सेयर बजार २२ महिनायताकै न्यून बिन्दुमा

बैंक ब्याजदर र नजिकिँदै गरेको चाडपर्वले लगानीकर्ता सेयर बिक्री गर्दै बाहिरिँदै

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

 सेयर बजार परिसूचक नेप्से २२ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । मंगलबार नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले घटेर १८ सय ३७ दशमलव ६० बिन्दुमा आइपुगेको हो । यसअघि ९ मंसिर ०७७ मा नेप्से सूचक एक हजार आठ सय १० मा रहेको थियो । २२ महिनापछिकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ता निराशापूर्वक सेयर बिक्री गरेर बाहिरिन थालेका छन् । मंगलबार अन्तरदिनको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ३३ को टेवा पाएर एक हजार आठ सय ३७ बिन्दुमा आएर बन्द भएको छ । यस दिन एक हजार नौ सय ७७ सम्मको उच्चतम बिन्दुसम्म पुगेर पुनः झरेको थियो ।

यसअघि ९ असारमा नेप्से सूचक एक हजार आठ सय ४८ दशमलव २८ बिन्दुको टेवा पाएर तीन सय ४८ अंकले बढ्दै १६ साउनमा दुई हजार एक सय ९६ दशमलव २५ सम्म फर्किएको थियो । यसबीचमा सेयर बजार बढ्नुमा मौद्रिक नीतिमा आएको नीतिगत सुधार, सेयर धितोकर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट चार करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्थालाई हटाएर १२ करोड कायम गरिएपछि लगानीकर्ता उत्साहित बनेका थिए ।

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले त्यतिवेला मौद्रिक नीतिले घटिरहेको बजारलाई बढाउनका लागि माहोल बनिदिँदा सुधार आएको बताउँछन् । उनले भने, ‘लगानीकर्ताले उठाउँदै आएको चार करोड र १२ करोडको खारेजीलाई सेयर धितो कर्जामा १२ करोड मात्रै कायमै राखिएपछि लगानीकर्ता उत्साहित बन्दा बजारमा सुधार देखिएको थियो, अहिले त्यो अवस्था छैन ।’

ब्याजदरको असरले झनै आत्तिए लगानीकर्ता

 बैंकहरूले आफूखुसी ब्याजदर बढाउन थालेपछि लगानीकर्ता झनै आत्तिएका छन् । बैंकर संघले विगत ६ महिनादेखिको ब्याजदर स्थिर राख्ने सहमति खारेज गरेपछि नेप्से सूचक यहीबीचमा एक सय ४३ दशमलव ८८ अंकले घटिसकेको छ । लगानीकर्ता नयाँ ब्रोकर लाइसेन्स आउने भएपछि त्यसमा लगानी गर्नका लागि पनि सेयर बिक्रीमा चाप पर्दा बजार घटेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । उनले भने, ‘अहिलेको बजार घट्नुको मुख्य कारण भनेको लगानीकर्ता ब्रोकर लाइसेन्सका लागि पुँजी जुटाउन ठूलो मात्रामा सेयर बिक्री भएको र चाडबाडमा खर्चको जोहो गर्ने हुँदा पनि बजारमा थप दबाबले घटेको हो ।’

See More On

सुझावित समाचार