स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको युपिआई नेपाल क्युआरबीच अन्तरआबद्धताका लागि सम्झौता भएको छ । दुवै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकका अनुमतिप्राप्त कम्पनी हुन् ।
एससिटी युपिआई कार्ड, स्मार्ट क्युआरलगायतको भुक्तानी सुविधा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियामा आबद्ध भुक्तानी संयन्त्रमार्फत नेपाल र इन्डियाबीच पनि कारोबार गर्न सकिने संयन्त्र सुरु गर्ने अन्तिम तयारीमा रहेको गेटवे पेमेन्ट सर्भिसबीच भएको सम्झौताले डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने एससिटीले विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमार्फत सबै अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायकलाई अन्तरआबद्धताका लागि दिएको निर्देशनअनुरूप सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार युपिआई नेपाल क्युआरको सुविधा लिने विभिन्न व्यापार–व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्कअन्तर्गत रहेको भुक्तानी सेवाप्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकले सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने जनाइएको छ । त्यस्तै, स्मार्ट क्युआरमार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवसायले युपिआई नेपाल क्युआर नेटवर्कमा आबद्ध ग्राहकमार्फत पनि भुक्तानी लिन मिल्ने भएको उल्लेख छ ।
सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू तथा गेटवे पेमेन्ट सर्भिसका महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरेको जनाइएको छ ।