के हुन्छ नोट छाप्ने प्रक्रिया ?

अर्थ ज्ञान

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले अर्थतन्त्रको आकार, विदेशी मुद्राको सञ्चिति, सुन, चाँदीलगायतका बहुमूल्य द्रव्यहरूको सञ्चिति र अन्तर्राष्ट्रिय मुद्राकोषमा रहेको एसडिआर सुविधालगायतको अध्ययनका आधारमा नोट छपाइको परिमाण तोकेर मुद्रा व्यवस्थापन विभागमा पठाउने गर्छ ।

विभागले आवश्यक परिमार्जन संशोधन, मौज्दात रहेको नोट, बैंक तथा वित्तीय संस्थाले माग गरेको नोट, धुल्याउने नोट, टेन्डर प्रक्रिया तथा सार्वजनिक खरिद ऐन तथा नियमावली र गभर्नरको हस्ताक्षरसहितका प्रक्रिया पूरा गरेर राष्ट्र बैंक सञ्चालक समितिमा प्रस्तुत गर्छ ।

सञ्चालक समितिले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा हुँदै मन्त्रिपरिषद्मा नोट निष्कासनका लागि प्रस्ताव पठाउँछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै नोट छपाइ सुरु हुन्छ । मन्त्रिपरिषद्ले नै नोटको ‘सेक्युरिटी फिचर’ (नोटमा प्रयोग हुने निसान छाप, आकार प्रकार, जनावर, हिमाल तथा नोटको गुणस्तर, असली र नक्कली नोट छुट्याउनका लागि प्रयोग हुने वाटरमार्क) सम्बन्धी आवश्यक निर्णय गर्छ । नेपालमा नोटको छपाइ नहुने भएकाले नेपाल राष्ट्र बैंकले ग्लोबल टेन्डर आह्वान गरी सबैभन्दा कम मूल्यमा नोट छाप्ने कम्पनीलाई छपाइका लागि अनुमति दिन्छ ।

कति लाग्छ खर्च ? : ०७६ मा राष्ट्र बैंकले एक हजार रुपैयाँका नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङसँग असोज १२ मा सम्झौता गरेको थियो । त्यतिवेला एक हजारको एउटा नोट छाप्न तीन रुपैयाँ ३७ पैसा लाग्ने भएको थियो । बैंकले नोट छाप्न चिनियाँ कम्पनीसँग ९१ लाख ९० हजार अमेरिकी डलरमा सम्झौता भएको थियो ।

See More On

सुझावित समाचार