युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

आइतबार, ९ असोज, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

स्विडेनमा शनिबार आयोजित गैरआवासीय नेपाली संघ एनआरएनको युरोप क्षेत्रीय १४औँ बैठकलाई सम्बोधन गर्दै उनले युरोपमा रहेका सबै नेपालीलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी–व्यवसायीलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका हुन् । ‘युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरू ज्ञान, सीप, पुँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरूलाई नेपाल भिœयाऊ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन,’ उनले भने, ‘नेपालमा लगानीको वातावरण नभएको होइन, निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि आवश्यकताअनुसार सहजीकरण गर्नेछ, नेपालमा लगानीको यो उचित समय पनि हो, त्यसैले नेपालमा लगानीका लागि म सबै एनआरएनका साथीहरूलाई आग्रह गर्दछु ।’

आफूहरू एनआरएनसँगको संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना यस्तै संयुक्त लगानीबाट सफल भई विद्युत् उत्पादन हुन थालिसकेको उदाहरण पनि पेस गरे ।

नेपालका विशेष गरी अहिले जलविद्युत्, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने बताउँदै उनले नेपालमा लगानीका यस्ता कैयौँ सम्भावना रहेको जानकारी गराए । 

सुझावित समाचार