इरानमा ‘नैतिकता प्रहरी’ले २२ वर्षीया महसा अमिनीलाई कपाल खुला छाडेको आरोपमा हिरासतमा राखेको थियो, जहाँ उनलाई यातना दिएर हत्या गरिएको आरोप लागेको छ । नतिजा ४० वर्षदेखि मुलुकमा प्रभुत्व जमाइरहेका हजुरबुबाविरुद्ध नातिनीहरू सडकमा उर्लिए र मुलुक व्यापक प्रदर्शनको साक्षी बनेको छ । विरोध प्रदर्शनले इरानी राजनीतिलाई अर्थपूर्ण रूपमा परिवर्तन गर्ने वा प्रदर्शन पुरुष शासकको दाह्री र पगडीको रंगमा मात्रै विविधता झल्किने मुलुकको एक निकृष्ट प्रणालीको सानो हिस्सामा मात्रै सीमित हुने हो वा होइन, त्यसबारे टिप्पणी गर्नु हतारो हुनेछ । यद्यपि, एउटा निष्कर्ष भने निकाल्न सकिन्छ, अमिनीको निधन र यसप्रति इरानी समाजको प्रतिक्रियाले इरानी अधिकारीसँगको बाह्य संसारको सम्बन्ध सधैँका लागि परिवर्तन हुनेछ ।
उसो त अमिनी मात्रै चपेटामा परेकी होइनन् । थुप्रै मानवअधिकार संगठन लाखौँ इरानी महिलालाई हरेक वर्ष ‘अनुचित ढंगले हिजाब’ लगाएका र टाउको छोप्न अस्वीकार गरेका धेरै महिलालाई दश वर्षभन्दा बढीको जेल सजाय दिइने गरेको दाबी गर्छन् । इरानको वास्तविक धार्मिक परम्परासँग इरानी राज्यले गर्ने संस्थागत हिंसाको कुनै सम्बन्ध छैन । इरानका वास्तविक सांस्कृतिक मूल्यलाई लागू गर्न प्रहरी–राज्य (पुलिस स्टेट) को धम्कीको आवश्यकता पर्दैन । ‘डेथ टु अमेरिका’, ‘डेथ टु इजरायल’ र अनिवार्य हिजाब इरानी ईश्वरतन्त्रीय व्यवस्थाको आधार स्तम्भ हो ।
यसले सरकार पहिरनको प्रतिबन्धमा सम्झौता गर्न किन हिचकिचाइरहेको छ भन्ने तथ्यलाई पुष्टि गर्छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले शासनको वैचारिक सिद्धान्त विशेषतः हिजाबका मामिलामा सम्झौता गर्नु मुलुकको अवसानको बाटो रोज्नु हो भनेका छन् । खामेनीले मुलुकलाई भ्रष्टाचार र अराजकताबाट जोगाउने हो भने महिलाले हिजाब लगाउनुपर्ने बताएका छन् । यो त्यही मानसिकताको उपज हो, जसले यौन दुव्र्यवहारबाट पीडित महिलालाई अभद्र लुगा लगाएकामा दोषी करार गर्छ । टेक्सास, टोकियो वा तेहरान जहाँसुकै भए पनि यस्ता अभिव्यक्ति वा विचार सम्मानयोग्य छैनन् ।
सिबिएस न्युजका संवाददाता लेस्ली स्टाहलले अमिनीको मृत्युभन्दा अघिल्लो साता कट्टरपन्थी राष्ट्रपति इब्राहिम रायसीको अन्तर्वार्ता लिएकी थिइन् । उनले सन् १९८८ को ग्रीष्मकालमा भएको नरसंहारबारे प्रश्न गरेकी थिइन् र राइसीले अपेक्षित रूपमा नरसंहारलाई अस्वीकार गरेका थिए, जबकि सन् १९८८ मा हजारौँ आलोचकलाई राइसीले न्यायाधीशका रूपमा मृत्युदण्डको सजाय सुनाएका थिए । अन्तर्वार्ता अवधिभर स्टाहलले टाउको छोपेकी थिइन् । उनले ‘आफूलाई कस्तो लुगा लगाउने, राष्ट्रपतिले नबसुन्जेलसम्म नबस्ने र राष्ट्रपतिलाई बाधा नपुर्याउने’ निर्देशन दिइएको स्विकारेकी थिइन् । अब पुरातनपन्थी मापदण्डलाई स्वीकार गर्न बन्द गरिनुपर्छ ।
न्युयोर्कमा सिएनएनकी क्रिस्टियन अमनपोरसँगको अन्तर्वार्ताका लागि रायसी राजी भएका थिए । क्रिस्टियनले हिजाब लगाउन अस्वीकार गरेपछि राइसी अनुपस्थित भएका थिए । अमनपोरको कदम उपयुक्त थियो र त्यसलाई सबैले पछ्याउनुपर्छ । इतिहास हेर्ने हो भने इरानले सशक्त अन्तर्राष्ट्रिय मोर्चाको प्रतिक्रियामा मात्र आफ्ना नीति–अडानमा सम्झौता गर्छ । अब विदेशी सरकार, अन्तर्राष्ट्रिय समाचार संस्था र गैरसरकारी संस्थाले इस्लामिक गणतन्त्र इरानले अभ्यास गर्ने लैंगिक भेदभावलाई समर्थन गर्न बन्द गर्नुपर्छ ।
