दोहोरो अंकले बढ्याे नेप्से, किन बढ्दैन कारोबार रकम ?

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

सेयर बजार मापक नेप्से परिसूचक साताको बुधबार दोहोरो अंकले बढेको छ । नेप्से सूचक ११ दशमलव ५१ अंकले बढेर एक हजार आठ सय ६६ दशमलव ६७ बिन्दुमा आइपुगेको छ। 

त्यस्तै,‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ बिन्दुमा आइपुगेको छ। 

नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम उत्साहजनक हुन सकेको छैन। लगानीकर्ता सेयर खरिद–बिक्री गर्नका लागि ‘पर्ख र हेर’को नीति अपनाइरहेका छन्।

अर्कोतर्फ नेप्से एक हजार नाै सयको प्रतिस्थापनको खोजीमा देखिएको भए पनि सफल हुन  सकिरहेको छैन । एक हजार आठ सयको टेवा परीक्षणकै क्रममा बजार निरन्तर घुमिरहँदा नीतिगत सकारात्मकको बाटोबाट बजार माथिल्लो अंकमा उक्लिन सक्ने आकलन लगानीकर्ताहरूले गरेका छन्। 

हालसम्म बजारलाई बढवा हुनेका खालका कुनै नीतिगत सुधार हुन सकेको छैन । तर, मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउनका अध्ययन समितिसमेत बुझाएको थियो। त्यसैको सकारात्मक प्रभाव बुधबारको बजारमा देखिएको छ। यद्यपि, यो नै दीर्घकालीन भने रहँदैन।

अर्कोतर्फ दसैँ सकिएर तिहार सुरु भएको छ । चाडपर्वको समय नजिकिँदै गरेकाले पनि खर्चको जोहोमै लगानीकर्ता केन्द्रित छन् भने यतिवेला लगानीकर्ताहरूले कम्पनीबाट लाभांश पाउने अवसर हो। 

अघिल्ला वर्षहरूमा जस्तो यस वर्षको समयमा लाभांशमा लगानीकर्ताहरू उत्साहित हुन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकट, आर्थिक मन्दी र कोरोना भाइरस, रुस–युक्रेनबीचको द्वन्द्वले बढेको विश्व आर्थिक दृष्टिले पनि कम्पनीहरूले लगानीकर्तालाई सोचेजति लाभांश दिन नसकेका हुन्।
 
कतिपय लाभांश दिएका कम्पनीमा पनि उत्साह देखिएको छैन । हालसम्म नाैवटा संस्थाले माात्र लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गरेका कम्पनीको मूल्यमा पनि  उत्साजनक मूल्य  लगानीकर्ताले पाउन नसक्दा लगानीकर्ता थप निराश बन्न पुगेका छन्।

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको २० लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६९ करोड १७ लाख रुपैयाँको कारोकार भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि सेयर कारोबार एक अर्ब पनि पुग्न सकेको छैन।

आइतबारदेखि बुधबारसम्म भएको कारोबारमा नेप्से सूचक १२ दशमलव ७६ अंकले बढेको छ । तर,  लगानीकर्ता सक्रिय भएको अवस्थामा एकैदिनको कारोबार तीन अर्बभन्दा बढी हुँदै आएकोमा अहिले चार दिनको कारोबार रकम तीन अर्बभन्दा बढी हुन सकेको छैन । यसको अर्थ  बैंकमा देखिएको तरलता संकट र आर्थिक मन्दीकै कारणका रूपमा लिनुपर्ने एक लगानीकर्ताले बताए।

यस दिन अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। माहुली लघुवित्त, र पोग्रेसिभ फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेका छन्। कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्युचुअल फन्ड र ट्रेडिङ समूहको सूचकबाहेक अन्य समूहको सूचक सकारात्मक बन्न पुगेका छन्।

सुझावित समाचार