कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको  कार्यालयसहित निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा पोखरा सहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै कास्की क्षेत्र नम्बर ३ को कार्यालय स्थापना गरिएको छ ।

कार्यालयको बिहीबार कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुली र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै सभागृह चोकस्थित पोखरा सभागृह परिसरमा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय र हस्पिटल चोकस्थित पशुसेवा निर्देशनालय परिसरमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

स्थापना गरिएको कार्यालयबाट उम्मेदवारी मनोनयन दर्तादेखि निर्वाचन परिणाम घोषणासम्मका सम्पूर्ण काम हुनेछन् । निर्वाचनअन्तर्गत आउँदो आइतबार हुने उम्मेदवार मनोनयनका लागि कास्कीमा सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

सुझावित समाचार