प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र क्षेत्र रहेको दार्चुलामा गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू र पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ठगुन्नाबीच यसपटक रोचक भिडन्त हुने देखिएको छ ।
एमालेका उम्मेदवार ठगुन्ना ह्याट्रिकको दाउमा छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बडू ०७० मा पराजित भएका थिए । उनी ०७४ सालमा समानुपातिक हुँदै सांसद बनेका हुन् । ठगुन्ना र बडूबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदै छ । ०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीसँग पराजित भएका थिए ।
०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा कांग्रेसको तर्फबाट विक्रमसिंह धामी उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा ठगुन्नाले कुल २८ हजार नाै सय ९८ र कांग्रेसका धामीले २२ हजार दुई सय ३३ मत प्राप्त गरेका थिए ।
प्रदेश सभा
यस्तै, प्रदेश सभाको दुवै क्षेत्रको उम्मेदवारी दलहरूले टुंग्याएका छन् । गठबन्धनको तर्फबाट दार्चुलामा प्रदेश सभा (क) मा कांग्रेस र (ख) क्षेत्रमा नेकपा माओवादी केन्द्रले पाएको छ । प्रदेश सभा (क) मा कांग्रेसले महाधिवेशन प्रतिनिधि विक्रमसिंह धामीलाई उम्मेदवार बनाएको छ ।
०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा चुनाव लडेका धामी यसपटक प्रदेशमा झरेका हुन् । (ख) क्षेत्र घर भएका धामी पहिलोपटक (क) क्षेत्रबाट उम्मेदवार बन्न लागेका हुन् । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हरदेव जोशीलाई प्रदेश सभा (क) बाट उम्मेदवार बनाएको छ । जोशी नेकपा एमालेका युवा नेता हुन् ।
यसैगरी दार्चुला (ख) क्षेत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार बन्ने भएका छन् भने नेकपा एमालेले पूर्वजिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ ।