ओलीले गरे माधव नेपालको पार्टीको भविष्यवाणी : पोहोर भदौमा जन्मियो, अर्को भदौमा सकिँदै छ

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आयुबारे भविष्यवाणी गर्दै अर्को भदौसम्म अस्तित्व सकिएको अवस्थामा पुग्ने बताएका छन् । राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । 

‘नेकपा एस भन्ने पार्टी छ नि आजकाल, पोहोर भदौमा जन्मियो, यो भदौमा त्यसलाई बैंस आयो, अर्को भदौसम्म पुग्दै पुग्दैन,’ ओलीले भने, ‘एमाले वरपीपलजस्तै सयौँ वर्ष बाँच्छ, त्यो पार्टी तितेपाती झारजस्तै हो, जन्मिनेबित्तिकै हल्किन्छ, तीन महिनामै मर्छ, आजकाल भुइँ खोस्रिन छाड्यो, लुसुलुसु हिँडिराख्या छ, मंसिर ४ पछि तपाईंहरूले हेर्नुहोला टोपी खोलेर गालामा हात लगाउने हालतमा पुग्नेछ ।’ 

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको कुण्डली एमालेको हातमा रहेको भन्दै ओलीले अर्को भदौमा सकिने कुण्डली कोर्ने काममा देशव्यापी रूपमा सक्रिय भएर लाग्न निर्देशन पनि दिए । गठबन्धनमा रहेका सबै पार्टीलाई बुढो पार्टीका रूपमा चित्रित गर्दै ओलीले एमाले मात्र युवा पार्टी भएको दाबी पनि गरे । 

एक्लै चुनाव लड्न नसकेर अहिले कांग्रेसले गठबन्धन बनाएर नक्कली सहयात्रीको सहारा लिइरहेको भन्दै ओलीले उसले छिट्टै धोका पाउने ठोकुवासमेत गरे । ‘बुढो कांग्रेसको ठ्याइँठ्याइँ धेरै भो, जुरो पोरपरार गइसक्यो, सिङ खुस्किसक्यो, नक्कली सहयात्री खोजेर हिँडेको छ, गन्तव्य कहाँ हो थाहा छैन, अलि पर पुगेपछि एउटा भेटिँदैन, फेरि अर्को भेटिँदैन, त्यसपछि बल्ल उसले सहयात्रीबारे थाहा पाउनेछ ।’

गठबन्धनविरुद्ध आक्रामक प्रचारमा उत्रिन, भ्रमपूर्ण प्रचारको खण्डन गर्न निर्देशन दिँदै ओलीले मुद्दा लडेर सरकारमा पुग्नेलाई जनताको तागतबाट सरकार बनाएर देखाउने चुनौती पार गर्ने गरी अगाडि बढ्न सुझाए ।  अर्को प्रसंगमा ओलीले पाँचदलीय गठबन्धन देशको रथ तान्न असफल भइसकेको दाबी पनि गरे । देशको रथ तान्दा गठबन्धनले अर्थतन्त्रको पांग्रा खुस्काएर देशलाई द्वन्द्व र कलमा पुर्याएको पनि बताए ।

See More On

सुझावित समाचार