इरानमा हिजाब विसंगत ढंगले पहिरेको आरोपमा नैतिकता प्रहरीले २२ वर्षीया मह्सा अमिनीलाई हिरासतमा राखेको थियो । हिरासतमै उनको मृत्यु भएपछि विरोध प्रदर्शन चर्कियो । सो प्रदर्शनमाथि इरानी अधिकारीले तीव्र दमन गरिरहेका छन् । महिलालाई हिजाब पहिरिन बाध्य बनाउने कानुनविरुद्ध महिला प्रदर्शनकारीले हिजाब जलाएर प्रदर्शन गर्दा मुलुक हल्लिएको छ । सातजना मारिएको खबर पनि आएको छ र सरकारले मुलुकभर इन्टरनेट सेवा बन्द गरेको छ ।
जे होस्, विरोध प्रदर्शनले अरब विश्वको ध्यान आकर्षित गरेको छ । विशेषतः म हुर्केको इराकका महिलाले अनलाइन माध्यमबाट धर्मशासित राज्यको अत्याचारविरुद्ध प्रतिरोध गरिरहेका इरानी महिलाप्रति ऐक्यबद्धता जनाइरहेका छन् । इरान मात्रै हिजाब लादिने अर्थात् महिलाको शरीर एवं सोचमा नियन्त्रण गर्ने मुलुक होइन । यस्तो नियन्त्रण विभिन्न राष्ट्रमा भिन्न आकार र तीव्रतासाथ लागू हुने गर्छन् ।
उसो त इरानमा झैँ महिलालाई हिजाब पहिर्याउने बाध्यकारी कानुन इराकमा छैन, तथापि संविधानका धेरै प्रावधान विशेषतः कानुनको प्रमुख स्रोतका रूपमा लिइने इस्लामको सेवासम्बन्धी धारा २ अस्पष्ट एवं विरोधाभासी छ । नतिजा बाध्यकारी हिजाब लागू गर्ने अवस्था सम्भव छ । सन् १९९० को दशकमा सद्दाम हुसेनले राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको आर्थिक प्रतिबन्धको जवाफमा आस्था अभियान सुरु गरेयता महिलालाई हिजाब पहिरिने दबाब निकै बढेको छ । मुलुकमा अमेरिकी नेतृत्वमा भएको अतिक्रमणपश्चात् इरानसँग सुमधुर सम्बन्ध भएका इस्लामवादी पार्टीको शासनमा स्थिति थप बिग्रियो ।
‘इराकीले अन्ततः लोकतन्त्रको फल पाइरहेको’ भन्ने जर्ज डब्ल्यु बुसको सन् २००४ को भनाइविपरीत महिला दमनकारी पितृसत्ताको अधीनमा छन्, जसलाई इस्लामवाद, सैन्यकरण र जातिवादले बल पुर्याएको छ । त्यसमाथि इरानी प्रभावले स्थितिलाई थप बिगारेको छ । सन् २००३ पछि मलाई हिजाब नलगाई बगदादमा हिँड्डुल गर्न गाहै्र भयो । प्रत्येकपटक जब म रुढिवादी बस्तीमा जान्थेँ, विशेषतः साम्प्रदायिक द्वन्द्वका वेलामा मैले आफ्नो सुरक्षाका लागि टाउको हिजाबले छोप्नुपथ्र्याे ।
चरम दमनका बाबजुद हिजाबविरुद्ध इरानी महिलाको आक्रोश निरंकुश रुढिवादी शासन र महिलाको शारीरिक स्वायत्तता वञ्चित गर्नेविरुद्धको लडाइँको एक हिस्सा हो
बग्दादको मुटुमा रहेको मेरो विश्वविद्यालयनजिकै देखाइएका हिजाब समर्थित पोस्टर र ब्यानरले मलाई सदैव विचलित बनाइरहन्थ्यो । विगत दुई दशकमा केही पनि परिवर्तन भएको छैन । प्राथमिक एवं माध्यमिक विद्यालयमा बालिका र किशोरीलाई हिजाब पहिरिन अनिवार्य गरिएको छ । इराकी सार्वजनिक विद्यालयमा अनिवार्य हिजाब लगाउन बाध्य बनाउने नियमविरुद्ध सामाजिक सञ्जालमा नयाँ अभियान नै सुरु भएको छ ।
