ओखलढुंगामा एकीकृत समाजवादीका नेताहरू एमालेमा फर्किए

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

ओखलढुंगामा एकीकृत समाजवादीका युवा नेताहरू एमालेमा फर्किएका छन् । पार्टी विभाजनताका एकीकृत समाजवादीमा महत्वपूर्ण जिम्मेवारी लिएका युवा नेताहरू एमालेको पूर्ववत् जिम्मेवारीमा फर्किएका हुन् । युवा नेता राजन खत्री र मनोज मगरसहित एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेताहरू एमालेकाे पूर्ववत्  जिम्मेवारीमा फर्किएको एमाले जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिए ।

एमालेले एक कार्यक्रम गरी मंगलबार खत्री र मगरसहितका नेतालाई स्वागत गरेको छ । एमालेको जिम्मेवारीमा फर्किएका नेता राजन खत्रीले नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउने बताए । ‘नेकपा एमालेको संकटको वेलामा सबैभन्दा बढी लडेर पार्टीलाई बलियो बनाएका योद्धाहरू हामी हौँ,’ उनले भने, ‘हिजो संकटमा रगत–पसिना बगाएको पार्टीमा पुनः फर्किएका छाैँ, फेरि एमालेलाई उत्तिकै बलियो बनाउन लाग्छौँ ।’ नेकपा एमालेमा युवाहरूलाई गोलबद्ध गर्न योजनाबद्ध ढंगले लाग्ने खत्रीले बताए । 

खत्री एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए भने मगर एकीकृत समाजवादीनिकट युवाको अध्यक्षको जिम्मेवारीमा थिए । एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसहितका नेताले एमाले फर्किएका युवा नेतालाई स्वागत गरेका थिए । 

एकीकृत समाजवादीले कांग्रेस–माओवादीलाई साथ नदिने
ओखलढुंगामा गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीले कांग्रेस–माओवादीलाई साथ नदिने भएको छ । आफ्नै छुट्टै उम्मेदवार उठाएको नेकपा एकीकृत समाजवादीले सत्तारूढ गठबन्धनलाई साथ नदिने भएको हो ।एकीकृत समाजवादीले प्रतिनिधिसभामा योगिन्द्र बस्नेत (अमृत सागर), प्रदेश (क) मा देवराज दाहाल र प्रदेश (ख)मा कमल खड्कालाई उम्मेदवार बनाएको छ । 

कांग्रेस र माओवादीले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एकीकृत समाजवादी पार्टीलाई कुनै स्थान नदिएको र अहिले पनि चुनावी तालमेलबारे सरसल्लाह नगरेकाले पार्टीका उम्मेदवारहरू अघि सारिएको नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नेत्रप्रसाद भट्टराईले बताए । ‘हामीसँग खास समन्वय भएन, त्यसैले एकीकृत समाजवादी पार्टी कसैको भरिया मात्रै बन्दैन,’ भट्टराईले भने । 

सुझावित समाचार