उदारवादी, पार्टी शुभेच्छुक र ‘अराजनीतिक’ राजनीतिक पण्डितको एक तप्का मल्लिकार्जुन खड्गे कंग्रेस अध्यक्षमा उठ्ने ‘अनौपचारिक’ हल्लालाई लिएर आक्रोशित देखिन्थे, तर यो आक्रोश धेरै टिकेन, किनभने वाराणसीको ‘एउटा सानो घटना’ले यिनको ध्यान मोड्यो । महात्मा गान्धी काशी विद्यापीठ विश्वविद्यालयको राजनीतिशास्त्र विभागका अतिथि अध्यापक मिथिलेशकुमार गौतमलाई नवरात्रिमा व्रत बस्नुभन्दा संविधान र भीमराव अम्बेडकरका लेख पढ्दा महिलालाई बढी फाइदा हुने भन्दै ट्विट गरेपछि बर्खास्त गरियो । यो टिप्पणी बर्खास्ती नै गराउने खालको अपराध होइन । यद्यपि राष्ट्रिय स्वयंसेवक संघ समर्थित एबिभिपीले गौतमको टिप्पणीलाई अपमानका रूपमा लिनु र उजुरी गरेर विश्वविद्यालय व्यवस्थापनबाट निकाला गराउनु आश्चर्य होइन ।
कंग्रेस अहिले देशको प्रमुख प्रतिपक्षी दल पनि होइन । राजस्थान र छत्तिसगढमा मात्रै यसको सरकार छ । तैपनि, सत्तारुढ दलको तुलनामा कंग्रेसलक्षित टिप्पणी, आलोचना र आक्रोश व्यक्त गरिन्छ । नरेन्द्र मोदीको तुलनामा राहुल गान्धीलाई किन बढी आलोचना र शंका गरिन्छ ? क्षेत्रीय पार्टीको कंग्रेसझैँ किन आलोचना हुँदैन ? अंग्रेजी बोल्ने उदारवादीले विश्वविद्यालयमा पढेको आदर्शवादी राजनीतिक नैतिकता देशकै सबैभन्दा पुरानो पार्टीमा मात्रै किन खोज्छन् ? यसको उत्तर गौतम प्रकरणमा भेटिन सक्छ ।
स्वतन्त्रतापछि अंग्रेजी बोल्ने भारतीयले गौतमले गर्ने राजनीतिको मूल्य चुकाउनुपरेको छैन । नेहरूवादी, स्वतन्त्रतावादी, पुँजीवाद वा वर्गहितका समर्थक भन्नेहरू जो उच्च जात एवं वर्गका हुन्, तिनले अहिले पनि सार्वजनिक बहस–संकथनमा महत्वपूर्ण प्रभाव राख्छन् । उनीहरू आफ्नो खाईपाई आएको विशेषाधिकारलाई असर नगर्ने ठूला भाष्यलाई सजिलै समर्थन गर्छन् । उदाहरण, यो तप्कालाई विश्वका अन्य संरचनागत असमानताको सट्टा अदृश्य हात (इनभिजिबल ह्यान्ड) भएको बजार गतिशीलतामाथि विश्वास गर्न सजिलो छ । बहुसंख्यक सिइओ र व्यवसायी उच्च जातबाट आउनु कुनै संयोग होइन ।
जब बहुमतले मण्डल आयोगको समयमा सार्वजनिक स्रोतमा हिस्सेदारीको दाबी गर्यो, तब उल्लिखित वर्गमाथि पहिलोपटक चुनौती तेर्सियो । ठिक त्यही वेला संयोगवश भारतीय जनता पार्टी (भाजपा) फैलावट र हिन्दू पहिचानवाद दुवैले ठूलो आधार पायो । माथिल्लो अनुच्छेदमा उल्लिखित अभिजात वर्ग एनडिए–१ वा युपिए गठबन्धनका वर्षमा हुने सार्वजनिक बहसमा हाबी नै रहे । सन् २०१४ विशेषतः सन् २०१९ पछि यो वर्चस्वमा पहिलोपटक परिवर्तन आएको छ । आज भारतमा अभिव्यक्तिकै कारण दुष्परिणाम भोग्नुपरिरहेको छ ।
कंग्रेस अध्यक्षको आसन्न निर्वाचन पार्टी लोकतन्त्रका लागि महत्वपूर्ण हुने देखिन्छ । भारतमा, राजनीतिक दलको नेतृत्वका लागि खुला ढंगले चुनाव हुनु असामान्य हो । यद्यपि आलोचकका अनुसार यो ‘वास्तविक’ चुनाव होइन । खड्गेलाई उम्मेदवार बनाउनु नेहरू–गान्धी परिवारको पारिवारिक अर्थात् ‘कठपुतली’ बनाउने निर्णय हो । आलोचकहरूका अनुसार नेहरू–गान्धी, जो राजनीतिक व्यक्तित्वका साथै वंशवादी व्यक्तित्वसमेत हुन्, यिनले प्राथमिकता पनि लुकाएर सन्त बन्नुपथ्र्यो ।