अभियानको नेतृत्व गरिरहेको वुमन फर वुमनका प्रमुख अभियन्ता नाथिर इसा हिजाबलाई समाजका धेरै रुढिवादी वा कबिलाई सदस्यले रुचाउने भएकाले नकारात्मक प्रतिक्रिया अपेक्षित हुने बताउँछिन् । यस्तै केही अभियान अनलाइन धम्की र आक्रमणका कारण रद्द भएका छन् । सामाजिक सञ्जालमा ‘ह्यासट्याग नो टु कम्पल्सरी हिजाब’ (बाध्यकारी हिजाब मान्दैनौँ) भनेर पोस्ट गर्ने महिला आलोचित हुने गर्छन् र तिनलाई इस्लाम एवं समाजविरोधी करार गर्ने प्रतिक्रियात्मक ट्विट ओइरिन्छन् । सरकारको अवज्ञा गर्दै हिजाब हटाउने वा जलाउने इरानी महिलालाई पनि यस्तै आक्षेप लगाइँदै छ । एक इराकी सिया मौलबी अयाद जमाल अल–दिनले ट्विटरमा प्रदर्शनकारी इरानी महिलालाई आक्रमण गर्दै उनीहरूलाई इस्लाम र संस्कृतिलाई नष्ट गर्न चाहने ‘हिजाबविरोधी वेश्या’ भनेका थिए ।
मैले इराक र अन्य राष्ट्रमा साइबरफेमिनिज्मसम्बन्धी ‘डिजिटल एथ्नोग्राफिक’ अनुसन्धानमा हिजाबमाथि प्रश्न गर्ने वा हिजाब हटाउनुपर्छ भन्ने महिलालाई माथिकै जस्ता प्रतिक्रिया दिइएका अनगिन्ती उदाहरण भेटेकी छु । हिजाबको विरोध गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने महिलालाई बेइज्जत गर्न र चुप लगाउन प्रायः लिंगभेदी आलोचना गरिन्छ । हिजाब नलगाउने निर्णयको खुलेर चर्चा गर्ने महिलाले सबैभन्दा निकृष्ट आलोचनाको सामना गर्नुपरिरहेको छ । हिजाब हटाउनुलाई ईशनिन्दाका रूपमा हेरिन्छ, किनभने हिजाबलाई महिलाको सम्मान एवं पवित्रतासँग जोड्ने गरिन्छ ।
बाध्यकारी हिजाबविरुद्ध महिलाको संघर्ष र त्यसविरुद्धका प्रतिक्रियाले हिजाब पहिरिनु स्वतन्त्र छनोट हो भन्ने सांस्कृतिक भाष्यलाई गलत ठह¥याइदिन्छ । धेरै महिलाले स्वेच्छाले हिजाब लगाए पनि अन्यलाई हिजाब लगाउन बाध्य पारिन्छ । तसर्थ, प्राज्ञ–शोधकर्ताले हिजाबसम्बन्धी कुराकानी र यसको निरन्तर पहिरनलाई बल पु¥याउने परिस्थितिमाथि पुनरावलोकन गर्नुपर्छ । नारीवादी अनुसन्धानकर्ता नादजे अल–अलीले मध्यपूर्वका सन्दर्भमा लैंगिक हिंसाबारे आफ्नो प्राज्ञिक अनुसन्धानमा स्थानीय एवं अन्तर्राष्ट्रियस्तरमा यी द्वैधताबाट मुक्त हुन गतिशीलताको पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिन्छिन् । बृहत् स्वतन्त्रता र सामाजिक न्यायसँग सम्बन्धित महिलाको संघर्षबारे हुने जुनसुकै छलफलमा रुढिवादी समाजमा हिजाब लगाउन बाध्य महिलाको समस्यालाई पनि केन्द्रमा राख्नुपर्छ ।
चरम दमनका बाबजुद हिजाबविरुद्ध इरानी महिलाको आक्रोश निरंकुश रुढिवादी शासन र महिलाको शारीरिक स्वायत्तता वञ्चित गर्नेहरूविरुद्धको ठूलो लडाइँको एक हिस्सा हो । इरान र इराकमा भएको सामूहिक आक्रोशले हामीमाथि अनिवार्य हिजाब लाद्ने वा सर्त लागू गर्न खोज्नेलाई चुनौती दिइरहेको छ । एक इराकी महिला अभियन्ताले मलाई ‘हामीमध्ये धेरैका लागि हिजाब जेलजस्तै हो र हामी अदृश्य कैदी हौँ’ भनेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र अभियन्ताले मुसलमान महिलाको रक्षा गर्नुपर्छ भन्ने भाष्यबाट बाहिर निस्केर मुसलमान महिलाको संघर्षमा साथ दिन आवश्यक छ ।
(मुस्तफा युनिभर्सिटी अफ वार्विककी अनुसन्धाता हुन्) द कन्भर्सेसनबाट