आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हाल कायम रहेको चुक्ता पुँजीमा शतप्रतिशत सेयर पुँजी थप गर्ने भएका छन् । कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याउनुपर्ने प्रावधानबमोजिम पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत सेयर पुँजी थप गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको साधारणसभाले सेयर पुँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने जनाइएको छ । आर्थिक वर्ष ०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा आवश्यकताअनुसार विभिन्न सहायक कम्पनी स्थापना गनर संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको जनाइएको छ । त्यस्तै, आव ०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा कम्पनीले प्रदान गरेको आर्थिक सहायता अनुमोदन पनि गरेको कम्पनीले जनाएको छ ।
सभामा अध्यक्ष डा. अर्यालले बिमितको आवश्यकताअनुसारको विविध बिमा योजनाको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासका कारण तथा वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासलगायत विभिन्न बैंक, वित्तीय संस्था, बिमा कम्पनी एवं अन्य संघ–संस्थाहरूको प्रयासका कारण बिमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताएका थिए । कम्पनीले सर्वसाधारणमा बिमाको पहुँच बढाउने लक्ष्य लिएर सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल एक सय ४० शाखा तथा उपशाखामार्फत सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो ।