लमजुङमा चारजनाले गरे उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

लमजुङमा ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभाका २ जना र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रतिनिधिसभा उम्मेदवार स्वतन्त्र उम्मेदवार प्रकाश जोशी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका विना गोतामेले गठबन्धनलाई समर्थन गर्ने भन्दै मनोनयन फिर्ता लिएकी हुन्।  

यस्तै, प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेस ‘बिपी’ का अस्मिता गुरुङले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छिन्। प्रदेश ‘ख’ मा हाम्रो नेपाली पार्टीका विमल घिमिरेले नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

लमजुङमा प्रतिनिधिसभामा १ जना स्वतन्त्रसहित ११ जना उम्मेदवार कायम भएको छ। प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा ५ जना र प्रदेश सभा ‘ख’ मा ७ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाईजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम भएको छ।

प्रदेश सभा ‘क’ मा नेकपा एमालेका जमिन्द्रमान घले, नेपाली कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाइजेनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ। 

प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका राज गुरुङ र कांग्रेस (बिपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

संघतर्फ एक निर्वाचन क्षेत्र र प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन्।जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्। प्रदेश सभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन्। 

त्यस्तै, प्रदेश सभा (ख)तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए।

सुझावित समाचार