- प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभाका लागि चार करोड दुई लाख मतपत्र छापिने
- प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक सय ६५ र प्रदेश सभाको तीन सय ३० गरी चार सय ९५ प्रकारको मतपत्र छापिने
- मतपत्रमा उम्मेदवारको मात्र निर्वाचन चिह्न रहने
- प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार चार सय १२ र प्रदेश सभामा तीन हजार दुई सय २४ गरी पाँच हजार ६ सय ३६ उम्मेदवार चुनावी मैदानमा
- समानुपातिक प्रणालीतर्फ सात प्रदेशको सातवटा र एक केन्द्रको गरेर आठ प्रकारको मतपत्र
- समानुपातिकमा प्रतिनिधिसभातर्फ दुई करोड ४२ लाख र प्रदेश सभातर्फ दुई करोड १८ लाख मतपत्र छापियो
निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभाका लागि चार करोड दुई लाख मतपत्र छापिनेछ । यसपटक मतपत्रमा उम्मदेवारको मात्र निर्वाचन चिह्न रहनेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार चार सय १२ र प्रदेश सभामा तीन हजार दुई सय २४ गरी पाँच हजार ६ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ मनोनयन दर्ता गराउने उम्मेदवारलाई बुधबार चुनाव चिह्न दिएको आयोगले बिहीबारदेखि मतपत्र छाप्न सुरु गरेको हो । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ थालिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको छ,’ उनले भने ।
एनका अनुसार निर्वाचन क्षेत्रमा कुल उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छापिनेछ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाहेक पनि चुनाव चिह्न हुँदा मतदाता झुक्किएर मत बदर संख्या बढेको थियो । यसलाई न्यूनीकरण गर्न आयोगले उम्मेदवारले पाएको चुनाव चिह्न मात्रै राखेर मतपत्र छाप्नेछ । जसले गर्दा हरेक निर्वाचन क्षेत्रको मतपत्र फरक हुनेछ ।
सहायक प्रवक्ता अर्यालले प्रत्यक्षतर्फको एक सय ६५ र प्रदेश सभाको चीन सय ३० गरी चार सय ९५ प्रकारको मतपत्र छापिने बताए । ‘छपाइ सकिन करिब चार हप्ता लाग्छ । सबै मेसिन चल्यो भने त्योभन्दा अगाडि पनि छापिन सक्छ । कडा सुरक्षामा छापिरहेको छ । त्यहीँबाट नेपाली सेनाको सुपरभिजनमा निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुन्छ,’ उनले भने ।
समानुपातिक प्रणालीतर्फ आठ प्रकारको मतपत्र प्रत्यक्षको मनोनयनअघि नै छापिसकिएको छ । सात प्रदेशको सातवटा र एक केन्द्रको गरेर आठ प्रकारको मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार करिब एक महिना लगाएर छापिएको मतपत्र प्याकिङ गरेर एक सय ६५ क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पठाउने चरणमा पुगेको छ ।
समानुपातिकमा प्रतिनिधिसभातर्फ दुई करोड ४२ लाख र प्रदेश सभातर्फ दुई करोड १८ लाख मतपत्र छापिएको छ । अस्थायी मतदातालाई समेत समेट्ने गरी प्रत्यक्षभन्दा बढी मतपत्र समानुपातिकतर्फ छापिएको छ । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
प्रमुख आयुक्त दिनेश थपलियाले कर्णालीको सुर्खेतबाहेकको डिजाइन सकेर प्रत्यक्षतर्फ मतपत्र छाप्न प्रारम्भ भएको बताए । ‘समानुपातिकतर्फ र नमुना मतपत्र छपाइ सकेर आज (शुक्रबार) बाट निर्वाचन अधिकृतको कार्यालयमा पठाउँदैछौँ । नमुना मतपत्रबाट सबै क्षेत्रमा नमुना मतदान प्रारम्भ गर्छाैँ,’ उनले भने । समानुपातिकतर्फको मतपत्र आज बिहानदेखि ढुवानी हुने र भौगोलिक विकटता रहेको क्षेत्रमा हेलिकोप्टरबाट पु¥याउने उनले बताए ।
मत सर्वेक्षण गर्न रोक
आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७९ मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको दिनदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा कुनै सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न नपाइने उल्लेख छ । आचारसंहिताको दफा ४ को (थ)मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ । आचारसंहिताविपरीत सर्वेक्षण गरे कारबाही हुने चेतावनी आयोगले दिएको छ ।
आयोगले आचारसंहिता पालना गराउन देशभरका सरकारी र गैरसरकारी कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएको छ । उल्लंघन गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीलाई कारबाही नगरे कार्यालय प्रमुखलाई पनि कारबाही हुने निर्देशनमा उल्लेख छ ।
आयोग कठोर : उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न गुप्तचर खटाउने
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर खटाउने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बिहीबार बसेको बैठकले प्रहरी र गुप्तचर खटाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
‘उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे–नगरेको र निर्वाचन आचारसंहिता पालना भए–नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले गहन तथा सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गर्न र आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय भएको छ,’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।
आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ न्यूनतम २५ लाखदेखि अधिकतम ३३ लाखसम्म र प्रदेश सभातर्फ न्यूनतम १५ लाखदेखि अधिकतम २३ लाखसम्म खर्च सीमा निर्धारण गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेश सभाको प्रतिउम्मेदवार दुई लाखका दरले खर्च सीमा तोकिएको छ ।
आचारसंहिता केन्द्रीय अनुगमन समितिले बिहीबारै देशभर कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखलाई जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । उनीहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएकाले सम्बन्धित उम्मेदवारलाई नै हटाउन लगाउने,’ आयोगले निर्देशन जारी गरेको छ ।
आचारसंहिता तथा निर्वाचन (कसुर र सजाय) ऐन, २०७३ विपरीत त्यस्तो प्रचार सामग्री राखिएको, भित्तेलेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी २४ घन्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने आयोगको निर्देशन छ । नहटाएमा जरिवाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने, कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीका लागि सिफारिस साथ आयोगमा पठाउन निर्देशन गरिएको प्रवक्ता पौडेलले बताए ।