उद्योग व्यापार मेला आयोजना गर्न विराटनगरका उद्योगी–व्यापारीहरूबीच प्रतिस्पर्धा बढेको छ । व्यापारिक मेला आयोजना गर्न उद्योगी–व्यापारीहरूको संस्थाबीच प्रतिस्पर्धा भएको छ । उद्योग संगठन मोरङले २६ माघदेखि ३ फागुनसम्म औद्योगिक मेला लगाउने निर्णय सार्वजनिक गरेको थियो । लगत्तै उद्योग परिसंघ प्रदेश १ समितिले पनि १९ माघदेखि २८ माघसम्म औद्योगिक मेला गर्ने औपचारिक घोषणा गरेको थियो । त्यसपछि उद्योग संगठनले पुरानो निर्णय परिवर्तन गर्दै पुनः २९ मंसिरदेखि ६ पुससम्म मेला आयोजना गर्ने सूचना सार्वजनिक गरेको छ ।
परिसंघले विराटनगर–२ स्थित शंकरपुर मार्गमा र उद्योग संगठनले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा मेला आयोजना गर्ने तयारी थालेका छन् । उद्योग परिसंघको मेलालाई मोरङ व्यापार संघले समर्थन जनाएको छ । उद्योग संगठनको मेलालाई व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले समर्थन जनाएका छन् ।
योभन्दा अगाडि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आलोपालो बर्सेनि मेला आयोजना गर्दै आएका थिए । तर, यसपालि उद्योग परिसंघ प्रदेश १ समितिले पनि मेला आयोजना गर्ने भन्दै प्रचार–प्रसार तीव्र बनाएपछि विराटनगरमा उद्योगी–व्यापारीहरूको संस्थाबीच प्रतिस्पर्धा देखिएको हो । यद्यपि, दुवै संस्थाहरूले आ–आफ्नो योजनाअनुसार मेला आयोजना गर्ने निर्णय भएको बताउँदै आएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले पालो र परम्पराअनुसार यसपालि उद्योग व्यापार मेला लगाउने निर्णय गरेर तयारी थालेको बताए । उनले भने, ‘एकै समयमा, एकै स्थानमा दुई–दुईवटा मेला छोटो अन्तरालमा सफल हुन गाह्रो हुन्छ, यसैले दुवै मेलालाई सफल बनाउन माघको साटो मंसिर र पुसमा आयोजना गर्ने भएका हौँ ।’उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भवन निर्माणका लागि स्वायत्त रूपले मेला लगाउने निर्णय गरेकाले कसैसँग प्रतिस्पर्धा गर्ने मनसाय नरहेको बताए ।