पाकिस्तानका फास्ट बलर साहिन शाह अफ्रिदीले अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । चोटका कारण साहिन विश्वकप खेल्ने वा नखेल्ने दोधारमा थिए । पूर्ण रूपले चोट निको भएपछि साहिन पाकिस्तानी टोलीमा फर्किएको पाकिस्तान क्रिकेट संघ (पिसिबी)ले जनाएको छ । पाकिस्तान मेडिकल टोलीको निरीक्षणमा रहेका साहिन तत्कालै अभ्यास खेल खेल्न सक्छन् ।
पाकिस्तानले विश्वकपको तयारीका लागि १७ अक्टोबरमा इंग्ल्यान्ड र १९ अक्टोबरमा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पिसिबीले यी दुवै खेलमा साहिन उपलब्ध हुने जनाएको छ । चोटका कारण एसिया कप खेल्न नपाएका साहिनले विश्वकप खेल्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रिय टोलीमा जोडिन पाउँदा म निकै उत्साहित छु । अस्टे«लियामा खेल्न तयार छु,’ साहिनले भने, ‘यसबीचमा निकै समस्या भोग्नुप¥यो । फरक परिस्थिति थियो ।’
साहिनले पछिल्लो १० दिन लगातार ८ ओभर बलिङ गरेका थिए । उनले नेटमा बलिङ र ब्याटिङको साथमा रमाइलो भइरहेको बताए । साहिनले खेलक्रममा आफ्नो विकल्प खोज्न नपर्ने र खेलको प्रतीक्षामा रहेको जनाए । ‘पछिल्ला दिनमा ६ देखि आठ ओभर बलिङ गरिरहेको छु । नेटमा बलिङ र ब्याटिङसँग रमाइरहेको छु,’ उनले भने ।
ओपनर फखर जमानसमेत टी–२० विश्वकपमा फर्कन सक्ने भएका छन् । साहिनसँगै फखर र प्रशिक्षक उमार रहिदसमेत ब्रिसबान जाने भएका छन् । ३२ वर्षीय फखरसमेत स्वस्थ हुने तयारीमा छन् । फखर पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने एक्ला खेलाडी हुन् ।