अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको टी–२० ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार दीपेन्द्र ५९औँ स्थानमा रहेका हुन् । दीपेन्द्रले चार सय ६६ रेटिङ अंक प्राप्त गरेका छन् । ६०औँ स्थानमा न्युजिल्यान्डका चर्चित खेलाडी काने विलियम्सन छन् । विलियम्सनले चार सय ६५ अंक जोडेका छन् ।
टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलको वरीयता यथावत् रहेको छ । नयाँ वरीयतामा कुशल ५४औँ स्थानमै रहे । अमेरिका र ओमान भ्रमणपछि टोलीबाट बाहिर रहेका कुशलले चार सय ७८ रेटिङ अंक जोडेका छन् । कुशलपछि श्रीलंकाका कुशल मेन्डिस छन् । टी–२० ब्याटिङ वरीयतामा पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय ६१ रेटिङ अंक जोडे । दोस्रो स्थानमा भारतका सूर्यकुमार यादव रहे । यादवले दुई स्थान सुधार गरेका हुन् । सूर्यकुमारले सात सय ९९ रेटिङ अंक हात पारे ।
यसैगरी, टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको स्थान यथावत् छन् । उनी १०आँैँ स्थानमा छन् । उनले एक सय ५१ रेटिङ बटुलेका छन् । नवौँ स्थानमा युएईका रोहन मुस्तफा र ११औँ स्थानमा दक्षिण अफ्रिकाका एडेन माक्राम छन् । अलराउन्डरतर्फ अफगानिस्तानका मोहमद नावी शीर्ष स्थानमा उक्लेका छन् । उनले सर्वाधिक दुई सय ४३ रेटिङ अंक प्राप्त गरे । बंगलादेशका सकिव अल हसन दोस्रो स्थानमा झरेका छन् ।
नेपालका सन्दीप लामिछानेले टी–२० बलिङ वरीयतामा एक स्थान सुधार गरेको आइसिसीले जनाएको छ । नयाँ वरीयताअनुसार सन्दीप ६१औँ स्थानमा छन् । सन्दीपले चार सय ४७ रेटिङ अंक पाए । सन्दीपभन्दा अगाडि श्रीलंकाका लाहिरू कुमारा छन् । टी–२० बलिङ वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा छन् । उनले सर्वाधिक
सात सय ३७ रेटिङ प्राप्त गरेका छन् ।
यसैगरी, आइसिसी एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका रोहितकुमार पौडेल ८१औँ स्थानमा छन् । उनले चार सय ६२ रेटिङ अंक पाएका छन् । उनीभन्दा एक स्थान तल न्युजिल्यान्डका मिचेल सान्टनेर छन् । एकदिवसीय ब्याटिङमा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् । बाबरले सर्वाधिक आठ सय ९० रेटिङ अंक बटुले । एकदिवसीय बलिङमा सन्दीप ३४औँ स्थानमा छन् । उनले पाँच सय ३४ अंक बटुले । भारतका कुलदीप यादव ३३औँ स्थानमा छन् ।