चाडपर्वलक्षित सहुलियत पसलमा आकर्षण बढ्दै

तीन दिनमा २० लाखभन्दा बढीको कारोबार

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण
चाडपर्वलक्षित सहुलियत पसलमा आकर्षण बढ्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली आउटलेटबाट खाद्यान्न खरिद गरेर लैजाँदै सर्वसाधारण ।

चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न सार्वजनिक संस्थानहरू परिचालन गरी सञ्चालनमा ल्याएको सहुलियत पसलमा उपभोक्ताको भिड बढ्दै गएको छ । १ असोजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सञ्चालन गरिरहेको सहुलियत पसलमा प्रमुख खाद्य वस्तु र दुग्धजन्य पदार्थमा निश्चित रकम छुट दिइएको छ । विगतमा काठमाडौंको रामशाहपथस्थित खाद्य कम्पनीको संरचनामा तीनवटै संस्थानले एकीकृत पसल सञ्चालन गरी उपभोक्तालाई सेवा दिइरहेकोमा यसपटक संस्थानहरूले आ–आफ्नो कार्यालय र आउटलेटबाट छुट्टाछुट्टै सेवा दिइरहेका छन् । 

काठमाडौंको थापाथली, रामशाहपथ, नख्खु, भक्तपुरसहित देशभर ४० भन्दा बढी स्थानमा रहेका शाखा कार्यालयबाट छुट मूल्यमा खाद्यान्न बिक्री गरिरहेको खाद्य कम्पनीले तीन दिनमा २० लाख १८ हजार रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीका बजार विभाग प्रमुख भीम थापाका अनुसार सहुलियत पसलमा बिस्तारै उपभोक्ताको उत्साहजनक सहभागिता देखिन थालेको छ ।

‘शनिबारदेखि सञ्चालनमा आएको सहुलियत पसलमा तीन दिनभित्र काठमाडौं उपत्यकाभित्र मात्रै २० लाख १८ हजारको कारोबार भएको छ,’ थापाले भने । २९ प्रकारका वस्तु बिक्रीमा राखेको कम्पनीले साबिकको मूल्यभन्दा सातदेखि १० रुपैयाँसम्म छुट उपलब्ध गराएको छ । कम्पनीले सबै प्रकारको चामल, तेल, मैदा, चिउरा, आँटा, दाल, गहुँ र कालो नुनमा प्रतिकिलो सात रुपैयाँ र क्वाँटी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री मूल्य निर्धारण गरेको छ । कर्णालीको अर्गानिक सिमी छुटपश्चात् प्रतिकिलो दुई सय १० रुपैयाँका दरले बिक्रीमा राखिएको छ । बिक्री विभाग प्रमुख थापाले छुट मूल्यमा पनि गुणस्तरीय खाद्यान्न दिएको दाबी गरे । 

साल्ट ट्रेडिङ कर्पोरेसनले कालिमाटी, सतुंगल जावलाखेल, कोटेश्वरलगायतका बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्य सामग्री बिक्री गरिरहेको जनाएको छ । कर्पोरेसनले तीन दिनमा एक लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ ।यसपटक सहुलियत मूल्यमा चिनी राखिएको छैन । दसैँमा सहुलियत दरमा चिनी बिक्री गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ५० हजार टन चिनी भन्सार सहुलियतमा आयातका लागि अर्थ मन्त्रालयमा फाइल पेस भए पनि स्वीकृति नभएपछि यसपटक चिनी नराखिएको कर्पोरेसनले जनाएको छ ।

उद्योग मन्त्रालयले साल्ट ट्रेडिङका लागि ३० हजार टन र खाद्य कम्पनीका लागि २० हजार टन चिनी दसैँमा बिक्री गर्ने योजनासहित अर्थको सहमति माग गरेको थियो । दूध तथा दुग्धजन्य पदार्थको कारोबार गरिरहेको दुग्ध विकास संस्थान (डिडिसी)ले लैनचौर, न्युरोडलगायतका देशभरका बिक्री केन्द्रबाट १० देखि ५० रुपैयाँ छुट दिएर आफ्ना उत्पादनहरू बिक्री गरिरहेको जनाएको छ । संस्थानले दहीमा १० रुपैयाँ, पनिरमा प्रतिकेजी २० रुपैयाँ, चिजमा प्रतिकेजी २० रुपैयाँ र घिउमा ५० रुपैयाँ प्रतिलिटर छुट दिइरहेको छ । 

घटस्थापनादेखि खसी–बोकाको बिक्री
दसैँमा धेरै माग हुने खसीको मासुको मूल्य नियन्त्रण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगतमा जस्तै यसपालि पनि जिउँदो खसी–बोका बिक्री गर्ने जनाएको छ । थापाथलीस्थित बिक्री केन्द्रबाट घटस्थापनादेखि जिउँदो खसी–बोका बिक्री थाल्ने योजना रहेको सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । ‘हामीले दाङ, मकवानपुर, धादिङलगायतका स्थानबाट खसी–बोका खरिद गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भनिन् । कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तो मूल्य निर्धारण गर्ने निर्णय गरिसकेको छ । कम्पनीले यसका लागि ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । बिक्री विभाग प्रमुख थापा भन्छन्, ‘यो हाम्रो अनुमानित लागत हो, अहिले नै यति लाग्छ भन्न सकिँदैन ।’ 

बजार अनुगमन तीव्र बनाउँदै
चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रूपमा अनुगमन टोली खटाएर अनुगमन गरिरहेको छ । संयुक्त अनुगमन टोलीका निर्देशक होमनाथ भट्टराईका अनुसार क्षेत्रगत विभाग छुट्याएर अनुगमन बढाइएको बताए । उनका अनुसार मासुजन्य अनुगमन, फलफूल तथा तरकारीसम्बन्धी अनुगमन, सम्बन्धित विभागसँग मिलेर अनुगमन गरिएको छ । भट्टराईले भने, ‘अहिले हामीले सम्बन्धित विभागसँग मिलेर नौवटा टोलीले अनुगमन गरेका छौँ, अझै टिम थपेर ११ टोली बनाउने तयारी भइरहेको छ ।’

सुझावित समाचार