कांग्रेसमा व्यापक असन्तुष्टि

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी परेको छ । तनहुँ १ मा उम्मेदवारी दिएका नेता पौडेलविरुद्ध पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् । जोशीले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी अन्तिममा खारेज गरेको थियो ।

सर्लाही ४ मा निवर्तमान सांसद अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र रायविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । तलैबाट टिकटका लागि सिफारिसमा नपरेपछि उनी असन्तुष्ट थिए । 

चितवन ३ मा सत्तारूढ गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीविरुद्ध कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो क्षेत्र परिवर्तन गरेर गोरखा गएपछि अधिकारी उम्मेदवार बनेका थिए । 

सल्यानमा सत्ता गठबन्धनविरुद्ध कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला, प्रदेश निर्वाचन (क)मा माओवादीका भीमप्रकाश शर्मा र (ख)मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् ।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले बागी उम्मेदवारी दर्ता गराएका छन् । 

खोटाङमा सत्ता गठबन्धनको निर्णयविपरीत कांग्रेसले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । केन्द्रले टिकट दिएका आफ्नै उम्मेदवारविरुद्ध पनि सभापति विष्णुकुमार राईको नेतृत्वमा जिल्लाले अर्काे उम्मेदवार खडा गरेको हो । कांग्रेसले प्रदेश १ का महामन्त्री भूपेन्द्र राईलाई प्रदेश सभा सदस्यको टिकट दिएको थियो । तर, उनीविरुद्ध कांग्रेसका पूर्वजिल्ला उपसभापति धर्मराज पोखरेलले बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको संघमा कांग्रेसबाट पूर्वराज्यमन्त्री सर्वधन राईले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीको भागमा परेको प्रदेश (क) मा पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णयअनुसार क्षेत्र पाएको माओवादीले संघमा रामकुमार राईलाई उठाएको छ भने प्रदेशमा एकीकृत समाजवादीका वीरबलकाजी राईको उम्मेदवारी परेको छ ।

बाजुरामा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा (क)मा एमालेले प्रदेश कमिटीका उपसचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

बर्दिया १ मा कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार कांग्रेसबाट प्रतिनिधिसभामा अरुणप्रकाशसिंह राठौर र सञ्जय गौतमको उम्मेदवारी परेको हो । 

बझाङमा कांग्रेसका पूर्वजिल्ला सभापति हर्कजंगबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको एउटा मात्रै संघीय निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई दिएकोमा असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । अछाममा कांग्रेसका नेता चन्द्रप्रकाश ढुंगानाले क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
डोटीमा एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस नेता नरेन्द्र खड्काले उम्मेदवारी दिएका छन् । एउटा मात्रै क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन् । 

कैलाली ३ मा कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीले गठबन्धनविरुद्ध प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ मै माओवादीका छोटेलाल चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गएका छन् । चितवन १ मा कांग्रेसले डा. विश्व पौडेललाई टिकट दिएपछि कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको एउटा मात्र क्षेत्र रहेको खोटाङमा संघतर्फ माओवादी र प्रदेश सभा (क)मा एकीकृत समाजवादी र (ख) मा कांग्रेसले उम्मेदवारी दिने सहमति गठबन्धनमा भएको छ । जसमा जिल्लाका कांग्रेस नेताहरूले विरोध जनाएका छन् । 

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले पनि बाँडफाँडमा असन्तुष्टि जनाउँदै गठबन्धनका उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधिसभातर्फ गठबन्धनबाट सो क्षेत्र राष्ट्रिय जनमोर्चाकोे पक्कापक्की भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सो क्षेत्र जनमोर्चाको भागमा परेको छ । 

नेविसंघका निवर्तमान महामन्त्री कपिलेश्वर यादवले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएको भन्दै निर्वाचन बहिष्कारको अपिल गरेका छन् । उनले पार्टीमा विभेद गरिएको भन्दै विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् । 

See More On

सुझावित समाचार