विदेशी सरकार, अन्तर्राष्ट्रिय समाचार संस्था र गैरसरकारी संस्थाले इस्लामिक गणतन्त्र इरानले अभ्यास गर्ने लैंगिक विभेदलाई समर्थन गर्न बन्द गर्नुपर्छ
यद्यपि इरानी क्रान्तिले ४३ वर्षको अवधिमा निकै कम दबाब झेलेको छ । उसले इस्लामिक गणतन्त्रको घरेलु संकटका प्रतिक्रियामा हुने दमनलाई तीव्र बनाउँदै लगेको छ । यही नृशंसताले इरानी सत्ता टिकिरहेको छ । तर, ८३ वर्षीय खामेनीको अस्थिर स्वास्थ्यका कारण जब मुलुकले नेतृत्व परिवर्तन गर्यो मुलुकको आधार धर्मराएको छ । इस्लामिक गणतन्त्रको सुरक्षा अवस्था बलियो देखिए पनि हालको इरानमा सन् २०१० को इजिप्ट र ट्युनिसियाका सरकार अपदस्थ हुँदाजत्तिको सुरक्षा व्यवस्था देखिँदैन ।
अमिनीको निधनले ल्याएको उथलपुथलको सन्दर्भमा बाइडेन प्रशासनले इरानप्रतिको नीतिमा पुनर्मूल्यांकन गर्नुपर्छ । हालसम्म अमेरिकी नीतिको मुख्य चासो सन् २०१५ को आणविक सम्झौता पुनर्जीवित गर्नु रहेको छ, यो सम्झौतालाई सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेका थिए । यो अदूरदर्शी प्रयास हो । इस्लामिक गणतन्त्रका नेता, जसको अस्तित्व अमेरिकाको विरोधमा अडिएको छ, त्यस अवस्थामा वासिंगटनले तेहरानसँग कहिल्यै समझदारीको वार्ता गर्न सक्नेछैन । इरानी राज्यसत्ताले निम्त्याएको लक्षणमा प्रतिक्रिया जनाउनुको साटो वासिंगटन र पश्चिमका अन्य मुलुकले मूल कारक अर्थात् इरानी राज्यसत्तामै केन्द्रित हुनुपर्छ ।
मुलुकको राष्ट्रिय हितलाई आफ्नो (इस्लामिक) क्रान्तिकारी विचारधाराभन्दा अगाडि राख्ने इरानी सरकारको आगमन अमेरिकाका लागि भूराजनीतिक खेलमा आफ्नो चाल चाल्ने महत्वपूर्ण मौका हुन सक्छ । अरब क्षेत्रका चार राजधानी दमस्कस, बेरुत, बगदाद र सानामा इरानको महत्वपूर्ण उपस्थिति छ । इरानले काराकस र प्योङयाङमा अमेरिकाविरोधी तानाशाहीलाई सैन्य एवं आर्थिक रूपमा समर्थन गरिरहेको छ । इरानी ड्रोनलाई हाल रुसी सरकारले युक्रेनविरुद्ध प्रयोग गरिरहेको छ । अफ्रिका क्षेत्रमा इरानी हतियारले गृहयुद्ध चर्काइरहेको छ । तेहरानले आज विश्वको लगभग सबै प्रत्यक्ष वा शीतयुद्धमा अमेरिकाको विपक्षीलाई समर्थन गर्छ ।
सोभियत संघलाई ‘दुष्ट साम्राज्य’ करार गरे पनि र मिखाइल गोर्बाचेभलाई ‘पर्खाल भत्काउन’ अनुरोध गरे पनि अमेरिका र सोभियत संघले शीतयुद्धको समयमा हतियार नियन्त्रणका सम्झौता गरेका थिए ।बाइडेन प्रशासनले इरानका विध्वंसकारी महत्वाकांक्षालाई रोक्न मात्र नभई इरानी जनताको स्वतन्त्रतापूर्वक जिउने अभिलाषालाई मूर्तरूप दिन पनि इरानप्रतिको नीति परिवर्तन गर्नुपर्छ । ईश्वरतन्त्रीय इरान लोकतान्त्रिक इरानमा परिवर्तित हुन धेरै समय लाग्ला वा आन्दोलन अहिंसात्मक नहोला, तर महसा अमिनीको मृत्युको घटना मध्यपूर्वको रूपान्तरण गर्ने एक कडी साबित हुन सक्छ ।
(सदजादपोर कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका वरिष्ठ अनुसन्धाता हुन्)
– द वासिंगटन पोस्टबाट