत रूपमा चरम मौसमको अनुभव गरेकाहरूले नै जलवायुका पहललाई बढी समर्थन गर्ने गरेको देखाउँछ । यद्यपि, मुद्रास्फीतिमा हालको वृद्धिले मानिस खर्च बढाउने कुनै पनि उपायप्रति उत्साहित छैनन्, जसकारण बढ्दो प्रकोपले जलवायु परिवर्तन वा जलवायु नीतिप्रति आशंका गर्नेहरूको संख्यालाई थप संकुचित गराउँदै लगेको छ । 

यसकारण, दीर्घकालीन जलवायु परिवर्तनका चुनौतीले भन्दा पनि चरम मौसमको तात्कालिक चुनौतीले पहलकदमीलाई उत्प्रेरित गर्न सम्भावना धेरै छ । आशा गरौँ, चरम मौसमी घटनाका डंक आम र अझ कष्टकर बन्दै जाँदा तिनले हामीलाई यी घोडा (जलवायुका दुष्प्रभाव)हरूलाई यथास्थानमा राख्न आवश्यक नीति बनाउन उत्प्रेरित गर्नेछन् ।

(मार्क क्लिफ लन्डन इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्सका भिजिटिङ प्रोफेसर हुन् । )

सुझावित समाचार