कांग्रेसले घोषणापत्र लेखनकार्य अगाडि बढायो

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणा-पत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक गर्दै घोषणा-पत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणा-पत्र तयारी समिति गठन गरेको थियो। सो समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टीभित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी व्यक्तिहरूलाई समेटिएको छ। घोषणा-पत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्न सक्ने कामहरूलाई राखेर मात्रै घोषणा-पत्र तयार गरिने बताए। उनले घोषणा-पत्र तयारीका काम सुरु भएको जानकारी दिए।

‘हामीले समग्रमा नेपाली कांग्रेसले अहिलेसम्म के गर्यो र आगामी दिनमा हामीले गर्न सकिने,  नचाहिने लोक रिझ्याइका सपना बाँड्नुभन्दा पनि नेपाली कांग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्न सक्ने साधनमा आगामी पाँच वर्षमा गर्न सकिने कुराहरूलाई राखेर हामीले घोषणा-पत्र तयार गर्छौं,' उनले भने, 'त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउनेछ। जुन नेपाली कांग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउन सक्ने प्रतिबद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी सुरु भएको छ।’

सुझावित समाचार