आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
बिहीबार नै जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसी निर्वाचन व्यवस्थापनका लागि आवश्यक कोठा र फर्निचर जिल्ला समन्वय समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय समेत गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खनालले बताए। एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन्।
लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए। जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि लमजुङमा एक सय २८ मतदानस्थल र एक सय ८६ वटा मतदान केन्द्र कायम गरेको छ। स्थानीय निर्वाचनपछि लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन्।