कंग्रेस मुक्केबाजको ‘पन्चिङ ब्याग’ बनेको छ, जहाँ मुक्का बजार्दा उदारवादी कुलीनले कुनै परिणाम भोग्नुपर्दैन
तर, यिनै उदारवादी केवल राजनीतिक शुद्धताका कारण मायावतीको निरंकुशता वा अघिल्लो राष्ट्रपतिको कार्यकालमा भएका महत्वपूर्ण चिन्ताजनक घटनाक्रममा राष्ट्रपति भवनले प्रदर्शन गरेको मौनतामाथि आलोचना गर्दैनन् । तत्कालीन र हालकी राष्ट्रपतिलाई सामाजिक र आर्थिक रूपमा विपन्न समुदायको सदस्य भएकै कारण प्रगतिशील भनेर हेरिन्छ । भारतको असमान सामाजिक संरचनालाई मध्यनजर गर्दै सबै समाजवादी पार्टीलाई आवाजविहीनका पक्षमा बोल्ने आधारका रूपमा हेरिन्छ र त्यसैकारण कांग्रेसमाथि हुने आलोचनाबाट यी पार्टी मुक्त छन् ।
एक कोणबाट हेर्दा यो जायज पनि छ । कांग्रेसले आफूलाई नयाँ शक्ति दाबी गर्न सक्दैन, किनभने कांग्रेसले स्वतन्त्रताकालदेखि धेरै समयसम्म सरकारको जिम्मेवारी सम्हालेको छ । सन् २०१४ देखि कांग्रेस निष्क्रिय नै छ र यसका लागि नेहरू–गान्धीहरू धेरै हदसम्म दोषी छन् । तर, कांग्रेस यो अवधि सत्तामा छैन भन्ने पनि ख्याल राख्न जरुरी छ, जुन राखिँदैन ।
‘भारत जोडो’ यात्रालाई नै हेरौँ । यहाँ राहुल गान्धीले केरलामा कति समय बिताए भन्ने विषयमा धेरै ध्यान दिइएको छ र यो चासो केरलामा कांग्रेसको उपस्थिति बलियो भएकाले आएको हो । गुजरातमा हुने हरेक चुनावमा प्रचारप्रसारको नेतृत्व गर्दा प्रधानमन्त्रीमाथि भने माथि गरिएको जस्तो चासो किन हुँदैन ? कांग्रेसले आफ्नो पक्षमा रहेको राजनीतिक स्थानलाई जोगाउने प्रयास गर्नु खराब राजनीति होइन । यसबाहेक उदारवादीले कांग्रेसले नयाँ भाष्यको खोजीमा सडकमा हिँड्नुपर्छ भन्ने माग राख्ने गरेका होइनन् र ? भारत जोडो यात्राले यही उद्देश्यलाई पूरा गर्न खोजेको होइन र ?
वास्तवमा कांग्रेसलाई किन सन्देह वा आलोचना गरिन्छ, त्यसलाई गौतम प्रकरणले स्पष्ट पार्छ, अर्थात् यदि गौतमले एबिभिपीको ठाउँमा एनएसयुआई (कंग्रेसनिकट विद्यार्थी संगठन) लाई चिढ्याएको भए उनी बर्खास्त हुने थिएनन् । उसो त कुनै पनि व्यक्तिको आलोचनाका लागि कुनै पनि सजाय हुनु हुँदैन तैपनि ‘पप्पु’ भन्दै राहुल गान्धीलाई अपमान गर्दा कुनै कानुनी सजाय छैन तर ‘भ्रष्ट’, ‘कायर’, ‘अपराधी’ र ‘गोही’जस्ता शब्द प्रयोग गर्नुलाई असंसदीय करार गरिएको छ ।
नयाँ भारतमा भाजपाबारे ‘गलत’ बोल्नु नै राष्ट्रघात वा आतंकवाद ठहरिन पुग्छ, तर कंग्रेसको आलोचना गर्दा कुनै मूल्य चुकाउनुपर्दैन वा जोखिम मोल्नुपर्दैन । भारतीय उदारवादी, जो ठुल्ठूला भाष्य फलाक्छन्, तिनका लागि कुण्ठा पोख्न कंग्रेस मात्रै बाँकी छ । कंग्रेस मुक्केबाजको ‘पन्चिङ ब्याग’ (मुक्का अभ्यासका लागि बनाइएको कपास भरिएको झोला) बनेको छ, जहाँ मुक्का बजार्दा यी उदारवादीले कुनै परिणाम भोग्नुपर्दैन । नतिजा मुलुक जतिसुकै रसातलमा जाकिए पनि जिम्मेवारीको साटो आरोप–प्रत्यारोप गरिरहन पाइन्छ ।
(जोशी इन्डियन एक्सप्रेसको विचार पृष्ठका सहउपसम्पादक हुन्) –द इन्डियन एक्सप्रेसबाट