कहाँ कसले दिए स्वतन्त्र उम्मेदवारी ?

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन्।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए। एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए। एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए। नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन्। कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

काठमाडौंमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्ववडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। प्रदेश (ख) मा महिला संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिइन्।

लेखक युग पाठकले झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिए। यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेल्धुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिए।
 

सुझावित समाचार